गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचारसेनालाई दिएपछि करिडोरको कामले गति लियो

सेनालाई दिएपछि करिडोरको कामले गति लियो

October 2, 2015३७८ पटक

बागलुङ, नेपाली सेनाले जिम्मा लिएपछि कालीगण्डकी करिडोरको बागलुङखण्डमा निर्माण द्रुत गतिमा अघि बढेको छ ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजनाको बागलुङखण्डमा गत असार दोस्रो सातादेखि नेपाली सेनाले काम सुरु गरेको हो । १२ किमीको मालढुङ्गा–टाकुरीखण्डको ६० प्रतिशत काम पूरा भइसकेको नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले जनाएको छ ।

यसअघि कालीगण्डकी करिडोरको आयोजना कार्यालयमार्फत समयमा काम हुन नसकेपछि सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । असोजभित्रै मार्ग खोल्ने काम पूरा हुने कार्यदलका इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए् । १५ करोड लागतमा सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो ।

सेनाले यसअघि गुल्मीको रिडीदेखि बागलुङको पालुङखोलासम्मको ४२ किमीको जिम्मा लिई मार्ग खोल्ने काम पूरा गरिसकेको छ ।

त्यस्तै, पालुङखोला–टाकुरी २१ किमी खण्डको निर्माण जिम्मा दिए आगामी वर्षभित्र गुल्मी–बागलुङ–जोमसोम गरी १६४ किमीमा सिधा यातायात चल्ने सेनाले जनाएको छ । बेनी–जोमसोमखण्ड सेनाले जिम्मा लिई २०६४ सालमै पूरा गरिसकेको छ । सेनाले कालीगण्डकी करिडोरअन्तर्गत रिडी–पालुङखोला–मालढुङ्गा ९७५० किमी सडकखण्डको निर्माण तथा विस्तारको जिम्मा लिएको छ ।

वर्षात्को समयमा अवरुद्ध बनेको रिडी–अर्बेनी–पालुङखोला खण्डको मर्मत सुधार गरी यातायात सञ्चालन गरिएको प्रमुख सेनानी भट्टराईले जानकारी दिए ।

त्यस्तै अर्बेनी–पालुङखोला ९१४० किमीमा तत्काल पहिरो सफा गरी यातायात सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । सेनाको निर्माण कार्यदलले सडकको विभिन्न स्थानमा नाली, ब्रेष्टवाल, रिटेनिङवाल, ग्राभेलजस्ता कार्य गर्नुपर्ने आवश्यक रहेको त्यसका लागि बजेट आवश्यक रहेको जनाएको छ ।
र्
बाह्रैमास यातायात चलाउन गुदी खोला र पालुङखोलामा बेलीब्रिज हाल्नुपर्ने छ, त्यस्तै आठभन्दा बढी ठाउँमा कल्भर्ट हाल्नुपर्ने देखिन्छ, प्रमुख सेनानी भट्टराईले भने । सेनाले जिम्मा लिएको सडकका लागि सरकारले हालसम्म ५६ करोड ६४ लाख विनियोजन गरिसकेको छ । गतसाता करिडोरको बागलुङखण्डको अनुगमनका क्रममा अर्थमन्त्री डा रामशरण महतले करिडोरको निर्माणमा सरकारले बजेटको कमी हुन नदिने बताएका थिए ।

नेपालको दक्षिण सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । करिब ४३५ किमीको कालीगण्डकी करिडोर नेपालको आर्थिक सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण