नागरिकलाई घरमै गएर गोली हानी मार्ने अधिकार सरकारलाई छैन
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका गुण्डा नाइके कुमार घैंटेलाई सामाखुसीस्थित उनकै निवास अघि इन्काउन्टरमा मृत्यु भएको जनाएको छ । गोली लागेर गम्भीर घाइते भएलगत्तै घैंटेलाई शिक्षण अस्पताल पुर्याए पनि चिकित्सकहरुले मृत घोषणा गरे । घैंटेलाई गोली लागेको खबर पाएपछि कांग्रेसका सभासद तथा नुवाकोटका नेता जगदीशनरसिंह केसी कार्यकर्तासहित अस्पताल पुगेका थिए । अस्पतालमा पुगेर उनले गृहमन्त्रीको ठाडो निर्देशनमा घैंटेको घरमै पुगेर प्रहरीले हत्या गरेको भन्दै आक्रोश व्यक्त गरे । उनै केसीसँगको संक्षिप्त कुराकानी:
कुमार घैंटेजस्तो प्रहरीको ‘मोस्ट वान्टेड’को सूचीमा रहेको गुण्डा मारिँदा किन बिरोध गर्नुभयो ?
कुनै पनि नागरिकलाई उसैको घरमा गएर गोली हान्ने अधिकार कसैलाई छैन । गृह प्रशासनको आडमा कुनै रङ दिएर नागरिकलाई मार्न पाइँदैन । विगतमा जे–जस्तो भए पनि कुुमार घैंटे अहिले सामान्य जीवन बिताइरहेको मान्छे हो । ऊ एउटा व्यवसायी हो । प्रहरीले विभिन्न बहाना बनाएर कसैको आदेश पालना गर्ने नाममा नागरिकको हत्या गर्न पार्इँदैन । खै कहाँ छ गृह प्रशासन ?
उनी त विभिन्न अपराध गरेको भन्दै उजुरी परेको र प्रहरीले ‘मोस्ट वान्टेड’को सूचीमा राखेका व्यक्ति हैनन् र ?
‘मोस्ट वान्टेड’को सूचीमा राखेको व्यक्तिलाई चाहिँ घरमै गएर गोली हान्ने कानुन छ ? अपराधी भए पनि राज्यले कानुनअनुसार कारबाही गर्नुपर्छ । फेरि काठमाण्डु जिल्ला अदालतले सफाइ दिइसकेर आफ्नो व्यवसाय गर्दै आएको मानिसलाई घरमा मारेर इन्काउन्टर भन्न मिल्छ ? अपराधी भए पनि बाँच्न त पाउनुपर्छ नी ।
प्रहरीले त घैंटेको समूहले फाइरिङ गरेपछि इन्काउन्टरमा मरेको दावी गरेको छ नी ?
पसलबाट तरकारी किनेर घरभित्र छिरेको मानिसले के प्रतिकार गर्छ ? घरभित्र छिरेर स्कुटर रोक्न नपाउँदै प्रहरीले गोली प्रहार गरेको छ । उनलाई ६ गोली हानी ढलेपछि आफैं उपचार गर्न लैजान मोटरसाइकलमा राख्नुअघि नकावधारी प्रहरीले ‘यो त जिउँदै रहेछ’ भन्दै फेरि ३ गोली टाउकोमा प्रहार गरेको छ । यसबाट के प्रस्ट हुन्छ भने प्रहरीले कसैको आदेशमा यो घटना घटाएको हो ।
तपाईंको पार्टीले नेतृत्व गरेको सरकारले शान्ति सुरक्षा कायम गर्न अपराधीलाई सफाया दिएको छ नी ?
नागरिकलाई विभिन्न बहानामा गोली हान्दै मार्न मिल्छ ? फेरि कुनै आपराधिक क्रियाकलाप गरेको भए स्वभाविक थियो । तर, अदालतबाट सफाया पाएर आफ्नै पेशा गर्दै आएको व्यक्तिलाई मारेर सरकारले कस्तो शान्ति सुरक्षाको परिकल्पना गरेको छ । यदि त्यस्तो हो भने किन चाहियो गृह प्रशासन ? जनताले कसरी राज्यको अनुभूति गर्ने ? सरकारको नेतृत्व जुन पार्टीले गरे पनि निन्दनीय काम भएको छ ।
अब के गर्नुहुन्छ ?
हामी यो घटनाको न्यायायिक छानविन गर्न माग गर्छौं । यो घटनाको बारेमा न्यायोचित छानविन नभए हामीमाथि पनि आक्रमण हुने खतरा छ । चित्त नबुझेका मानिसले घैंटेको पक्षमा बोलेको भन्दै हामीलाई पनि आक्रमण हुने खतरा छ । गृहप्रशासनले हाम्रो पनि सुरक्षा गर्नुपर्छ । गृहमन्त्रीले बनावटी जवाफ त दिनुहोला । तर, कानुनको आडमा गृहप्रशासनले गर्ने अपराधको भण्डाफोर गरेरै छाड्छौं ।