मजदुरलाई राहत वितरण
महोत्तरी-५१ दिने लामो बन्दहडताल र एकसाता यताको नाकाबन्दीबाट सबै भन्दा प्रभावित मजदुरहरुलाई स्थानीय युवाहरुले आईतबारदेखि राहत स्वरुप खाद्यान्न वितरण थालेका छन्।
कार्यक्रमका संयोजक शिवचन्द्र चौधरीका अनुसार प्रत्येक परिवारलाई दैनिक अढाई किलो चामल , एक किलो आलु र दुई सय पचास ग्रामदाल उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
राहत वितरण गर्न दाताहरुले उपलब्ध गराएको चामल र संकलित पैसाले आलु र दाल किनेर अत्यन्त गरिव र विपन्न परिवारलाई वितरण गर्ने व्यवस्था मिलाइएको संयोजक चौधरीले बताए। आईतबार सम्म २० क्विन्टल चामल र १५ हजार नगद संकलन भएको उनले बताए।
आयोजकका अनुसार आईतबार २ सय पचास परिवारलाई राहत वितरण गरिएको छ। बन्द हडताल र नाकाबन्दी जारी रहुञ्जेल राहत वितरण कार्यलाई निरन्तरता दिइने चौधरीले बताए।