प्रधानमन्त्री निर्वाचनका लागि आज व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गराउने समय तालिका
नयाँ प्रधानमन्त्री निर्वाचनका लागि आज व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गराउने समय तालिका तोकिएको छ । संसद सचिवालयले हिजो प्रकाशन गरेको सूचना अनुसार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवार मनोनयनका लागि समय तोकिएको छ ।
कार्यतालिका अनुसार अपराह्न साढे ४ बजे निर्वाचन अधिकृत तथा व्यवस्थापिका संसदका महासचिव मनोहर प्रसाद भट्टराईले उम्मेदवारको नामावली सार्वजनिक गर्नुहुनेछ ।
भोलि बिहान ११ बजे प्रधानमन्त्रीका लागि निर्वाचन हुनेछ । मनोनयनको समयमा एकमात्र उम्मेदवार दर्ता भएमा एकमात्र प्रस्ताव संसदमा पेस हुनेछ । एकमात्र प्रस्ताव परेमा उक्त प्रस्तावको पक्ष वा विपक्षमा मतदान हुनेछ । एकभन्दा बढी प्रस्ताव भएमा सबै प्रस्ताव एकैपटक मत विभाजनमा जानेछन् ।
मत विभाजनका प्रस्तावहरुमा प्रस्तावको पक्षमा हुनेहरुले मात्र मतदान गर्नेछन् र दर्ता भएका प्रस्तावमध्ये बहुमत प्राप्त प्रस्तावका उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् ।
संसदमा हाल कायम सदस्य संख्या ५ सय ९८ अनुसार प्रधानमन्त्री चयनका लागि न्यूनतम संख्या २ सय ९९ ले बहुमत पुग्छ । संविधानको धारा २ सय ९८ (३) को प्राबधान अनुसार बहुमत प्राप्त उम्मेदवार प्रधानमन्त्रीमा चयन हुनेछन् ।
हालसम्म प्रधानमन्त्रीका लागि नेकपा एमालेका तर्फबाट केपी शर्मा ओलीमात्र स्पष्ट उम्मेदवारका रुपमा अघि सर्नु भएको छ । एमाले केन्द्रीय समिति बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
व्यवस्थापिका संसदको पहिलो ठूलो दल नेपाली काँग्रेसले अहिलेसम्म प्रधानमन्त्रीका लागि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । काँग्रेसका प्रधानमन्त्रीका आकांक्षी धेरै हुनु तथा यसअघि भएको भनिएको भद्र सहमति लगायतका कारण काँग्रेसले उम्मेदवारको टुंगो लगाउन नसकेको हो । यसका साथै एकीकृत माओवादीले भने भद्र सहमति अनुसार नै तीनवटै प्रमुख दल सरकारमा रहने गरी सरकार गठन हुनु पर्ने धारणा बनाएको छ ।