नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
सरकार गठनका विषयमा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नयाँ प्रधानमन्त्री चयनका विषयमा छलफल हुने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका लागि उम्मेदवार छनौट गर्ने विषयमा हिजोको बैठकमा कुरा मिल्न सकेको थिएन । नयाँ प्रधानमन्त्रीका लागि पार्टी भित्रै तीन जना आकांक्षी देखिएपछि हिजोको बैठकले शीर्ष तीन नेतालाईनै अन्तिम निर्णय गर्ने जिम्मेवारी सुम्पेको थियो । पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तीनै जना प्रधानमन्त्रीका आकांक्षी देखिएपछि हिजोको बैठक निष्कर्षमा पुग्न सकेको थिएन । आजको बैठकले पार्टीबाट एक जना व्यक्तिलाई आधिकारिक उम्मेदवार तोक्ने वा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै समर्थन गर्ने भन्ने विषयमा विकल्पसहितको निर्णय गर्ने बताइएको छ । त्यसअघि अहिले शीर्ष तीन नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सभापति कोइराला, उपसभापति पौडेल र बरिष्ठ नेता देउवाबीच भावी प्रधानमन्त्रीको उम्मेदवारका विषयमा छलफल सुरु
भएको छ ।