गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिओलीलाई प्रधानमन्त्री हुन बाटो खुल्यो, ३३२ सांसद्को समर्थन

ओलीलाई प्रधानमन्त्री हुन बाटो खुल्यो, ३३२ सांसद्को समर्थन

October 10, 2015२८३ पटक

२३ असोज, काठमाडौं ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन एमालेले संसद्मा रहेका विभिन्न दलका नेतासँगको भेटघाट र छलफललाई तीव्रता दिएको छ । शुक्रबार बिहानैदेखि ओलीनिवास बालकोटमा सुरु भएको भेटघाट साँझसम्म जारी रह्यो ।

संसद्मा रहेका ३१ वटै दललाई सरकारमा सहभागिता र समर्थनका लागि पत्राचार गरिसकेको एमालेले संसद्मा रहेका र संविधान निर्माण प्रक्रियामा सहभागी भएका सबै दललाई बोलाएर सरकार गठनबारे छलफल गरेको थियो । एमाले शीर्ष नेताले १४ वटा साना दल, एमाओवादी र राप्रपा नेपालसँग भेटवार्ता गरेको र उनीहरू सबै ओलीलाई समर्थन गर्न सकारात्मक भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।

शुक्रबार बिहानै एमालेले १४ वटा साना दलसँग कुराकानी गरेको थियो । बैठकमा राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, नेपाली जनता दल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, नेपा: राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, मधेस समता पार्टी, दलित जनजाति पार्टी, बहुजन शक्ति पार्टी, जनजागरण पार्टी नेपाल, अखण्ड नेपाल, समाजवादी जनता पार्टी सहभागी थिए ।

छलफलमा बालुवाटारमा केही दिनअघि भएको सर्वदलीय बैठकको स्पिरिटमै कुराकानी भएको थियो । १६ बुँदे सहमतिको जगमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउनुपर्ने र यदि बहुमतीयमा जानुपरे एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा मतदान गर्ने निर्णय भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

साना दलपछि एमाले र एमाओवादी बैठक बसेको थियो । पार्टीको स्थायी समिति बैठक सकेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, कोषाध्यक्ष हरिबोल गजुरेल, नेता गिरिराजमणि पोखरेल, अग्नि खरेल, शक्ति बस्नेतलगायतका नेताहरू ओलीनिवास बालकोट पुगेका थिए ।

भेटवार्तामा एमाओवादीले स्थायी कमिटीले गरेका तीनवटा निर्णयबारे जानकारी गराएको थियो । एमाओवादीले १६ बुँदे सहमतिअनुसार नै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय पार्टीले नै गरेको बताएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण