गृहपृष्ठ » देवदह विशेष, बिचार/ब्लगप्रधानमन्त्रीलाई पत्र

प्रधानमन्त्रीलाई पत्र

October 11, 2015५९६ पटक

सम्मानीय प्रधानमन्त्री ज्यू,

हुन त मैले लेखिरहेका हरफहरु जस्ता त हजारौं हरफ आएकै होलान् । कतिपयमा तपाईको आँखा पनि गएकै होला कतिपयलाई तपाईं समक्ष पुर्‍याउन ठेक्का लिएर बसेकाहरुले देखेको नदेखी सुनेको नसुनी पढेको नपढी गरी वेवास्ता गरे होलान् ।

तर जे गरुन् तपाईं जे गर्नोस् यो मेरो मनले मान्दै मानेन लेखेरै छोँडे । यसमा तपाईका आँखा जालान अनि वीसको उन्नाईस होला भन्ने त आशा छैन । तैपनि मन थामिएन नलेखी बस्नै सकिन । हुन त लेखेरै हुने भए म भन्दा जान्ने सयौं  विद्धानले हजारौं विवेकशील लेख लेखेकै होलान् । अनि बेलाबेलामा घच्घच्याई रहेका होलान् ।

अरुको उपचार गराउन गए पनि कानको उपचार गराउन त गएको मैले सुनेको छैन् । त्यही भएर मेरो विश्वास छ तपाईले सुन्नु नै भएको होला देशको सुरक्षारार्थ खटिएका सुरक्षाकर्मीलाई भालाले रोपेर मारेको । ज्यूँदै जलाएको । दूधे बालकलाई कुटीकुटी मारेको । त्यति मात्रै होइन समान किन्न सुनौली गएका पहाडी मूलका भनिएका एक जनालाई चिराचिरा पारेर काटेको ।

सबैभन्दा कडा मानिने फलाम त भट्टीमा हालेपछि पग्लेर झोल बन्छ । तर प्रधानमन्त्री ज्यू तपाईको मन त त्यो भन्दा पनि कडा र कठोर रैछ । तपाईको मन पगाल्ने भट्टी यहाँभन्दा के हुन्छ अरु ? पहाडे मुलको भनेर एकजना नेपालीलाई चिराचिरा पारेर काटेको, अनि पुसिलको सन्तान भनेर दूधे बालकलाई कुटी कुटी मारेको । कि तपाईको मन पगाल्न यो भन्दा अझै बढी तापक्रमको भट्टी चाहिने हो ?

नेपाल जलेको दुई महिनाभन्दा वढि भैसक्यो । समस्या वीसको उन्नाईस होला भन्दा वीसको चालीस भैसक्यो । नेपाल त जलेकै थियो । त्यसमा भारतले पनि घिउ थप्यो । विचरो तेल थपोस् भने पानीले आगो निभाएर त्यही तेलले गाडी चलाउँछन भन्ने बुझेछ क्यारे ।

चुलोमा आगो बल्न छोडेको हप्तौं भैसक्यो । तर अरुको चुलोमा आगो नवले पनि आफ्नो चुलोमा बल्न नछोड्दासम्म अरुको पीडा थाहा नहुँदो रैछ सायद । चुलो नबलेर खान नपाई भोकै सुतेको दुधे बालकको सराप तपाईलाई लाग्ने छ । किनकि समस्याको समाधान गर्ने सर्वोत्तम निकायमा तपाई हुनुहुन्छ ।

हुन त तपाईकै संचारमन्त्रीले भारतले हाम्लाई नाकावन्दी गरेको छैन भन्छन रे अनि अर्थमन्त्रीपनि त्यही लाईनमा । अरुको चुले नबलेपनि तपाईहरुको पुस्तौंपुस्तासम्मको चुलो फास्ट ट्याकले बाल्छ होला । के भयो र ?

छिमेकीले मेरो बाटो नहिड भन्दा निकास नभएको मेरो अधिकार खोसियो भन्दै न्याय मागेको खोई ? हुन त अहिले न्याय मागेर ठूल्याईँ देखाएर के गर्नु आखिर त्यसैको हात सिरमा नपरी प्रधानमन्त्री भईन्न भन्ने कति डर होला ।

अनि दिनभर गिट्टी कुटेर छोराछोरी पाल्ने आमाले त भोलि गिट्टी कुट्न नपाए । बालुवा बोक्ने विकल्प राखेकी हुन्छिन् । देश हाँक्छु भन्नेको विकल्प खोई ? धिक्कार छ देश हाँक्छु भन्नुको ।

हुन त प्रधानमन्त्री मन्त्री बनेपछि सम्पत्ति कुम्ल्याउने र सके विश्वकै नसके नेपालकै त्यति पनि नभए पार्टीकै सबैभन्दा धनी व्यक्ति बन्ने प्रतिपर्धा त नेपाली राजनीतिको संस्कार भनेर बुझ्न नसक्ने पनि म उस्तै । अहिलेको यो समस्याको समाधानभन्दा पनि तपाईहरुलाई सत्ताको चिन्ता होला । त्यही भएर त देशको यो समस्या तपाईको प्राथमिकतामा नपरेको होला ।

अन्त्यमा,

फेरि पनि भोट माग्न आउन पर्छ भन्ने सौच्यो,  नागरिक सर्वोपरी भन्ने ठान्यो अनि नागरिकको फाटेको मन टाल्यो र टाढिएको सम्बन्ध जोड्यो भने यसैमा होला तपाईको भविष्य ।

विष्णु पौडेल (हाल अमेरिका )

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण