गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार, साहित्यनवरात्रि र बडादसैँको विज्ञान एवं रहस्य

नवरात्रि र बडादसैँको विज्ञान एवं रहस्य

October 12, 2015५३३ पटक
यो समग्र जगत् शक्तिबाट निर्मित छ र जीवन पनि शक्ति अर्थात् ऊर्जाको नै विस्तार एवं खोज हो । जन्म जीवन ऊर्जाको प्राकट्य हो भने हाम्रा विभिन्न क्रियाकलाप एवं घटनाहरू यसैका अनेक खेल ।
मृत्यु एक प्रकारको जीवन ऊर्जाको क्षय भएर अर्का ऊर्जाको आयाममा प्रवेश या रूपाकृतिको फेरबदल हो । यस प्रकारले जन्मिनु, जिउनु र मर्नु ऊर्जाका अलग–अलग रूपहरू हुन् । यो खेल भने चलिरहन्छ, घरी चर्मचक्षुले देखिने गरी त भित्र कतै अज्ञात लोकमा ।
शक्तिको मूल स्रोतबाट आएकाले मानिस जीवनभर आफ्ना प्रयासहरूबाट अचेतन रूपमा शक्तिकै खोज गरिरहन्छ । स्वास्थ्य, धन, भोजन, सम्बन्ध, अध्ययन, उत्पादन, यौन आदि सबै शक्तिको खोजका विभिन्न दिशाहरू हुन् ।
हामी जब–जब जीवनमा खुसी र शान्तिको अनुभव गर्छौं तब–तब यो जीवन ऊर्जा सकारात्मक दिशामा प्रवाहित भई शक्ति बढ्छ । दुःख, चिन्ता, तनाव, अशान्ति र घृणामा यो जीवन ऊर्जा खण्डित र क्षत्विक्षत् भई स्खलित हुन पुग्छ । हाम्रो अचेतन मनलाई ऊर्जाको यो सूत्र जन्मजात नै थाहा छ, त्यसकारणले यहाँ कोही पनि दुःखी र ऊर्जाहीन हुन चाहँदैन ।
खुसी आर्जन गर्नका लागि मानिसले हजारौँ प्रयासहरू गर्छ र अनेकन कुराको त्याग पनि गर्छ । किनभने खुसीयाली जीवन ऊर्जाको उत्कृष्टतम् अभिव्यक्ति हो र अरू निम्न ऊर्जा भएका पदार्थ एवं विषयहरूको तुलनामा हामी अनायास नै यसैलाई रोज्न पुग्छौँ ।
खुसी, शान्त र समृद्ध व्यक्ति नै परिवार, राष्ट्र र समाजको सम्पत्ति एवं गहना हो । जीवन ऊर्जाको उपयुक्त व्यवस्थापनबाट मात्र व्यक्तिले गतिशीलता, प्रेम एवं गहिरो तृप्तिको अनुभूति गर्न सक्छ । आध्यात्मिक साधना, तप र सेवाबाट शक्ति आर्जन गरेमा व्यक्ति आफूभित्रबाटै रूपान्तरित हुन्छ र जीवनभर सिर्जनशील एवं निर्माणमुखी काम गर्दछ ।
यस्तो व्यक्तिबाट दया, करुणा र सहकार्य सहजरूपमा फलित हुन्छन् । तर बाहिरी बल या प्रभावले मात्र शक्ति आर्जन गर्ने व्यक्ति क्रूर स्वभावको हुन्छ । यस्तो व्यक्तिले आफ्नो शक्तिको माध्यमबाट समाजमा घृणा, द्वेष र वैमनस्य फैलाई अरूको शोषण, दमन र संहार गर्न पनि पछि पर्दैन । उसका हरेक गतिविधि अहंकार केन्द्रित हुन्छन् र आफ्नो एवं अरूको अहितमा नै जीवन सकिन्छ ।
यो सत्यलाई मनन गरी हाम्रा पूर्वजहरूले वर्षका तीन सय पैँसठ्ठी दिनहरूलाई ऊर्जाको आर्जन, संरक्षण, क्षय र रूपान्तरणको विज्ञानका आधारमा अलग–अलग भागमा विभाजित गरेर विभिन्न चाडपर्वको रूपमा उपासना विधिहरूको व्यवस्था गरे ।
सूर्य दक्षिणायण भएको समयमा समग्र ब्रह्मान्डको जीवन ऊर्जामा स्त्रैण तत्वको प्रभाव अधिक हुन्छ र हाम्रा दुई ठूला चाडहरू बडादसैँ र तिहार यही समय कालमा पर्दछन् । यी दुईमध्ये पनि बडादसैँ शक्तिको उपासनाको सर्वाधिक सुन्दर अवसर हो । हाम्रा ऋषि–मनीषीको ज्ञान र क्षमता देखेर अचम्म लाग्छ कि उनीहरूले समस्त ग्रह–नक्षत्र, ऋतुहरू र मानव मस्तिष्कको सूक्ष्मतम् अध्ययन गरी अत्यन्तै वैज्ञानिक उपासना विधिहरूको विकास गरेका थिए ।
आश्विन शुक्ल प्रतिपदाका दिनबाट शारदीय नवरात्रिको पूजा एवं उपासनाको अनुष्ठान प्रारम्भ हुन्छ । तर यो शक्तिको विशेष अर्चनाका लागि मानिस शारीरिक एवं मानसिक रूपले स्वस्थ र पवित्र हुनुपर्छ । त्यसकारणले, नवरात्रि सुरु हुनुअगावै दुई साता लामो सोह्र श्राद्ध या पितृपक्षको विशेष आयोजना गरिएको हो । श्राद्धले दिवंगत पितृहरूका लागि मोक्षको द्वार खोल्ने प्रयोजन त एकातिर छ, यसले श्राद्ध गर्ने व्यक्तिलाई शारीरिक एवं मानसिक रूपले शक्ति उपासनाका लागि तयार भने बनाउँछ । नवरात्रिको प्रारम्भ घटस्थापनाबाट हुन्छ ।
पानीले भरिएको घट या कलशलाई सिंगारेर दुर्गा भवानीको रूपमा स्थापित गर्ने शास्त्रीय परम्परा छ । तर यसको आन्तरिक रहस्य हेर्ने हो भने थाहा लाग्छ कि घटको रूपमा हामी आफ्नै शरीरको प्रतिमूर्तिको स्थापना गरेका हुन्छौँ । पितृपक्षमा पवित्र बनाइएको शरीरको प्रतिबिम्बको रूपमा घटको स्थापना गरी नवरात्रिभर पूजाअर्चना गरिन्छ । सँगसँगै, शरीरका सात चक्रको प्रतिनिधिस्वरूप सप्तधान्यको जमरा पनि राख्ने चलन छ ।
नौ दिन लामो नवरात्रिलाई शक्तिका विभिन्न आयामको उपासनाका लागि तीन विशिष्ट भागमा विभाजन गरिएको छ– पहिलो तीन दिनको समूहलाई महाकाली, दोस्रो तीन दिन महालक्ष्मी र तेस्रो तीन दिन महासरस्वतीको उपासनाको रूपमा ।
स्वास्थ्य, दीर्घायु र दैनिक क्रियाकलापमा खुसीयालीको खोजीका लागि महाकालीको उपासना गरिन्छ । मनुष्यका तीन आयाममध्ये यो भौतिक (कम्प्युटरको भाषामा हार्डवेयर) या तमस आयामको विज्ञानमा पर्दछ । धन, सम्पत्ति, पेसा, व्यवसाय, सम्बन्ध इत्यादिमा शक्ति तथा अभिवृद्धिको खोजी महालक्ष्मीको उपासनाबाट गरिन्छ ।
वास्तवमा मनको ऊर्जालाई लक्ष्मीको नामबाट सम्बोधन गरिन्छ लक्ष्मीको आराधनाको माध्यमबाट हामी मनका विभिन्न सम्भावनाको खोजी गर्दै समृद्धिको तयारी गर्दछौँ । यो मानसिक आयाम (कम्प्युटरको भाषामा सफ्टवेयर) या रजस वृत्तिको विज्ञान हो । तेस्रो तीन दिनको समूह भने महासरस्वतीको उपासनाका लागि हो, जसको माध्यमबाट हामी शिक्षा, ज्ञान एवं ध्यानको खोजी गर्छौं । यो चेतना (कम्प्युटरको भाषामा ह्युमनवेयर) या सत्व वृत्तिको आयाम हो ।
महाकालीको आधार पृथ्वी हो भने महालक्ष्मीको सूर्य र महासरस्वतीको आधार चन्द्रमा हुन् । जन्म र त्यसपछिका केही वर्षमा तमस प्रवृत्ति हाबी हुन्छ । उमेर बढेसँगै रजस प्रवृत्ति आफैँ बढ्न थाल्छ, तर ज्ञान र चेतनाबाट मात्र सत्वतिर हाम्रो यात्रा हुन्छ । पृथ्वी तमस, सूर्य रजस र चन्द्रमा सत्व प्रवृत्तिका विम्ब हुन् ।
शक्तिको उपासनामा एकपछि अर्को गर्दै अघि बढ्नुपर्छ । महाकालीको उपासनाबाटै प्रारम्भ गर्नुपर्छ किनभने स्वस्थ शरीरबिना स्वस्थ मन र चेतना उपलब्ध हुन सक्दैनन् । तीनवटै देवीहरूको उपासनाबाट मात्र स्वस्थ शरीर, सक्रिय मन र शान्त चेतना प्राप्त गर्न सकिन्छ । आफ्नो शरीर र मनमाथि ध्यान पुर्‍याउन सकिएन भने जीवनमा सुख, शान्ति र समृद्धिको ढोका बन्द नै रहन्छ ।
तमस प्रकृति प्रत्येक व्यक्तिसँग जन्मजात नै आउँछ, तर रजस र सत्वका लागि आफैँले विशेष प्रयास गर्नुपर्छ । अझ सत्वको अनुभूति त लाखौँमा कोही एक या दुईले मात्र गर्न सक्छन्, अरू भने तमस र रजसको उकाली–ओरालीमा नै पूरा जीवन सिध्याउन बाध्य हुन्छन् । महाकालीको आधार पृथ्वी भएकाले स्वास्थ्य र आयुका लागि धेरै प्रयास गर्नु पर्दैन ।
तर महालक्ष्मी कमलको फूलमाथि रहने हुनाले विशेष प्रयत्नबाट मात्र साध्न सकिन्छ । अझ महासरस्वती माता भने असाध्यै चञ्चल वाहन हाँसमाथि सवार छिन्, त्यसकारणले अत्यन्तै दुर्लभ प्रयास र साधनाबाट मात्र यो अवस्था हासिल गर्न सकिन्छ ।
यसरी नवरात्रिभर शक्तिका विभिन्न रूपको उपासनापछि तमस, रजस र सत्वमाथि विजयको संकेतस्वरूप दसौँ दिनमा विजयादशमीको उत्सव मनाइन्छ । ठूलाबडाबाट आफ्नो निधारमा अवस्थित छैटौँ चक्र अर्थात् आज्ञाचक्र (दुवै आँखीभौँका बीचमा) मा टीका र शिरमा जमरा ग्रहण गरी आशीर्वाद लिने सुन्दर परम्परा छ ।
शरीर, मन र चेतनाको लयको प्रतिविम्ब सग्लो चामलको अक्षता र सातवटै चक्रको प्रतिनिधिस्वरूप जमरा लगाउनु पनि जीवनको आन्तरिक विज्ञान र बाह्य फैलावटको अनुपम एकताको नमुना हो । सबै उपासनापश्चात् व्यक्ति भौतिक, मानसिक र आध्यात्मिक रूपमा जाग्रत रहोस् भनेर कोजाग्रत पूर्णिमाको रातलाई विशेष महत्वका साथ मनाइन्छ ।
यो बडादसैँको सुन्दर अवसरलाई मनोरञ्जन, स्वजन भेटघाट या कोरा कर्मकाण्डमा मात्र सीमित नगरीकन विवेकपूर्ण तरिकाले आफ्नो शारीरिक, मानसिक र चेतनागत शक्ति आर्जन, संरक्षण र अभिवृद्धिका लागि समर्पित गर्ने कि ?
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण