गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, विशेषपुरानो भत्काएर नया तिन दलिय संरचनातर्फ : किशोर नेपालको राजनैतिक टिप्पणी ।।

पुरानो भत्काएर नया तिन दलिय संरचनातर्फ : किशोर नेपालको राजनैतिक टिप्पणी ।।

October 12, 2015३८३ पटक
mainphoto

सुशीलको पराजयपछि पनि तीन दलीय संरचना भत्किएको छैन। नयाँ तीन दलीय संरचना सहमतिका लागि खडा भएको छ। यो संरचनाका मुख्य पात्रहरु कस्ता छन ? यो महत्वपूर्ण विषय हो। नयाँ संरचनाले कमल थापाको राप्रपा–नेपालका लागि २७ वर्षपछि सत्ताको खोलो विपरित दिशामा फर्काएको छ। राजा वीरेन्द्रको शासनकालमा भारतले नाकावन्दीगर्दा कमल थापा संचार मन्त्री थिए। अहिलेको नाकावन्दीमा उनी ओलीका सिपहसालार वनेका छन। राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रका रुपमा नेपालको सनातन पहिचानको निरन्तरता कमल थापाका मुख्य राजनीतिक एजेण्डा हुन्। अहिले कामरेड ओलीको दायाँ र बायाँ अँगालोमा एकीकृत माओवादीका प्रचण्ड र कमल थापा छन। भोलिका दिनमा थापाको भूमिका के हुनेछ ? यसको पर्यवेक्षण आफैमा रोचक हुनेछ।

  • किशोर नेपाल –

सुशील कोइराला योग्य, सक्षम र सम्मानयोग्य प्रधानमन्त्री साबित भएनन् – प्रधानमन्त्रीका रुपमा पनि र कांग्रेस संगठनका सभापतिका रुपमा पनि। उनको नेतृत्वको सरकार तीन दलको सहमति जुटाएर संविधान बनाउन त सफल भयो। तर, सीमांकनका नाममा संघीयताको भ्रूण हत्याका प्रयास भए। आन्दोलन भयो। गोली चल्यो। सुरक्षाकर्मी मारिए। आन्दोलनकारी मारिए। तै नि, जसोतसो संविधान वन्यो। तर, रक्तरन्जित वन्यो। संविधानका पानाहरुमा मधेश र पहाड दुवैतिरका नेपाली जनताका रगतका टाटाहरु छापिए। देशलाई अनावश्यक हिसावले मधेश र पहाडका नाउँमा विभाजनतिर धकेल्ने प्रयास भयो।

शक्तिशाली राजनीतिक संगठनका रुपमा कांग्रेसको दुर्गतिका कारक तत्व त उनी २०४६ साल देखि नै रहेका हुन। तीन दलीय सहमति तोडेर प्रधानमन्त्री पदमा उनले दिएको उम्मेदवारी कांग्रेस विनासको उपसंहार सावित होला नहोला यो भविष्यको विषय हो। सुशीलको राजनीतिक भविष्य अब अन्धकारको तिलस्मतिर हुत्तिएको छ। अति सत्ताकांक्षा र सन्तान–मोहका कारण जसरी गणतन्त्रका पिताका रुपमा संस्थापित व्यक्तित्व स्वर्गीय गिरिजाप्रसाद कोइरालाको छवि धूमिल हुनबाट जोगिन सकेन, त्यसरी नै सुशील कोइराला आफनै लोभका कारण इतिहासको सारांशतिर धकेलिए।

पदबाट बाहिर जाँदाजाँदै उनले गरेको एउटामात्रै लोकतान्त्रिक काम थियो – प्रधानमन्त्री पदमा दिएको उम्मेदवारी। यसैका आधारमा संचार माध्यम र सामाजिक सन्जालहरुले पाँडे गालीको तहमा ओर्लिएर उनको कटु आलोचना गरे। भन्ने नभन्ने र बाल्ने नबोल्ने कुनै शव्द वाँकी रहेनन। उनिप्रतिको यो दुत्कार नेपालको स्तर र संस्कारहीन राजनीतिको प्रतिविम्वि थियो। कदाचित यो उचित थिएन। कम्तीमा पनि संवैधानिक लोकतन्त्रमा तीन दलीय सहमति भन्दा संवैधानिक अधिकारको प्रयोग महत्वपूर्ण हुन्छ। तीन दलीय सहमतिमा नै सवै कुरा हुने हो भने संविधान नै किन चाहियो ? सहमतिलाई नै महत्वपूर्ण मान्ने हो भने त्यसमा सवै राजनीतिक पक्षको सहभागिता हुनु पर्दछ। देश चरम संकटमा परेका वेला समेत राष्ट्रिय सहमतिमा पुग्न नसक्ने राजनीतिक दलका नेताहरुबाट त्यस्तो सहमतिको अपेक्षा गर्नै सकिदैन। यो स्थितिमा कोइरालाको उम्मेदवारीले कामरेड खडगप्रसाद ओलीको हित नै गर्यो।

संचार माध्यम र सामाजिक संजालहरुको “टोन” पूरै मजाकिया देखिएकोछ। अधिकांश संचार माध्यम र सामाजिक संजालहरु “कोइरालाले सवै सिध्याए, केपी ओली आशाका किरणहुन” भन्ने नाराको व्यापार गरी रहेका छन। कसैले पनि यति होस राखेको देखिदैन, कोइरालाको सत्तामा ओलीको पार्टीको पनि उत्तिकै सक्रिय सहभागिता थियो। कसैले सरकारका निर्णयहरु ओलीको सहमति वेगर हुन्थ्यो भन्छ भने त्यसको मूर्खतामा हाँस्न मात्र सकिन्छ। तर, सुनिएका यी हार्दिकतारहित आवाज र आलापहरुको अव कुनै महत्व छैन। ओली वा कोइराला जो प्रधानमन्त्री भएको भएपनि “जो जीता वही सिकन्दर” हुने कुख्यात स्वभाव हुन्छ राजनीतिको। यहाँ पनि त्यस्तै हो। कोइराला हारे ओली र ओली हारे कोइराला महान हुन्छन। अहिले कामरेड ओलीले जितेका छन। उनी महान भएका छन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई टेलिफोन गरेर बधाई मात्र दिएका छैनन, क्षेम कुशल समेत सोधेका छन। ओलीको नेतृत्वमा नेपाल–भारत सम्वन्ध हुर्किने आशा प्रकट गरेका छन। कामरेड प्रधानमन्त्री तत्कालै भारत जाँदैछन। उनको शारीरिक र राजनीतिक दुवै स्वास्थ्यको उपचार त्यही हुने गरेको छ।

निर्वाचनमा को जित्यो वा को हार्यो यो त्यति महत्वपूर्ण विषय होइन। किनभने, नेपालका नयाँ नवोदित विव्दानहरुले जतिसुकै विचार छाँटेपनि अन्ततः ओली र कोइराला एउटै सिक्काका दुई पाटा मात्र हुन। सुशीलको पराजयपछि पनि तीन दलीय संरचना भत्किएको छैन। नयाँ तीन दलीय संरचना सहमतिका लागि खडा भएको छ। यो संरचनाका मुख्य पात्रहरु कस्ता छन ? यो महत्वपूर्ण विषय हो। नयाँ संरचनाले कमल थापाको राप्रपा–नेपालका लागि २७ वर्षपछि सत्ताको खोलो विपरित दिशामा फर्काएको छ। राजा वीरेन्द्रको शासनकालमा भारतले नाकावन्दीगर्दा कमल थापा संचार मन्त्री थिए। अहिलेको नाकावन्दीमा उनी ओलीका सिपहसालार वनेका छन। राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रका रुपमा नेपालको सनातन पहिचानको निरन्तरता कमल थापाका मुख्य राजनीतिक एजेण्डा हुन्। अहिले कामरेड ओलीको दायाँ र बायाँ अँगालोमा एकीकृत माओवादीका प्रचण्ड र कमल थापा छन। भोलिका दिनमा थापाको भूमिका के हुनेछ ? यसको पर्यवेक्षण आफैमा रोचक हुनेछ। राजनीतिका धुरन्धर खेलाडी मानिएका दुइ कामरेड ओली र प्रचण्डले कमल थापाको चूडाकर्म गरेर उनलाई अनुदार गणतन्त्रवादी वनाउनेछन कि कमल थापाको हिन्दू सम्मोहनमा परेर आफनै जात गुमाउने छन ? खेल चर्कै हुनेछ। कमल थापासंग संसदीय शक्ति छैन। नेपाली राजनीतिमा त्यस्तो शक्तिको कुनै अहमियत छैन भन्ने त संविधान सभामा प्रत्यक्ष देखिएको कुरा हो। तर, राज्य गुमाएका राजादेखि भारतमा कुस्त सम्पत्ति थुपारेर राष्ट्रवादी वन्ने राज्य विनाका साना–ठूला रजौटाहरु, काठमाडौदेखि दक्षिण, पूर्व र पश्चिमका साहू, महाजन, सन्त, महन्त र सामन्तहरु कमल थापासंगै छन। अभ्यन्तरमा राजतन्त्रका हिमायतीहरु पनि थुप्रै छन जो अहिले कांग्रेस, एमाले, एकीकृत माओवादी र विभिन्न अन्य दलहरुको छहारीमा लुकेर बसेका छन्।

कामरेड ओलीको एकमात्र एजेन्डा पूरा भएको छ। उनी प्रधानमन्त्री भएका छन। झापाकाण्डका नाममा लामो समय जेलमा विताएको समयको मूल्य उनको हातमा परेको छ। उनलाई प्रसन्न गराउन विव्दान पत्रकारहरुको ठूलै जमात अहिले उनका तुक्का संकलनमा लागेको हुनु पर्दछ। कामरेड ओलीका एजेन्डा तिनै तुक्कामा संकलित छन। ती तुक्काहरु निकट समयमा एमाले भाष्यका रुपमा पुस्तकाकारमा बजारमा विक्न थाल्नेछन। वाँकीका एजेण्डा त एमालेले आफनो घोषणा पत्रमा लेखेकै छ।

नयाँ तीन दलीय संरचनाका महत्वपूर्ण खेलाडी हुन प्रचण्ड अर्थात एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल। धेरैले लख काटेका छन – राष्ट्रपति डा. रामवरण यादवलाई अव उनैले विस्थापित गर्नेछन। तर, यो टिप्पणीकारलाई त्यस्तो लाग्दैन। उनी काठमाडौंलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्र वनाएर झकिझकाउ समाजवाद स्थापनाको कल्पनागर्ने व्यक्ति हुन। कार्यकारी शक्तिको भरपूर उपयोगगर्ने तृष्णामा चुर्लुम्म डुवेका प्रचण्डलाई अहिलेका दाहाल व्यक्तित्वले थिचि सकेको छ जस्तो देखिदैन। हो, उनी चिनी रोगबाट ग्रस्त छन र यो रोगबाट मुक्तिको कुनै उपाय छैन। पुष्पकमल दाहाल कामरेड प्रचण्डमाथि हावी भएकै हुन भने उनले पाँच वर्षका लागि सुखमय जीवन व्यतितगर्न खोज्लान र शितल निवासमा वसेर तक्मा वाँडने, पुस्तक विमोचनगर्ने र पुरस्कार तथा सम्मानपत्र वितरणगर्ने सरकारी कामको खोजी गर्लान। उनको जीवट व्यक्तित्वलाई सरसरी हेर्दा त्यस्तो लाग्दैन। एकपटक पूरै पावरको भोगगर्ने उनको उत्कट अभिलाषा केही दिन अघिसम्मका उनका सहयोगी बाबुराम भट्टराईको सपना जस्तो स्खलित हुनदिने मनस्थितिमा उनी देखिएका छैनन। यतिवेला उनी निकै प्रफुल्ल देखिएका छन। मानौं कि कामरेड प्रधानमन्त्री ओली एमालेका अध्यक्ष नभएर एकीकृत माओवादीका केन्द्रीय सदस्य हुन। ओलीलाई प्रधानमन्त्री वनाउन अहिले उनले जुन कसरत खेले त्यसको चारैतिर प्रशंसा भएको छ। राष्ट्रवादीहरुको बिगबिगी बढेको अहिलेको समयमा रातारात उनको स्टेटस हलक्क बढेको छ। तैपनि, उनको राजनीतिक अवस्था भने मागेको सातु घैँटामा जम्मा गरेर त्यसैबाट करोडपति बन्ने सपना देख्ने सोम शर्माको जस्तो देखिन्छ। सपनामा करोडपति बनेको सोम शर्माले पत्नीलाई लात हान्दा सातु जम्मा गरेको घैंटो फुटेको थियो रे…

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण