प्रधानमन्त्री चुनावका अनौठा प्रसंग
काठमाण्डु, २५ असोज–
प्रधानमन्त्री चुनाव पनि मतलव नहुने सांसदहरु
एमालेको समानुपातिक सभासद् राज्यलक्ष्मी गोल्छा प्रधानमन्त्री चयन चुनावमा अनुपस्थित भइन् । बाहिर निस्केका कांग्रेस सभासद्हरु प्रदीप गिरि, जीवन परियार र बद्री पाण्डे भित्र पस्न खोज्दा ढोका लागिसकेको थियो । खुमबहादुर खड्काको श्रीमती शिला पार्टीका गोपाल दहित, गंगा चौधरी, जनजागरण पार्टीका लोकमणि ढकालले मतदान गरेनन् ।
ओलीलाई लिखित समर्थन, मतदानमा कोइरालालाई भोट
शानिबार एमाले उम्मेदवार ओलीलाई समर्थन गर्ने लिखित प्रतिबद्धता जनाएका नेपाली जनता दलका हरिचरण साह, खम्बुवान पार्टीका राकुमार राई, दलित जनजाति पार्टीको यशोदा लामा र स्वतन्त्र सभासद् अख्तर कमाल मुसलमानले आइतबार कांग्रेस उम्मेदवार कोइरालालाई भोट दिए । बैठकमा ओलीको समर्थनमा बोल्न सभामुखले पटक–पटक बोलाउँदा उनीहरु गएनन् । तर, मतदान गर्दा भने कोइरालालाई मत हाल्ने लाइनमा लागे ।
मधेसी दलहरुले गरे संसद्मै निर्णय
संयुक्त मधेसी मोर्चामा आबद्ध दलहरुले तमलोपाको कार्यालयमा बसेर प्रधानमन्त्रीमा ओलीको विपक्षमा मत हाल्ने निर्णय गरेका थिए । पछि फेरि संसद् भवनको शंकर हलमा बैठक बसेर उग्रवामपन्थी तथा फासिस्ट अपवित्र गठबन्धन भन्दै ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।
शुक्लले ताने रामजनमलाई
तमलोपाले केपी शर्मा ओलीलाई मत नहाल्ने निर्णय गरेको थियो । तर, फोरम लोकतान्त्रिकले ओलीको पक्षमा मत हाल्ने निर्णय गरेको थियो । मत हाल्ने बेलामा फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी ओलीको पक्षमा लाइन लागेका थिए भने तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल कोइरालाको पक्षमा । त्यतिबेला शुक्ल चोधरीलाई कोइरालाको लाइनमा तान्दै थिए ।–नयाँ पत्रिकाबाट