कमल थापा भन्छन्, ‘राजतन्त्र र हिन्दू धर्मको एजेण्डा छाडेको छैन’
काठमाण्डु, २७ असार– उपप्रधान तथा गृहमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान स्वीकार गरेर सरकारमा सहभागी भए पनि संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको विचार पार्टीले नछाडेको बताएका छन् ।
आफ्नो वैचारिक आस्थालाई सरकारमा सहभागिताले कुण्ठित नतुल्याउने उनले प्रष्ट्याए । नागरिक र राजनीतिक दलका रुपमा संविधान मान्न तयार रहेको भन्दै उनले संविधानले नै दिएको विचार स्वतन्त्रताको अधिकार प्रयोग गरेर अघि बढ्ने बताए ।
‘संविधानलाई हरेक नागरिकले पालना गर्नुपर्छ’, राजतन्त्र र हिन्दू धर्म उल्लेख नगरी थापाले बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्रसँगको अन्तर्वार्तामा बुधबार भने, ‘संविधानले प्रदान गरेको विचार स्वतन्त्रताको अधिकार अधिकार प्रयोग गरेर अघि बढ्छौं ।’
थापाले एमालेले विगतमा पार्टी दस्तावेजमा गणतन्त्र उल्लेख गरेको भए पनि राजतन्त्र स्वीकार गरेको र एकीकृत माओवादीको अहिलेको संवैधानिक व्यवस्थाभन्दा भिन्न सोच रहेकाले राप्रपा नेपाल पनि आफुनो मान्यतामा अडिग रहेको बताए ।
‘जस्तोसुकै असहज र अप्ठेरो परिस्थितिमा पनि विचार र सिद्धान्तमा चट्टानजस्तै अडान कायम राख्दै आएको छु’, थापाले भने, ‘संविधान र प्रचलित कानुनप्रति प्रतिबद्ध रहेर आफ्नो भूमिका निर्वाह गर्छु ।’
सरकारमा भएका बेलामा संविधानको संरक्षण गर्नु आफ्नो कर्तव्य भए पनि विचार स्वतन्त्रतामा बन्देज लाग्न नसक्ने तर्क उनको थियो ।