गृहपृष्ठ » विशेषलडाकुदेखि सभामुखसम्म

लडाकुदेखि सभामुखसम्म

October 17, 2015१७६ पटक

काठमाडौं-तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको पहिलो दिन अर्थात् २०५२ फागुन १ गते चार ठाउँमा फौजी कारबाही गरेको थियो, जसमध्ये एउटा थियो– रोल्पाको होलेरी ।

लडाकुदेखि सभामुखसम्म

उक्त आक्रमणका लागि माओवादीले ३६ जनालाई जिम्मेवारी दिएको थियो, जसमा दुई महिला थिए । दुईमध्येकी थिइन्– ओनसरी घर्तीमगर ।

‘त्यो बेला हामी ३६ जना आक्रमणमा गएका थियौं, तीन घन्टाको निरन्तर आक्रमणपछि होलेरी चौकी कब्जामा आयो,’ पूर्वमाओवादी लडाकुका ब्रिगेड प्रमुख नन्दकिशोर पुन सम्झन्छन्, ‘माओवादी आक्रमणको पहिलो दिन ओनसरीजी बन्दुक नै बोकेर हिँड्नुभयो, महिलाले बन्दुक बोकेको त्यो पहिलो र ऐतिहासिक दिन थियो ।’

हालका एमाओवादी सचिव वर्षमान पुनको नेतृत्वमा होलेरी आक्रमण भएको थियो, जसमा पासाङ सहकमान्डर थिए ।

‘आक्रामणमा जानुअघि उहाँले सामान्य फौजी तालिम लिनुभएको थियो,’ तत्कालीन कमान्डर पुन सम्झन्छन्, ‘पार्टीको सक्रिय कार्यकर्ता भएकाले पनि युद्धमा जाने इच्छा उहाँले देखाउनुभयो, हामीले सहर्ष स्वीकार गरेर लग्यौं ।’ उनका अनुसार त्यो पहिलो आक्रमणमा ओनसरीसहित अर्की नेतृ तारा घर्ती पनि सहभागी थिइन् । उनी अहिले मोहन वैद्यको पार्टीमा छिन् ।

२०३४ कात्तिक २८ गते रोल्पाको बैंकोटमा जन्मेकी ओनसरी होलेरी आक्रमण गर्दा १८ वर्षकी थिइन् । वर्षमानसँग त्यसअघि नै ओनसरीको विवाह भइसकेको थियो । ‘हामी दुवै युद्धमा गयौं, जितेर आएपछि नाराबाजी ग¥यौं र एक–अर्काबीच हात मिलाएर पहिलो सफलताको खुसी साट्यौं,’ वर्षमान करिब २० वर्षअघिको त्यो घटना सम्झन्छन् । होलेरी चौकीबाट जिलेटिन, बन्दुक, सरकारी कागजपत्र, प्रहरीका युनिफर्म कब्जामा लिइएको थियो ।

वर्षमानकी श्रीमती भए पनि ओनसरीको आफ्नै राजनीतिक इतिहास छ । उनले २०५२ भदौ १२ गते पुनसँग जनवादी विवाह गरेकी थिइन् । आफ्नो राजनीतिक जीवनको १० वर्ष उनले भूमिगत रूपमा बिताइन् । पार्टीभित्र ‘उषा’ उपनामले परिचित बनेकी घर्ती पार्टीको दाङ जिल्ला इन्चार्ज भइन्, २०५८ पछि पूर्व बटालियनमा राजनीतिक कमिसारको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हालिन् । युद्धकालमै लडाकु र राजनीतिक कमिसारको जिम्मेवारी सम्हाल्दै उनी २०६० सालमा पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेकी थिइन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षसमेत बनेकी घर्ती हेटौंडा महाधिवेशन र विराटनगर सम्मेलनबाट केन्द्रीय सदस्यमा चयन भइन् । त्यसपछिको निर्वाचनमा पोलिटव्युरो सदस्य निर्वाचित भइन् ।

एसएलसी मात्र उत्तीर्ण गरेकी उनी त्यसपछि पार्टी आदेशअनुसार युद्धमा होमिएकी थिइन् । ‘जनयुद्ध र नेपाली महिला’ नामक पुस्तक लेखेकी घर्ती निरन्तर युद्धमा सामेल भइरहने कमै महिलामध्ये पर्छिन् । संविधानसभा–१ मा समानुपातिकतर्फबाट सभासद भएकी उनी झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भइन् । तर, त्यो जिम्मेवारी भने उनले १३ दिनभन्दा बढी सम्हाल्न पाइनन् ।

संविधानसभा दोस्रो निर्वाचनमा रोल्पा–२ बाट प्रत्यक्ष विजयी घर्तीमगर नेपालको इतिहासमै दोस्रो महिला उपसभामुख हुन सफल भइन् । यसअघि कांग्रेस नेतृ चित्रलेखा यादवले सडकदेखि सिंहदरबारसम्मको संसदमा उपसभामुखको जिम्मेवारी सम्हालेकी थिइन् । घर्तीले १ वर्ष २० महिनासम्म आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्हालिन् ।

उनै घर्तीमगरले शुक्रबारबाट भने राज्यका तीन प्रमुख अंगमध्ये एक व्यवस्थापिका प्रमुखको गरिमामय नेतृत्व सम्हालेर नेपालको राजनीतिमा गौरवमय इतिहास कायम गरेकी छन् ।

ज्येष्ठ सदस्यका नाताले सभामुखको जिम्मेवारी सम्हालिरहेका सांसद लक्ष्मणलाल राजवंशीले घर्तीलाई निर्विरोध चयन भएको घोषणा गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहालले खादा ओडाएर अभिनन्दन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण