गृहपृष्ठ » बिचार/ब्लगवीपी राजमार्गमा फन्को मार्दा

वीपी राजमार्गमा फन्को मार्दा

October 18, 2015४४८ पटक

राजु पौडेल

सिन्धुलीको दुम्जास्थित साँदीमा बनेपा-सिन्धुली-बर्दिवास (वीपी) राजमार्गको अन्तिम चरणको काम हुँदै थियो ।गएको कात्तिकमा पुर्व कोशी अञ्चलको भ्रमण सकि काठमाडौं फर्किने क्रममा बर्दिवासबाट उत्तरपश्चिममा अवस्थित यो निर्माणाधिन बाटो रोजेका हामीलाई त्यसको झन्डै एक वर्षपछि पुनः त्यहि सडकमा यात्रा गर्ने अवसर प्राप्त भयो । सत्र वर्षअघि जापान सरकारको सहयोगमा निर्माण कार्य शुरु भएको सिन्धुलीमाडी-कोटेश्वर १६० किलोमिटर लामो नागबेली यो सडक अहिले पूर्ण बनाएर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
BP-Hyway

२०७२ असोज ३ गतेको पूर्वनिर्धारित भ्रमण तालिका संबिधान घोषणाको दिन भएकाले स्थगित गर्दै ६ गतेलाई सारियो । तर ५ गते साँझ मोबाइलमा घन्टी बज्यो । फोन कार्यालयको सामान्य सेवा विभागबाट थियो । ‘आज गाडीमा तेल भर्न पाइएन भोलिको भ्रमण ढिला हुन सक्छ ।’ मैले भनेँ, ‘जसरी हुन्छ बनेपा सम्मलाई तेलको व्यवस्था मिलाउनुस् । यात्रै शुरु नगरी स्थगित गर्न मिल्दैन । केहि उपाय नलागे विकल्प खोजौंला ।’

६ असोज बुधबार अपराहन्न धापासीस्थित निवासमा गाडी आइपुग्यो । हिमाली जिल्ला सोलुखुम्बुदेखि भित्री मधेशमा पर्ने उदयपुरसम्मका मध्य पहाडी क्षेत्रफलमा पर्ने ६ जिल्ला अन्तर्गतका पूर्वनिर्धारित स्थानसम्मको भ्रमणका लागि झन्डै १,२०० किलोमिटरको दुरी पार गर्नु यो प्रतिकुल समयमा त्यति सहज थिएन । गाडी चढ्नै लाग्दा दिनेशले भने, ‘खुर्कोटसम्मलाई तेल पुग्छ, बाँकीको व्यवस्था मिलाउनुपर्छ ! बिहान ४ घण्टा लाइन बसेर धन्न-धन्न यति भरियो ।’

सहकर्मी दिलिपले रामेछाप मन्थलीस्थित हाम्रा व्यवसायीक साझेदारलाई फोन लगाए , ‘सोलुसम्म पुग्नुछ । खुर्कोटमा तेलको व्यवस्था मिलाइदिनुपर्‍यो ।’ उनको प्रत्यूत्तर आयो, ‘यो क्षेत्रमा हजुरहरुको यात्रालाई आवश्यक पर्ने इन्धनको व्यवस्था मिलाउँछु, ढुक्क भएर आउनुहोस् ।’ हामी ढुक्क भयौं । संजाल जोडिएका कम्पनीमा काम गर्दाका सुन्दर पक्ष यीनै हुन् जसलाई पंक्तिकार स्वयंले साउदीका जीजानदेखि नेपालको खुर्कोटसम्म प्रत्यक्ष अनुभव गर्न पाएको छु ।

गाडीले गति लियो । बनेपाको सेन्टरमा छोटो काम सकाएर हामी झर्‍यो । धुलिखेलबाट खुर्कोटसम्मको यात्राका लागि दक्षिणी घुमाउरो ओरालो ८५ किलोमिटर घोप्टिनु पर्छ । सहकर्मी श्याम र अजित यो सडकका लागि नौला थिए । बटारिँदै गुड्दै गर्नुपर्ने यात्रामा भमिटको जोखिम बढ्ता हुन्छ । अजितले श्यामलाई झ्याल नजिकको सिटबाट हटाउन खोजे । दिनेशले कुरा बुझिहाले, केहि समथर परेको भू-भागमा गाडी रोकियो । हामीलाई खुर्कोट चुम्न अझै ६०-६५ किलोमिटर बाँकी थियो । सवै वाहिर निस्कियौं ।

काठमाडौंको निसासिँदो वातावरणबाट उन्मुक्त हामी यो प्राकृतिक स्वच्छ हावामा एकसाथ फ्रेस भयौं । सहकर्मी दिलिप हामीभन्दा बढ्ता घुमेका छन् । गाडी चढ्दै गर्दा उनी भन्दै थिए, ‘नेपालमा के छैन र हामीले यति विधि सास्ती भोग्नु परेको छ ?’ क्षितिजपारी हल्का अँध्यारो मडारिदै थियो ।

यी भेडाले के खान्छन् ?

अजितले झ्याल छाड्न मानेनन् । यो पुरा बाटोको विशेषता भनेकै घुमाउरो यात्राको अनुभव हो । चर्चित लोकगायक लोकबहादुर क्षेत्रीले गाएको ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’ भन्ने बोलको गीत दिनेशले गाडीमा प्ले गरिदिए । मैले सीट बेल्ट मज्जाले कसेँ ताकि गाडीले घुम्ती पार गर्दा यताउता हल्लिनु नपरोस् । गाडीमा लोकबहादुरको साम्राज्य छ । म गीतमा डुबेँ, यो पुरानो गीत मैले धेरै पटक सुनेको छु । तर, शरीरमा काँडा उमि्रने गरी सुनेको यो पटक हो । मैले तौले । मलाईं शुरु शुरुमा साउदीको उजाड मरुभूमिमा भेडा चराएको देख्दा अनौठो लाग्थ्यो । यी भेडाले के खान्छन् ? खोज्दै हिड्थेँ। नेपालीले तीनै भेडा चराउने जिम्मेवारी पाएको भेट्दा मन पोलेर आउँंथ्यो ।

Raju-Poudelपछि नेपालीमा गीत आयो ‘…साउदी अरव जङ्गलमा भेडा चराउछु ।’ मैले साउदीमा मात्र होइन मध्यपूर्वका अन्य देशमा पनि भेडा चराउने जङ्गलको निक्कै खोजि गरेँ । सायद मेरो पहुँच नपुगेको होला । म निष्कर्षमा पुगेको छु, त्यहाँ मरुभूमिमै पाइने एक प्रकारको हरियो काँस जस्तै प्राकृतिक घाँसमा भेडा चरी-चरन गर्ने हुन् । यसलाई जङ्गल भनिदैन । बरु बोलीचालीको भाषामा बालुवाघारी भन्ने गरिन्छ ।

मैले नौतुना-गोरखपुर रेलमा श्रमका लागि विदेसिएका नेपालीसंग पनि यात्रा गरेको छु, साउदीको दम्मामबाट राजधानी रियादका लागि चल्ने रेलमा कैयनपटक यात्रा गरेको छु । साउदीको दम्मामस्थित किङ्ग फाहाद अन्तर्राष्ट्रिय हवाई अड्डाबाट दर्जनौं पटक उडेको छु । मैले सुनेको, भोगेको र देखेको छु प्रवासीको जीवनी जुन लोकबहादुरको गीतिभावसँग मिल्छ । तीनै सहयात्रीका आश्रति परिवारको वित्तीय पहुँच विस्तारमा निस्किएका हामी खुर्कोटको प्रहरी बिटमा आइपुगेछौं । त्यतिखेर साँझको आठ बजेको हुनुपर्छ । दिनेशले मेरो टाउको माथिको बत्ति बाल्दा त्यो दिनको अन्तिम गन्तब्य एस.एस. होटल एण्ड गेष्ट हाउस अगाडी आइपुगेका थियौं । हल्का गर्मी ‘आमा रुँदै गाउँबेसी…’ बोलको गीत सुन्दै झन्डै एक दशकदेखिको अनुभवमा डुबेको म खुर्कोटमा बढ्दै गएको शहरीकरणले जिल्ल परेँ ।

फेरिएको दैनिकी

रामेछाप बजार, मन्थली, धुलीखेल, उदयपुर घुर्मी र सिन्धुलीमाडीका लागि छुट्टनिे केन्ऽ खुर्कोट २०६५/६६ सालसम्मको सामान्य पातलो वस्ती हो । यति टाढा जानु पर्दैन, गत कात्तिकमा म र दिनेश खाना खाने होटल नपाएर धुलीखेल उक्लेका हौँ ।परम्परागत कृषि र वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले धानिदै आएको यहाँको आर्थिक गतिविधि अहिले क्रमशः स्थानीय होटल व्यवसाय लगायत अन्य आयमुलक पेशाले परिवर्तन हुँदै आएको छ । यस्तो आर्थिक गतिविधिलाई सहयोग पुर्‍याउन स्थानीय स्तरमा केहि सहकारी र जिल्लास्तरीय विकास बैंकको एक शाखा संचालनमा छन् । सिन्धुली जिल्लाको तल्लो क्षेत्रमा अवस्थित खुर्कोटलाई वीपी राजमार्गले वीचबाट चिरेको मात्र होइन सरकारले पुर्व-पश्चिम मध्य पहाडी लोकमार्गमा बसाउन लागेको दश नमुना शहर मध्य एक हो ।

गत वैशाखको भूकम्पीय विनासले नमुना शहर निर्माणको गतिलाई बेस्सरी शिथिल पारे पनि पछिल्लो समयमा सक्रियता बढेको प्रष्टै देख्न सकिन्छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा सम्पन्न सिन्धुली, रामेछाप र दोलखा जोड्ने रणनीतिक पुल यहिँ आर्थिक वर्षको शुरुमा सञ्चालनमा आएपछि मध्यतराइका जिल्लालाई समेत राजधानीसँग छोटो र सिधा सम्पर्क खुलेको छ । वीपी राजमार्गले यहाँका वासिन्दामा फेरिएको दैनिकीलाई थप अध्ययन गर्ने चाहना विहानसम्मलाई थाती राख्दै हामी होटलमा छिर्‍यो । हिमाली तथा पहाडी जिल्लाको भ्रमणमा निस्किँदा पत्निका धेरै गुनासा अनुभव गरेको छु । स्थानीय स्वादको खाना टन्न खाने, शरीर पनि बिगार्ने अनि काठमाडौं फर्केपछि दुईचार दिन त्यस्तै स्वाद खोज्ने म जस्तै धेरैको समस्या होला । मैले आत्मालाई भनेको छु, साविकको खाना र विहानको अभ्यासलाई जुनसुकै हालतमा निरन्तरता दिनेछु । मैले होटलमा स्थानीय कोदोको ढिंडो खाने इच्छा राखेँ तर, नपाइने रहेछ । त्यसको विकल्पमा रोटी रोजेँ । आँटा, मैदा आदि खाद्यपदार्थ नाकाबन्दीले छिर्न पाएका रहेनछन् । भातको विकल्प नभेटिएपछि त्यसैमा जुट्यौं हामी । सुत्न कोठामा उक्लिँदा रातको एघार बजिसकेको थियो ।

नदी तटीय क्षेत्र काठमाडौंमा भन्दा बढ्ता हुफ्फ थियो यहाँ । सन्तोषजनक रात बित्यो ! बिहान पाँच बजे प्रातकालिन भ्रमणका लागि निस्कें । निर्माणाधीन होटल वाहिर निस्कन कसैलाई गुहार्नु परेन । एकजना समकालीन भेटेँ । सोधेँ, दाई यहाँ नजिकमा कतै दौडिने चौर छैन ? उनले मलाई इलाका प्रहरी कार्यालयको दक्षिणपट्टि सप्तकोशी नदीको किनारमा अवस्थित मैदानतर्फ डोर्‍याए । होटलबाट झन्डै १० मिनेटको पैदल दुरीमा पर्छ यो स्थान, हामी मस्ती गफियौं । प्रवासी श्रमिकको रुपमा ४ वर्ष मलेशिया बिताएर फर्केका उनले ‘आँ’ गर्दा अलंकार बुज्थे । २०४१ सालमा आएको बाढीले बगरमा परिणत भएको खुर्कोटको बदलिँदो सहरीकरणमा उनि आफै विश्वस्त छैनन् । ‘दाई बाटो भए विकास आफै हुँदो रहेछ, वीपी राजमार्गले खुर्कोटवासीको दैनिकी फेरिएको छ । म पनि विदेश छाडेर यतै छु, परिवार पाल्न पुगेको छ ।’

जियोटेक र सटक्रीट जस्ता नयाँ प्रविधिको प्रयोगले निर्माण गरिएको भनिएको यो सडकको संजाल नखुलेको भए सायद हाम्रो त्यो भित्र-भित्रको दश दिने यात्रा पनि सम्भव थिएन । आजभन्दा ४ महिनाअघि यहि भ्रमणका लागि तराई हुँदै जानु पथ्र्यो । यो भौतिक संरचनाको मिलेर उपयोग गर्ने ज्ञान हामीलाई कसले दिने ? पहाडमा फल्ने फलफुल तराईमा बेच्ने र तराइमा फल्ने धान, गहुँ, तरकारी आदि पहाडमा बेच्न यी संजालको मिलेर उपयोग गर्नुपर्छ । पृथ्वीको कुन छेऊ कुन टुप्पो न तेरो न मेरो, बाचूँञ्जेल मिलेर श्रोतको बाँडफाँड गरौँ ! आफ्नो पुस्तालाई परम्परागत सद्भावको नासो छाडिदिउँ !

क्रमशः..
(नोट : नेपालका मध्य पहाडी र हिमाली जिल्लामा गरिएको भ्रमणका अवधिमा प्राप्त अनुभवलाई संस्मरणात्मक आलेखमार्फत् प्रस्तुत गर्ने यो जमर्को हो । बाँकी अंश क्रमशः प्रकाशित गरिनेछ ।)अनलाईनखबर बाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण