गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिकमल थापाले भारतीय मन्त्री भेट्दा ‘नाकाबन्दी’ शब्द उच्चारणै गरेनन्

कमल थापाले भारतीय मन्त्री भेट्दा ‘नाकाबन्दी’ शब्द उच्चारणै गरेनन्

October 19, 2015३४५ पटक

उपप्रधानमन्त्री थापाले दुवै भारतीय मन्त्रीसँग सीमामा भएको आपूर्ति अप्ठेरोलाई सहज बनाइदिन आग्रह गरेका थिए । ‘उपप्रधानमन्त्रीज्यूले इन्धन आपूर्तिका विषयमा पूर्ण तयारीका साथ भारतीय पक्षसँग नेपालको धारणा राख्नुभएको छ । उहाँले वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी गराउनुभएको छ,’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकसँग भने ।

शनिबार नयाँ दिल्ली पुगेका थापासँग आइतबार बिहान ११ः१५ बजे भारतीय विदेश सचिव एस जयशंकरले होटल ओबरयमा शिष्टाचार भेट गरेका थिए । त्यसपछि हैदरावाद हाउसमा उपप्रधान तथा परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री स्वराजबीच द्विपक्षीय बैठक बसेको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल भएको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्रीको भारत भ्रमण र भेटवार्ताका विषयमा त्यहाँस्थित नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा समेत ‘नाकाबन्दी’ शब्द उल्लेख छैन । विज्ञप्तिमा लेखिएको छ, ‘बैठकमा नेपालमा कार्गाे भेहिकल भिœयाउन सहज बनाउने सम्बन्धमा छलफल भएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री थापाज्यूले नेपाल–भारत नाकामा मालवाहक सवारी साधनको आवतजावत सहज बनाउन भारत सरकारसँग अनुरोध गर्नुभयो ।’

थापा र स्वराजबीचको द्विपक्षीय बैठकपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालमा शान्ति, स्थिरता र मेलमिलापका लागि कार्य भइरहेको आफ्नो ट्विटर ह्यान्डलबाट प्रतिक्रिया जनाए । बैठकमा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार भारतीय विदेशमन्त्री स्वराजले मालवाहक सवारी साधान नेपाल प्रवेश गर्न भारतले नरोकेको बताएकी थिइन् ।

‘भारतीय विदेशमन्त्रीले नाकामा भएको मधेसकेन्द्रित दलको प्रदर्शनका कारण मालवाहक सवारी साधन आवातजावत गर्न कठिनाइ भएको जनाउनुभयो,’ बैठकमा सहभागी एक नेपाली सहभागीले भने, ‘नाकामा देखिएको समस्या नेपालको आन्तरिक कारणको उपज भएको बताउँदै भारतीय विदेशमन्त्रीले बैठकमा आन्तरिक मामिला नेपालले समाधान गरे आफैं समस्या सुल्झने जनाउनुभयो ।’

स्वराजसँगको द्विपक्षीय बैठकपछि उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । सिंहसँग पनि उनले इन्धन आपूर्तिमा देखिएको अप्ठेरोलाई सहज बनाइदिन आग्रह गरेका थिए । थापासँगको भेटपछि सिंहले ट्विटरमार्फत भने, ‘दक्षिण एसियामा शान्ति, स्थिरता र समृद्धि कायम गर्न नेपाल र भारत सधै सहकार्य गर्न प्रतिबद्ध छन् ।’

भारतीय गृहमन्त्री सिंहले पनि सीमामा देखिएको समस्या भारतका कारण नभएको बताएका थिए । उनले पनि नेपालको आन्तरिक मामिलाका कारण इन्धन ढुवानीमा समस्या देखापरेको स्पष्ट पारेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री थापासँग आइतबार नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शिष्टाचार भेट गरेका थिए ।

नेपालबाट नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटरे नाकाबन्दीका विषयमा कुराकानी गर्ने जनाइएको भए पनि उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले मोदीलाई भेट्ने÷नभेट्ने अझै टुंगो लागेको छैन । आइतबार साँझसम्म नयाँ दिल्ली नेपाली दूतावासले मोदीसँग भेटघाटको लागि दौडधूप गरिरहेको थियो । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार स्वदेश फर्किनुअघि भेटघाट हुन सक्छ । यसका लागि प्रयास भइरहेको छ,’ श्रेष्ठले भने ।

नयाँ संविधान जारी भएपछि त्यसमाथि असन्तुष्टि जनाउँदै करिब एक महिनादेखि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदै आएको छ । नाकाबन्दीका कारण इन्धन आपूर्ति नियमित हुन नसक्दा नेपालभरको जनजीवन कष्टकर बन्दै गएको छ । यही बेलामा नाकाबन्दी हटाउनका लागि भारतसँग कूटनीतिक पहल गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री थापा शनिबार भारत भ्रमणमा निस्केका हुन् ।नागरीक न्युजबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण