गृहपृष्ठ » मुख्य समाचार, समचारचीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने उपायबारे छलफल

चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने उपायबारे छलफल

October 24, 2015२०७ पटक

७ कात्तिक, काठमाडौँ । सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार यहाँ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा. महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो ।
‘नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई दृष्टिगत गरी पूर्वउपप्रधानमन्त्री श्रेष्ठको अगुवाइमा औषधि, इन्धनलगायत अति आवश्यक वस्तुको ढुवानी र पारस्परिक विषयमा कुराकानी भएको हो, ‘–उच्चस्तरीय छलफलबारे जानकारी दिँदै श्रेष्ठका सहयोगी सुसन कर्माचार्यले बताए ।
शुक्रबार नै चिनियाँ राजदूतसँगको छलफलपछि मन्त्री पुन र नेता श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको उनले बताए । चिनियाँ राजदूतसँग भएको छलफल र त्यसको निष्कर्षका सम्बन्धमा आफू अनभिज्ञ रहेको उनले बताए ।
चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नाका खुलेकै दिन फेरि पहिराले बन्द भएको केरुङ मार्गलाई शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण