९ जना नक्कली परीक्षार्थी पक्राउ
जुम्ला, साउन २२ । हाल चलिरहेको एसएलसीको पुरक परीक्षामा शुक्रबारको गणित विषयमा अर्काको सट्टामा परीक्षा दिँदै गरेका नौ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नक्कली परीक्षार्थीहरुमा दुई महिला र सात पुरुष रहेका छन् । जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेल नेतृत्व गएको टोलीले कक्षा निरीक्षण गर्दा नक्कली परीक्षार्थी भेटिएको हो । परीक्षाको मर्यादा विपरित काम गर्नेहरु अहिले जिल्ला प्रहरी कार्यालयमा थुनिएको र उनीहरुलाई कडाइका साथ कारबाही गर्न समितिको बैठक बसेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
साउन २० गते पहिलो दिनको पूरक परीक्षामा पक्रिएका नक्कली विद्यार्थीलाई लचिलो गर्दा शुक्रबार यो अवस्था आइलागेको र त्यसमा गम्भीर भएर तत्काल बैठक बस्न थालेको उनले जानकारी दिए । परीक्षामा उक्त परीक्षा केन्द्रबाट २६१ जना विद्यार्थीले परीक्षा दिएको केन्द्राध्यक्ष हरिकृष्ण महतले जानकारी दिए । रासस