चीनले इन्धन दिने भएपछि भारतमा हल्लीखल्ली

काठमाडौं : एक महिनादेखि दक्षिणको नाकाबन्दी झेलिरहेको नेपाललार्इ चीनले इन्धन दिने भएपछि भारतीय सञ्चारमाध्यममा हल्लीखल्ली भएको छ ।
नेपालले पहल गर्दा पनि भारतले नाकाबन्दी नखोल्ने जनाएपछि चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढेसँगै भारतीय सञ्चारमाध्यमले त्यसलार्इ प्रमुख समाचार बनाएका हुन् ।
चीनले नेपाललार्इ १० लाख लिटर पेट्रोलियम दिने समाचार शनिबार सार्वजनिक भएपछि भारतीय मूलधारका सञ्चारमाध्यममा त्यो समाचारले ठाउँ पाएको हो ।
नेपालले चीनबाट इन्धन ल्याउनका लागि प्रक्रिया अघि बढाएको अवस्थामा भारतीय सञ्चारमाध्यममा चर्चा शुरू भएको हो । भारतीय सञ्चारमाध्यमले विशेषगरी चीनले नेपाललार्इ १० लाख लिटर इन्धन दिन लागेको समाचारलार्इ प्रमुखताका साथ छापेका हुन् ।
सरकारी टोली चीनबाट इन्धन ल्याउनका लागि आइतबार चीनको बेइजिङ जाँदैछ । वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्रको टोली चीन जान लागेको हो ।
तेल ल्याउनका लागि परराष्ट्रले शनिबारै चीनलाई औपचारिक पत्र पठाइसकेको छ ।
भारतले नाकाबन्दी गरेपछि चीन र नेपालको संयुक्त प्रयासमा वैशाखको भूकम्पपछि झरेको पहिरोले अवरूद्ध रसुवाढी-केरुङ नाका असोज २८ मा खोलिएको थियो ।
तर फेरि पहिरो झरेर अवरूद्ध सो नाका खुलाउने प्रयासमा दुबै देशका अधिकारीहरू सक्रिय भएका छन् । चीनले दिने भनिएको इन्धन सोही नाकाबाट नेपाल भित्रनेछ ।
भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा चीनले नेपालमा एक हजार मेट्रिक टन इन्धन दिन लागेको समाचार छापेको छ ।
टाइम्स अफ इन्डियाले चाडबाडको समयमा चीनले नेपाललार्इ सो परिमाणको इन्धन अनुदानस्वरूप दिन लागेको उल्लेख गरेको छ ।
‘चीनबाट इन्धन ल्याएसँगै नेपालमा इन्धन निर्यातको भारतीय एकाधिकार अन्त्य हुनेछ’, टाइम्स अफ इन्डियाले लेखेको छ, ‘मधेस आन्दोलनका कारण भारतले इन्धन पठाउन नसकेको हो । चीनबाट इन्धन ल्याउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले पहल गरिरहेका छन् ।’
गल्फ टाइम्समा समेत चीनबाट नेपालमा इन्धन भित्र लागेको समाचारले प्राथमिकता पाएको छ ।
नेपालले चाहेजति सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको समाचारसहित गल्फ न्यूजले भारतसँगमात्रै निर्भर पर्दा नेपाल चरम संकटमा परेको दाबी गरेको छ ।
गल्फ टाइम्सले भारतको सहयोगमा मधेसमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरूले भारतबाट भित्रेका गाडी जलाएको समाचार पनि छापेको छ ।
भारतको अर्को चर्चित पत्रिका इण्डियन एक्सप्रेसले केपी ओली नेतृत्वको सरकारले चीनसँगको सीमाक्षेत्रको अवरोध खेल्नुका साथै भारतीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालले हालेको समाचारलार्इ प्राथमिकताका साथ छापेको छ ।
भारतको चर्चित एनडीटिभीको अनलाइन संस्करणमा मधेस आन्दोलन रहिरहेको जनाउँदै भारतको नाकाबन्दी जारी रहेका बेला चीनले नेपाललाई इन्धन दिन लागेको समाचार छापेको छ ।

एनडीटिभीले इन्धनसँगै नेपालले उत्तरी छिमेकी चीनबाट खाना पकाउने एलपी ग्यास ल्याउन गरिरहेको पहललार्इ पनि समाचार बनाएको छ ।
भारतीय नाकाबन्दीले चरम अभाव भएपछि नेपालले चीनबाट इन्धन ल्याउनका लागि निजीक्षेत्रलार्इ अनुमति दिएको समाचार पनि एनडीटिभीको अनलाइन संस्करणमा छापिएको छ ।
त्यसैगरी जी न्यूजले पनि चीनले नेपाललार्इ १ हजार टन इन्धन दिन बिचार गरिरहेको समाचार छापेको छ । उसले नेपाल-भारत सीमामा मधेस आन्दोलनकारीको नाकाबन्दीले नेपालमा इन्धन जान नसकेको जिकिर गरेको छ ।
त्यसैगरी आर्इबीएन खबर सेभेनले भने चीनले नेपाललार्इ इन्धन दिने नाममा भारतविरूद्ध नयाँ चाल चालेको दाबी गरेको छ । उसले चीनले भारतलार्इ घेर्न चीनले हिमालयको मुनिबाट १३ अर्ब डलर खर्चेर नेपालको राजधानीसम्म पुग्ने सुरूङ बनाउन लागेको दाबी गरेको छ।
‘चीन हिमालयमुनिबाट बन्ने यो सुरूङबाट रेल चलाउनेछ, यही कारण भारतलार्इ चिढ्याउने योजनामा चीन लागेको छ’, समाचारमा लेखिएको छ, ‘तर ठूलो खर्च र धेरै जोखिम हुने भएकाले अहिलेसम्म सुरूङ निर्माणको अन्तिम अनुमति मिलिसकेको छैन । यो सुरूङ बन्यो भने त्यहाँबाट नेपालसम्म कुद्ने रेलले भारतकालागि खतराको सिठ्ठी बजाउनेछ।’
अर्को पत्रिका नर्इदुनियाले पनि चीनबाट इन्धन ल्याउन नेपालले कदम अघि बढाएको उल्लेख गरेको छ । उसले नेपाल आयल निगमका अधिकारीलार्इ उधृत गर्दै लेखेको समाचारमा चीनले दिने इन्धनको पहिलो खेप केही दिनमै काठमाडौं पुग्ने दाबी गरेको छ ।
भारतकै अर्को पत्रिका नवभारत टाइम्सले चीनले नेपाललार्इ १ हजार लिटर इन्धन दिने निर्णय गर्न लागेको जनाउँदै प्रधानमन्त्री केपी अाेलीका प्रेस सल्लाहकार प्रमोद दाहालालार्इ उधृत गर्दै छापेको समाचारमा चीनले दिने इन्धनको पहिलो खेप केही दिनमै काठमाडौं पुग्ने जनाइएको छ ।