मादीमा डुबेर दुई युवकको मृत्यु
तनहुँः पौडी खेल्ने क्रममा डुबेर दमौलीस्थित मादी नदीमा दुई युवकको ज्यान गएको छ । काभ्रेबाट दसैं बिदा मनाउन पोखरा गएका युवा फर्कने क्रममा दमौलीस्थित मादी नदीमा पौडी खेल्न गएका थिए ।
आइतबार दिउँसो करिब २ बजे पौडी खेल्न गएका पाँच जनाको युवामध्ये दुईको डुबेर मृत्यु भएको हो ।
पौडी खेल्दा खेल्दै डुबेका काभ्रेको बनेपा–४ निवासी करिब २३ वर्षका सुदर्शन सापकोटा र करिब २२ वर्षका सरोज भुजेलको शव स्थानीय बोटे समुदायको सहयोगमा निकालिएको हो ।
उनीहरुसँगै गएका साथीहरुले झिक्न नसकेपछि बोटे युवाहरुको सहायताले दुवैको शव झिकिएको स्थानीय प्रत्यक्षदर्शी मोहनकुमार श्रेष्ठले बताए । दुबैको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।