गृहपृष्ठ » मुख्य समाचार, समचारचीनसँग नेपालले चालिस प्रतिशत इन्धन माग्ने

चीनसँग नेपालले चालिस प्रतिशत इन्धन माग्ने

October 25, 2015२०० पटक

काठमाडौं-नेपालले चीनसँग आफ्नो खपतको चालिस प्रतिशत इन्धन आपूर्ति गर्न आग्रह गर्ने भएको छ। भारतको आघोषित नाकाबन्दी झेलिरहेको नेपालले चीनसँग पहिलो पटक व्यापारिक रुपमा इन्धन आपूर्ति सम्झौता गर्न छ सदस्यीय प्रतिनिधिमण्डल सोमबार बेइजिङ पठाउँदैछ।

परराष्ट्र मन्त्रालयले नेपाललाई व्यापारिक रुपमा इन्धन आपूर्ति गर्न आग्रह गर्दै चीनलाई औपचारिक पत्र पठाइसकेको छ। चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा परराष्ट्र र वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव तथा नेपाल आयल निगमका उप–महानिर्देशक सहित छ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सोमबार बेइजिङ जाने तय भएको छ।

सोमबार चीन उड्ने तय भए पनि प्रतिनिधिमण्डलका सदस्यको नाम सहितको पत्र आफूले पाइनसकेको आइतबार साँझ राजदूत महेश मास्केले बताए। ‘आजै जाने भन्ने थियो तर बेइजिङमा छलफलका लागि नेपालले प्रस्तुत गर्ने सम्झौता पत्रको तयारी भइरहेकाले केही ढिलो भएको हो’, राजदूत मास्केले आइतबार साँझ नागरिकन्युजसँग भने, ‘म औपचारिक पत्र वा जानकारी पर्खेर बसेको छु, चीन जाने कार्यक्रम भोलिभन्दा ढिलो नहोला।’

चीनले दिने १३ लाख लिटर पेट्राेल मंगलबारदेखि भित्रिने

बेइजिङमा यही साता सम्झौता भए पनि व्यापारिक सम्झौता अनुसारको इन्धन केरुङ–रसुवागढी हुँदै नेपाल आइपुग्न केही साता लाग्नेछ। तर चीनले अनुदानको रुपमा दिने १३ लाख लिटर इन्धन भने मंगलबारदेखि नै नेपाल भित्रिने राजदूत मास्केले बताए। अनुदानमा पेट्रोल ल्याउने समझदारी भएको छ ।

नयाँ सरकार गठन भएपछि ब्रिफिङ गर्न बेइजिङबाट काठमाडौँ आएका राजदूत मास्के इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्न नेपाल र चीनका अधिकारीबीच भएका छलफलमा सहभागी भए। बेइजिङमा उच्च चिनियाँ नेतासँग छलफल गरी फर्केका एमाओवादीका उपाध्यक्ष तथा ‘गभर्मेन्ट अफेयर्स इन्चार्ज’ नारायणकाजी श्रेष्ठको पहलमा चीनबाट इन्धन आपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले चीनसँग हालको मागको चालिस प्रतिशत इन्धन आपूर्ति गर्न आग्रह गर्नेछ। एमाओवादी उपाध्यक्ष श्रेष्ठ, वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन, राजदूत मास्के, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई संलग्न छलफलमा नेपालले चालिस प्रतिशत आपूर्तिको प्रस्ताव राखेको छ। राजदूत मास्केले भने बेइजिङमा हुने छलफलपछि मात्र इन्धनको परिमाण र आपूर्तीको समय निर्धारण हुने बताए।

‘नेपालको सबै आवश्यकता उत्तरबाट पूरा गर्न खोजिएको होइन तर हाम्रो अनुरोध सकेसम्म धेरै र सकेसम्म छिटो भन्ने हुन्छ’, मास्केले भने।

नेपाली प्रतिनिधि मण्डलले बेइजिङमा चीनको वाणिज्य मन्त्रालयसँग राजनीतिक तथा चाइना नेशनल पेट्रोलियम कर्पोरेशनसँग प्राविधिक पक्षबारे छलफल गरेपछि इन्धन आपूर्ती सम्बन्धी सम्झौता हुने तय भएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण