गृहपृष्ठ » बिचार/ब्लगतराइ आन्दोलन सफल होस्, भारत जिल्ल परोस्

तराइ आन्दोलन सफल होस्, भारत जिल्ल परोस्

October 25, 2015३९८ पटक

डा. सुबर्णबाबु सापकोटा

भारतीय हस्तक्षप बिरुद्ध फ्र्यान्कफर्टको भारतीय कन्सुलेट अगाडि बिरोध प्रदर्शन गर्दा सँगै गएका सप्तरीका हिमालयराज झा भाईले मलाई सोधे, तपाईं मिथिलाका कोही चिन्नुहुन्छ, राजा जनक र सिता बाहेक ? म त चुप नै भएँ । मैले वास्तवमा भवानी भि बाहेक कुनै पनि नाम भेटिन मेरो मस्तिस्कमा जसको आधार तराइ क्षेत्र होस् ।

Subarna-babuअनी मेरो अनुहार हेर्दै हिमालय भाईले सोधे “बिद्यापति” चिन्नुहुन्छ ? अहँ चिन्दिन !  मेरो जवाफसितै हिमालय भाईले भने- दाई यही हो हाम्रो समस्या, राज्यले तपाईंलाई र मलाई साँस्कृतिक रुपले एकिकृत हुनै दिएन । यसमा हाम्रो के दोष ? अहिले हामी सँस्कृति र पहिचानले नेपालसित एकिकृत हुन चाहन्छौ न कि बेग्लै देश हुन, हामी यही भुमीका आदिबासी हौँ।’

बेलुका हिमालय भाईको कोठामा बसियो, उनले मिथिलान्चलमा विवाह गर्दा गाइने लामो गीत र त्यसका अर्थहरु बुझाए ।  म त्यो सुनेर पुरै बिक्षिप्त नै भएँ, कसरी यत्रो सम्पदा राज्यको मुल धारमा आएन ?

नेपाली रास्ट्रियताबारे हामीहरु निक्कै सम्बेदनशिल छौँ । यो सत्य हो र परेको बेला हामीले पटक-पटक प्रमाणित पनि गरेका छौँ । तर, सत्यका अनेक आयम हुन्छन भने जस्तै के पनि साँचो हो भने हाम्रो नेपाली राष्ट्रियता समाबेशी भने पटक्कै छैन । अर्थात केही जबरजस्त मान्यताहरु स्थापित  छन् जुन बिना हाम्रो राष्ट्रियताको मापन पुरा हुँदैन । यसै कारणले गर्दा हो – नेपाली भुगोल बाहिर दर्जिलिङ अनि सिक्किम लगायतका भारतीय नागरिकता बोकेका आफुलाई भारतीय भन्नेहरु हामीलाई आफ्नै नेपाली लाग्ने, तर नेपाली दक्षिण भुगोल तराइका आदिबासी नेपाली हौँ भन्नेहरु पराया भारतीय लाग्ने ।

यसमा अझ दैनिकीमा हामीले गर्ने  बिभेद जोडीदा भयानक चित्र देखिन्छ। एउटा सानो प्रसँग जोड्न मन लाग्यो- आकर्षक तलबले गर्दा धेरै जर्मनहरु स्विजरल्यान्डमा काम गर्न मन गर्छन्, तर स्विसहरु जर्मन आएर काम गरेको उति मन पराउँदैनन् । एक जना सँगै पढेको जर्मन साथी भर्खर स्विजरल्यान्डमा जागिरे भएको थियो । एक पटक हाम्रो भेट हुँदा उसले जागिरे अनुभवबारे भनेको म अझै पनि सम्झन्छु – “फर द फर्स्ट टाईम, आइ ह्याब रिअलाइज्ड हाउ इट फिल्स टु बि अनवान्टेड इन अ सिस्टम”। उसको अनुभवलाई जनरलाइज गर्न त नमिल्ला तर, बिभेद आँफैले अनुभव नगर्दासम्म त्यस्को पिडा बुझ्न अलि सकिने रहेनछ । हाम्रो राष्ट्रियता कस्तो दोधारे भयो भने कतै हामी भुगोल मात्रै खोज्छौ त कतै जनता मात्रै । अर्थात हामी ईतिहासको ‘सेन्टीमेन्टल ह्यङ ओभर’बाट तङ्री सकेका रहेनछौ ।

हामीले स्विकार्नै पर्छ, आन्दोलनमा जनताको सहभागिता छ र यो माखे साङ्लो मात्र होइन । जब निर्दोष मारिन थाल्छन, के कुरा बुझ्न जरुरी छ भने आन्दोलन होस् या व्यवस्था दुबै को आयु थोरै हुन्छ ।

हिमालय राज जस्ता आम आदिबासी तराइका जनताको बुझाईमा तराइको आन्दोलन भुगोल मात्रै होइन, समाजिक एकिकरणको लागि आन्दोलन हो । नेपाल राज्यमा समाहित हुने प्रयासको आन्दोलन हो, अझै प्रस्ट भाषामा भन्दा धोती / भैया / भेलेबाट दाई-भाई हुने आन्दोलन हो, इन्टिग्रेसनको आन्दोलन हो । फेरी संबिधानको स्वामित्व ग्रहण गरेका ठुला राजनीतिक दलहरु (जसले  तराइको बहुमत प्रतिनिधित्व गर्दछन)  एकपटक पनि तराइ झर्न नसक्नुले प्रस्ट पारेको छ- त्यहाँ समस्या छ, जनआक्रोश छ । जनताको सहभागिता बिना यस्तो आन्दोलन दुई महिनासम्म लम्बिन सम्भव छैन् । तसर्थ हामीले स्विकार्नै पर्छ, आन्दोलनमा जनताको सहभागिता छ र यो माखे साङ्लो मात्र होइन । तर, आन्दोलन ब्यापक भएर मात्रै हुँदैन रहेछ, हामीले नेतृत्वको बर्गिय धरातल पनि हेर्नु पर्ने रहेछ । मिहिन रुपले पनि हेर्न पर्दैन । प्रस्ट छ – प्रायः आन्दोलनको क्रममा मारिनेहरु निर्दोष, दिनभरी साइकल बनाएर परिवार पाल्ने मिस्त्री, बिई पढ्ने सपना देख्ने विद्यार्थी, पान खान निस्केका बृद्द अर्थात गरी खाने र हुँदा खाने बर्गका छन । जब निर्दोष मारिन थाल्छन, के कुरा बुझ्न जरुरी छ भने आन्दोलन होस् या व्यवस्था दुबै को आयु थोरै हुन्छ ।

तर,  अधिकार प्राप्ति अनी इन्टिग्रेसनको यो आन्दोलनमा तराइका प्रायः नेताहरुबाट बडो उदेक लाग्दो गरी तराइमा “इन्टर रेसियल डिस्क्रिमिनेसन” को कुरा मात्रै उठेको छ अर्थात पहाड र पहाडीया मुख्य दुश्मन हो भन्ने कुरालाई जनरलाइज गरिएको छ, जुन अर्ध सत्य मात्र हो । तर “इन्ट्रा रेसियल डिस्क्रिमिनेसन” को बारे पटक्कै कुरा उठेको छैन । यसको अर्थ तराइमा इन्ट्रा रेसियल डिस्क्रिमिनेसन नभएको होइन अर्थात  झा, शुक्ला,यादव, महतो, गिरी, राउत लगायत उपल्लो बर्ग र मुसहर, लोहार, चमार, डोम लगायत तल्लो बर्ग बिचको डरलाग्दो बिभेदलाई जानी जानी मिनिमाइज गरिएको छ, जुन बाँकी सत्य हो । इन्ट्रा रेसियल डिस्क्रिमिनेसनबारे बोल्ने बित्तिकै त अहिले तराइका मसिहा बनेका अधिकांस नेतृत्व एकाएक सासक बर्गमा परिणत हुन्छन । यो त्यस्तो नेतृत्व बर्ग हो जो नेपालमा भएका जुनसुकै राजनीतिक परिवर्तनमा पनि पहाडीया भनेको सत्ताको नजिक रहेर पनि तराइका लागि सिन्को भाचेन । अनि जब राजनीतिक जीवन संकटमा पर्‍यो तब सजिलै बिक्ने “कम्युनल” नारा बोकेर उभिएको छ। हामी सबैले बुझ पचाए पनि बुझेका छौँ न त पहाडिया सबै सासक/शोषित  हुन न त तराइका सबै शोषित/सासक हुन् । दुबैलाई जनरलाइज गर्नु भुल मात्र होइन गम्भिर राजनीतिक अपराध हो। धेरै तराइ केन्द्रित बुद्दिजिबीहरु भन्नु हुन्छ- पहिले हामी मिलेर पहाडीया सासकका बिरुद्ध लड्छौँ अनी इन्ट्रा रेसियल डिस्क्रिमिनेसनका बारे बोलौला ।’

यहाँनेर मलाई तराइसित रोटी बेटी सम्बन्ध भएको भारतको बिहार र उत्तर प्रदेशको उदाहरण लिन मन लाग्छ, जहाँको राज्य, श्रोत साधन अनी र अर्थतन्त्रमा उच्च जातिको एकाधिकार छ ।  तर, बहुमत पिछडिएका जातिको छ (श्रोत: शकील अख़्तर, बीबीसी हिन्दी) । मलाई त लाग्दैन, त्यहाँ पहाडिया गएर शासन गरे । तर, बिभेद त ब्यापक छ नि ! यसको अर्थ के हो भने अहिले तराइका वास्तबिक भुमी पुत्र-पुत्रीहरु इन्टिग्रेसनको खोजिमा छन्, तर पहिलेदेखि सत्ताको नजिक रहेर सोझा जनता ढाँट्न जानेका तराइका जमिन्दारहरुले तराइको आन्दोलनलाई बर्गिय हुनबाट रोकेर कम्युनल बनाउँदै छन् । पत्रकार मेघराज रसाइलीले भने जस्तै तराइको लागि दिइने आरक्षणलाई बर्गिय हिसाबले समाबेशी बनाउने भित्तिकै यी पद लोलुपे उच्च जातिय जमिन्दारहरुको हावा फुस्किन्छ र तराइको नयाँ अनुहार बल्ल बाहिर निस्किन्छ ।

जसरी धेरै पहाडीयाहरुलाई तराइको सजिब चित्रबारे ज्ञान छैन् । त्यसैगरी तराइका धेरैलाई पहाडको हिमाल को बारे वास्तबिकता बारे जानकारी छैन । अझै तराइलाई मात्रै हेर्दा धेरै तराइ बासीहरुलाई  पूर्वी र पश्चिम तराइको वास्तबिकताबारे तथ्यगत जानकारी पनि थोरै रहेछ । यसको प्रमाण असफल “एक मधेश एक प्रदेश” भन्ने नारा हो । एक मदेश एक प्रदेश नारा जहाँबाट आए पनि, जसले बोके पनि, जसलाई बोकाए पनि समयले के प्रमाणित गर्‍यो भने नेपालको पूर्वी  र पश्चिम तराइ (एक दुई जिला बाहेक) सामाजिक मात्रै होइन राजनीतिक रुपले पनि बिलकुलै फरक धरातलमा उभिएका छन । त्यसैले गएका केही बर्ष नेपाली राजनीतिको केन्द्रमा रहन सफल एक मदेश एक प्रदेश को नारा अन्तत सप्तरीदेखि पर्सासम्म मात्रै सिमित हुन पुग्यो । अझ हेटौडादेखि नवलपरासी दाउन्ने बिचको भुभागमा त लगभग सुन्य नै भयो।

तराइको अधिकार प्राप्तिको आन्दोलन तराइकै मौलिकताबाट मात्रै सफल हुनेछ, न कि भारतको साथबाट ।  के कुरामा प्रस्ट हुनु जरुरी छ भने, तराइले आफ्नो अधिकार प्राप्तिको लडाईंमा जति-जति भारतलाई आमन्त्रण गर्छ चाहेर या नचाहेर त्यति-त्यति दलदलमा फस्दै जान्छ, गोटी बन्दै जान्छ ।

यस्तो पृष्‍ठभुमीमा पुर्वी र पश्चिम तराइलाई एउटै राजनीतिक मुद्दाले जोड्ने प्रयास भने पक्कै भए- जस्तै टिकापुरको घटना । तर, सोँचेजस्तो सफलता हात भने लागेन। अहिले हामी देख्न सक्छौ तराई केन्द्रित राजनीति ८-१० जिल्लामा गएर खुम्छेको छ र रमाइलो त अझ के छ भने लगभग ९० % तराइका नेताहरु त्यहीँ छन् । तसर्थ तराइले अधिकार प्राप्तिको आन्दोलनका नाराहरु तय गर्दा ईतिहासलाई मात्रै नहेरोस् ईतिहास त बादलीरहन्छ । अलिकती बर्तमानलाई पनि हेर्नु पर्‍यो, किनभने अरुको स्वार्थको लागि लादिएका राजनीतिक नाराहरुले  तराइको  भलो गर्दैन ।  यसको अर्थ पहाड बिभेद रहित स्वर्ग हो भन्न खोजेको पटक्कै होइन ।  मात्र के हो भने कम्युनल सोँचले हाम्रा छोरा छोरीहरु खुला समाजमा धेरै पर पुग्न सक्दैनन् ।

हिमालय भाईका हजुरबुवा र बुवा भन्नु हुन्थ्यो रे तराइको ठुलो सत्रु भारत हो, तराइको माया हुन्थ्यो भने किन एसएसबीले दु:ख दिन्थ्यो, किन सडक बाँध बनाएर तराइ डुबाउँथ्यो ? किन तराइकै भुमी र बाली हडप्थ्यो ? किन हुलाकी सडक पुरा गर्दैनथ्यो ? सायद हजुर बुवा र बुवा ठीक हुनुहुँदो रहेछ । नत्र आदिबासी तराइका जनताको अधिकार भन्दा धेरै अङिकृत नागरिकता र मुख्य जल सम्पदा पर्नै पर्ने गरी हुने सिमाङकनमा भारतको त्यात्रो चासो किन हुन्थ्यो होला र ? अहिले तराइका सर्वसाधारण जनतालाई पारीएको सबैभन्दा ठुलो भ्रम के हो भने भारत उनीहरुको अधिकारको निम्ती उभिएको छ ।

यथार्थमा नेपालमा सुरक्षा चासो बाहेक भारतलाई आवश्यक प्राकृतिक श्रोत पहाडमा धेरै छ र भारत पहाडीया सासक बर्गलाई फकाएर हुन्छ कि धम्काएर हुन्छ,तिनमा एकाधिकार जमाउन चाहन्छ। यो परिबेशमा तराइ, तराइका जनता र तिनका बिलुकुल जायज राजनीतिक आन्दोलन पनि भारतका लागि नेपाली सासकहरुसित बार्गैन गर्न प्रयोग गर्ने तुरुप मात्रै हो, भाँड मे जाए जनताका अधिकार ! हाम्रो तराइसित सिमा जोडीएका भारतका उत्तर प्रदेश र बिहारमा अवसर उपलब्धताको वास्तबिक अनुहार कस्तो डरलाग्दो छ भने-३६८ जना पियनको पदका लागि २३ लाख अबेदन पर्छन, जसमा २५५ जना पीएचडी गरेका हुन्छन । कामलाई सानो भन्न खोजिएको होइन तर दुई राज्यमा भएको लगभग ३० करोड जनसंख्यामा अवसर पाउनु निक्कै कठिन छ । यस्तो अवस्थामा १ प्रतिसतमात्रै पनि वारी पारी भयो भने नेपालको तराइका वास्तविक आदीबासीहरुको अवस्था के होला ? हिमालय राज जस्ता भाईहरु निश्चय नै आफ्नै भुमीमा राज्यले दिने अवसरबाट बन्चित हुन्छन । यस्तो परिबेसमा खुला सिमाना ब्यवस्थित गरौँ भन्ने कुरा अहिलेसम्म सुन्न नपाईनु पनि तराइको लागि दुर्भाग्य हो ।  फेरी तराइका आम जनताले बुझ्नै पर्छ- भारत आँफै पनि एउटा धार्मिक अतिबादीहरुको सामन्ती ब्यवस्था भएको राज्य हो, भारतमा अधिकार माग्न नाङिनु पर्ने अवस्था छ, मुस्लिम भएकै भरमा मारिनु परेको छ, महिला भएकै भरमा बलात्‍कृत हुनु परेको छ ।

तसर्थ तराइको अधिकार प्राप्तिको आन्दोलन तराइकै मौलिकताबाट मात्रै सफल हुनेछ, न कि भारतको साथबाट ।  के कुरामा प्रस्ट हुनु जरुरी छ भने, तराइले आफ्नो अधिकार प्राप्तिको लडाईंमा जति-जति भारतलाई आमन्त्रण गर्छ चाहेर या नचाहेर त्यति-त्यति दलदलमा फस्दै जान्छ, गोटी बन्दै जान्छ । जति-जति भारतसित नजोडी आन्दोलन अगाडि लान्छ उती चाँडो सफल हुन्छ । तर, यस्तो काम यी जमिन्दार नेताहरुबाट सम्भव छैन्, जसले तराइका जनताको नाममा आफ्ना छोरा ज्वाँई, छोरी, बुहारी, श्रीमती, सालाबाहेक अरु देख्दैन ।

राजेन्द्र महतोहरुले भाजपाको मेजमानीमा, जनताको अधिकार प्राप्तिको आन्दोलनलाई बर्गिय हुनबाट रोकेर  कम्युनल बनाउँदैछन्,  नत्र राजनाथले नेपालमा १ करोड भारतीय छन् भन्दा त्यसको बिरोधमा एक्लो बृहस्पती मातृका यादव मात्रै हुनु पर्दैन थियो ।

क्याम्पस पढ्दा तराइ मुलका विद्यार्थी माथि हुने बिभेद देख्दा, जाडो बिदामा घर जादा इटहरीदेखि पश्चिम लागेपछि महेन्द्र राजमार्गको छेउमा पातला बर्को ओढी भुसा बालेर आगो ताप्दै बसेका बस्तीहरु एक पछि अर्को गरी देख्दा, पक्कै समय आउँछ यी बस्तीहरु जुरुक्कै उठ्छन अधिकार प्राप्तिको लागि भन्ने आभास हुन्थ्यो । अहिले ठ्याक्कै त्यही भएको छ तर डर के लाग्दै छ भने राजेन्द्र महतोहरुले भाजपाको मेजमानीमा, जनताको अधिकार प्राप्तिको आन्दोलनलाई बर्गिय हुनबाट रोकेर  कम्युनल बनाउँदैछन् अनी अत्यन्तै विश्वाश गरिएका तराइका बुद्दिजिबीहरु पनि यो बिषय उठाउन कुन्नी किन हिच्किचाउनु भएको छ । नत्र राजनाथले नेपालमा १ करोड भारतीय छन् भन्दा त्यसको बिरोधमा एक्लो बृहस्पती मातृका यादव मात्रै हुनु पर्दैन थियो ।

यि मातृका तिनै हुन जसले भ्रस्ट्रचारी कर्मचारीलाई चर्पीमा थुने (मानव अधिकारका हिसाबले केही बहस हुन सक्छ), ति कर्मचारी पहाडीया मुलका थिए तर, कसैले पनि धोतीले पहाडीयालाई थुन्यो भनेन । प्रायः सबैले ‘भ्रस्ट्रचारीलाई थुनेर ठीक गरे’ भने । आज एक्लै भए पनि हामी भारतीय होइन भन्ने साहस गरे । अर्थात सही सोँचलाई सबैले सम्मान नै गर्छन । अन्य कुरा बिर्सेंर रेसियल कुरा मात्रै बोकेर हिड्दा एउटा बिन्दुमा तराईमा इन्टर-रेसियल डिस्क्रिमिनेसनलाई इन्ट्रा-रेसियल डिस्क्रिमिनेसनले प्रतिस्थापन गर्छ नै, त्यति बेला अहिले अधिकार नपाए “बाङ्लादेश” बनाउँछौ भन्ने तराइको नेतृत्वले पत्तो नपाई तराइको राजनीति “दक्षिण सुडान” तिर पुगि सकेको हुन्छ । अनी बेग्लै प्रदेशले मात्रै होइन बेग्लै देश नै बने पनि पटक्कै माने राख्दैन । अर्थात, लोग सुनेङे तो क्या कहेङे, चुतिया अशिकी के चक्कर मेमर गया और लौन्डिया भि नही मिली ।’

तसर्थ तराइको बुद्धिजिबी बृतले क्षणिक लाभ हानीका आधारमा आफ्नो दायित्व र अहम भूमिका नबिर्सियोस् । यी जमिन्दार नेताहरु जुनसुकै बेला पनि समाज बिभाजन गरेर गायब हुन सक्छन तर, समाज जोड्ने तपाईंहरुले नै हो । नेपाल राज्यलाई तराइ आन्दोलनले बेला-बेला झक्झयाउनै पर्छ नत्र राज्यले तराइलाई बिर्सिन्छ । तर, त्यो भन्दा पहिले तराइलाई तपाईंहरुको सही मार्गदर्शन चाहिएको छ न कि जनतालाई सडकमा ल्याएर अझै पनि  “सिंहदरबारमा आँखा र तराइमा खुट्टा” राख्ने अवसरबादी जमिन्दार नेताहरुको  ।

अन्त्यमा, हाम्रो राष्ट्रियताको सही व्याख्या होस, हिमालय भाईले भने जस्तो अधिकार प्राप्ति अनी आधुनिक नेपालको साँस्कृतिक एकिकरणको आन्दोलन देश भित्रैबाट सफल होस्, भारत जिल्ल परोस् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण