गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारपक्राउ परेका छोटा राजनको ‘नेपाल कनेक्सन’ यस्तो छ

पक्राउ परेका छोटा राजनको ‘नेपाल कनेक्सन’ यस्तो छ

October 27, 2015३४३ पटक

काठमाडौ, कात्तिक १० गते । भारतीय अन्डरवल्र्डका नाइके छोटा राजन करिब २० वर्ष फरार भएपछि आइतबार इन्डोनेसियाको बालीमा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को सहयोगमा राजनलाई इन्डोनेसियन प्रहरीले पक्राउ गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–राजेन्द्र सदाशिव निकाल्जी वास्तविक नाम भएका राजनको नेपालमा पनि धेरैवटा घटनामा कनेक्सन रहेको प्रहरी अधिकारी बताउँछन् । विभिन्न घटनाको अनुसन्धानमा राजन समूहको कनेक्सन देखिएको थियो । छोटा राजनको नेपाल कनेक्सन २६ माघ ०६६ मा लाजिम्पाटको सडकमा स्पेसटाइम नेटवर्कका मालिक जमिम शाहको दुई भारतीय सुटरले गोली हानी हत्या गरे । हत्याको केही समयमै भरत नेपाली नामका व्यक्तिले शाहद्वारा सञ्चालित च्यानल नेपालमा फोन गरी हत्याको जिम्मेवारी लिएका थिए ।Chota-rajan-300x225

शाह दाउद इब्राहिमसँग निकट भएको भन्दै हत्या गरिएको भरत नेपालीको दाबी थियो । नेपाली तिनै व्यक्ति हुन् जो दाउदका दुस्मन डन छोटा राजन समूहका एक प्रमुख सदस्य हुन् । छोटा राजनकै समूहले शाहको हत्या गरेको थियो । पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुली नेतृत्वको न्यायिक छानबिन समितिको प्रतिवेदनमा पनि छोटा राजन समूहले नै जमिमको हत्या गरेको उल्लेख छ । जमिम शाह मात्र होइन, नेपालका अरू धेरै हत्याकाण्डमा भारतीय अन्डरवल्र्डका नाइके छोटा राजन समूहको संलग्नता रहेको छानबिन समितिले देखाएको छ । मुम्बई अन्डरवल्र्डमा सुरुमा दाउदको समूहमा बसेर काम गरेका राजन सन् १९९३ को मुम्बई ब्लास्टपछि छुट्टिएका हुन् । राजन र दाउदको ग्याङवारमा नेपालीहरूको समेत हत्या हँुदै आएको छ । राप्रपाका पूर्वसांसद मिर्जा दिलसाद वेगको १५ असार ०५५ मा काठमाडौंको सिफलमा गोली हानी हत्या भएको थियो ।

सो घटनामा पनि छोटा राजन समूहको हात थियो । छानबिन समितिले पनि वेगले दाउदका लागि काम गरेको भन्दै छोटा राजन समूहले नै हत्या गरेको प्रतिवेदन बनाएको थियो । त्यस्तै, २६ फागुन ०६७ मा युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय नागरिक मनमित सिंहले गोली हाने । जमिमलाई हत्या गर्ने समूहले नै उनलाई गोली हानेको छानबिनमा खुलेको थियो । घन्टाघरमा इस्लामिक संघका महासचिव फैजान अहमदको हत्यामा पनि सोही समूहको संलग्नता देखियो । ९ असोज ०६८ मा अहमदको गोली हानी हत्या गरिएको थियो । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी अध्यक्षताको न्यायिक छानबिन आयोगले मिर्जा तथा जमिमलाई हत्या गर्ने समूहले नै अहमदको हत्या गरेको खुलाएको थियो । प्रहरीका अनुसार एक नेपाली युवकले छोटा राजनकै समूहमा रहेर काम गरेका थिए । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका कमलसिंह नेपाली छोटा राजनकै समूहबाट काठमाडौंमा मारिएका थिए । सुरुमा छोटा राजनको समूहका लागि काम गरेका उनी पछि दाउद समूहमा आबद्ध भएका थिए । दाउद समूहको निर्देशनमा पछि राजन समूहका बाल ढाप्रेको हत्या गरेको प्रतिशोधमा उनी २४ भदौ ०६३ मा बानेश्वरमा मारिएका थिए । उनका हत्यारा पनि पक्राउ परेका छैनन् । मिर्जाको हत्या योजना छोटा राजन आफैँले बनाएको र अन्त्यमा राजनका दाहिने हात मानिने बब्लु श्रीवास्तवले नेतृत्व गरेका थिए । भारतीय जेलमा रहेका उनलाई भारतीय सरकारले नै सहयोग गर्दै आएको आरोप छ । श्रीवास्तवको निर्देशनमा बब्लु भन्ने त्रिलोक सिंह, भरत नेपाली, हैदरलगायतका व्यक्तिले योजना बनाएर नेपालमा हाइप्रोफाइलको हत्या गर्दै आएका थिए ।

बब्लु श्रीवास्तवद्वारा लिखित पुस्तक ‘अधुरा ख्वाब’मा पनि जमिम, युनुस, मिर्जालगायतका व्यक्ति दाउदको सहयोगी भएको र उनीहरूलाई शत्रुका रूपमा उल्लेख गरिएको थियो । सुरुमा मुम्बईमा एउटै समूहमा काम गरेका दाउद र छोटा राजन सन् १९९३ बाट छुट्टिएका हुन् । सन् १९९२ मा राजनका निकट केही व्यक्तिको दाउदका सहयोगीले हत्या गरेपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो । पछि १९९३ मा दुई सय ५७ जनाको ज्यान जाने गरी मुम्बईमा भएको विस्फोटपछि दाउदसँग असहमत हुँदै राजन छुट्टिएका थिए । त्यसपछि दुई समूहबीच ग्याङवार चल्दै आएको छ । मुम्बई विस्फोटपछि दाउद भारतमा मोस्ट वान्टेड रहँदै आए पनि पक्राउ परेका छैनन् । दाउदलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप भारतले लगाउँदै आएको छ । राजनका सहयोगी बब्लु श्रीवास्तवले भारतीय प्रहरीकै सहयोगमा दाउदनिकट व्यक्तिहरूको हत्या गरेको भन्ने आरोप लाग्दै आएको छ । दाउदसँग मिलेर नक्कली नोटको कारोबार गरेको आरोपमा केही नेपालीको पनि बब्लुकै निर्देशनमा हत्या भएको छानबिन समितिहरूले बाहिर ल्याइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण