गृहपृष्ठ » खेलकुद, मुख्य समाचारम्याच फिक्सिङमा पक्राउ परेका कप्तान सागरले भने-हामी निर्दोष छौं

म्याच फिक्सिङमा पक्राउ परेका कप्तान सागरले भने-हामी निर्दोष छौं

October 27, 2015२२५ पटक

१० कात्तिक, काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय टोलीका निलम्बित कप्तान सागर थापाले आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।

असोज २७ गते पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई प्रहरीले म्याद थपका लागि मंगलबार विशेष अदालतमा उपस्थित गराएको छ ।

अदालत परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सागरले आफूहरु निर्दोष भएको दाबी गरे । उनले भने-हामीले देशका लागि १५/२० वर्ष खेल्यौं । हामीलाई अहिले तपाईहरुको साथ चाहिएको छ । हामी निर्दोष छौं ।’

उनले आफूहरुले आरोप स्वीकार नगरेको समेत बताए । सागरले आफूहरुलाई अहिले नै दोषीका रुपमा प्रस्तुत गरिएको भन्दै सञ्चार माध्यमहरुप्रति असन्तुष्टि समेत जनाएका छन् ।

उपकप्तान सन्दीप राईले अनुसन्धानका क्रममा रहेकाले त्यसपछि मात्र बोल्ने बताएका छन् ।

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई म्याद थपमा लागि अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए ।

म्याच फिक्सिङको आरोपमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको छ ।

पक्राउ पर्नेमा कप्तान थापासँगै उपकप्तान सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री तथा प्रशिक्षक अन्जन केसी छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण