गृहपृष्ठ » अन्तर्वार्ता, मुख्य समाचार, राजनीतिसामान्य प्रशासनमन्त्री रेखा शर्मालाई लालबाबु पण्डितका ७ सुझाव

सामान्य प्रशासनमन्त्री रेखा शर्मालाई लालबाबु पण्डितका ७ सुझाव

October 27, 2015६६८ पटक

-लालबाबु पण्डित, पूर्वसमान्य प्रशासनमन्त्री

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मैले सम्हाल्दा केही सुधारको प्रयास गरेँ । ती मध्ये केही सफल भए केही सुरुवात मात्रै गरेँ । नयाँ सामान्य प्रशासनमन्त्री रेखा शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेको भोलिपल्टै मलाई फोन गर्नुभयो । त्यसको लगत्तै उहाँ मेरो घरमा आएर २ घण्टा छलफल पनि गर्नुभयो । उहाँले सामान्य प्रशासन मन्त्रालयमा सुधार गर्नु पर्ने कुराहरु टिपोट पनि गर्नु भएको छ ।
उहाँसँग धेरै विषयमा कुराकानी भएको छ । मैले उहाँलाई पदमा रहँदा ध्यान दिनुपर्ने केही विषय सुझाएँ ।
१. सामान्य प्रशासन मन्त्रालयमा नयाँ मन्त्रीले धेरै गर्नुपर्छ जस्तो लाग्दैन । मैले जे जति ‘सिस्टम’ बसाएको छु, त्यसलाई नियमित गर्नुमात्रै भयो भने पनि उहाँले आफ्नो कार्यकाल सफलतापूर्वक व्यतित गर्नुहुनेछ भन्ने मलाई लाग्छ । डिभी÷पिआर सम्बन्धी ऐन पारित भइसकेको छ । कार्यान्वयनमा आइसकेको छ । त्यसलाई उहाँले निरन्तरता दिनु ठीक हुन्छ । सरकारी क्षेत्र र निजी क्षेत्र छुट्टयाउने काम पनि मेरै कार्यकालमा भइसकेको छ । त्यसमा उजुरीहरु आउँदा उहाँले कार्यान्वयन गर्नु पर्छ ।
२. निजामति कल्याण कोषको सुरुवात मैले गरेको छु । त्यसलाई अगाडि बढाउने काम उहाँले गर्दा राम्रो हुन्छ । राष्ट्रसेवक पूर्वविशिष्ट कर्मचारीहरुलाई सल्लाहकारको भूमिकामा राख्न समिति गठन भएको छ । त्यो समितिमा पूर्व मुख्य सचिव दामोदर गौतम हुनुहुन्छ । ११ जनाको समितिमा अन्य पूर्वविशिष्ट कर्मचारीहरु पनि हुनुहुन्छ । त्यो समितिलाई क्रियाशील बनाइराख्न पनि नयाँ मन्त्रीको भूमिका हुँदा राम्रो हुन्छ ।
३. मुलुक संघीयतामा गइसकेको छ । संघीयताअनुरुपको प्रशासकीय संरचनाका लागि ऐनको ड्राफ्ट बनाउन टिम बनाएको थिएँ । काम हुन बाँकी छ । त्यस्तै निजामति सेवा ऐनको पाँचौ संशोधनका लागि पनि टिम बनिसकेको छ । त्यसको पनि काम हुन बाँकी छ । प्रशासकीय सुधारका लागि काशीराज दाहालको संयोजकत्वमा बनेको समितिले दिएका सुझावअनुसार सुधारहरु क्रमशः गर्दै जान सकिन्छ । यसका लागि नयाँ मन्त्रीले तदारुकता देखाउनु होला भन्ने मलाई लागेको छ ।
४. मैले ग्रामिण क्षेत्रमा निरन्तर तीन वर्ष सेवा नगरेका कर्मचारीको कहिल्यै बढुवा नै नगर्ने नियम बनाउन खोजेको थिएँ । त्यस्तै आरक्षण कोटाबाट सरकारी सेवामा प्रवेश गर्नेहरुको उमेरहदसम्बन्धी व्यवस्थामा समानता ल्याउने प्रयास गरेँ । समयाभावका कारण त्यो भ्याइन । उहाँले त्यसलाई अघि बढाउनुभयो भने धेरै राम्रो हुनेछ ।
५. मेरो कार्यकालमा पाँच वटा त मुद्धा पनि खेपे । पाँचवटै मुद्धा जितेँ । पारदर्शी भएर कुनै स्वार्थ नराखी काम गर्नुपर्छ गलत नियत भएका मानिसहरु आफै पाखा लाग्छन् । आफ्नो नियत सफा भएपछि कसैसँग डराउनु पर्दैन । मुद्धा मामिलाबाट पनि डराउन आवश्यक छैन । आफूले गरेको काम सही भएपछि अदालतले पनि सही नै मान्छ । न्याय पाइन्छ ।
मन्त्रालयमा कामबिनाका मानिसहरु पनि आइरहँदा रहेछन् । मेरो सचिवालयमा मैले काम बिनाको मान्छे चार पटकभन्दा बढी आयो भने त्यसको रिपोर्ट राख्नु र मलाई बुझाउनु भनेँ । त्यसपछि अनावश्यक मान्छे आउनै छाडे । सचिवालयका कर्मचारीहरुका लागि पनि नियम बनाएको थिएँ । बाहिरी मान्छेको निमन्त्रणामा उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न यदि चिया मात्रै खाउँ भन्छ भने पनि नखानू भनेर निर्देशन दिएँ ।
आफ्नो स्वार्थ पूरा गर्न सचिवालयका कर्मचारीलाई खानपिन गरौं, रमाइलो गरौं भन्नेहरु धेरै हुँदा रहेछन् । मै भएठाउँ पनि त्यस्ता मान्छेहरु आएका थिए । तर त्यो केही दिनमै रोकियो । मन्त्रालयमा हुने अनावश्यक क्रियाकलाप रोक्न सिसी क्यामेरा जडान नै गर्नुपर्यो ।
६. मन्त्रीभएपछि आफ्नै पार्टी निकट पेशागत संघ संगठन, संस्थाहरुका प्रतिनिधिहरुको सक्रियता पनि बढ्छ । धेरै मन्त्रीहरु यहि मामिलामा चुक्छन् । निजामति सेवामा सबैभन्दा ठूलो संगठन एमालेकै छ । तर मैले एमाले निकट कर्मचारी संगठनलाई कहिले पनि प्राथमिकतामा राखिन । उनीहरुसँग समान व्यवहार गरेँ । किनभने म एमालेबाट मन्त्री भए पनि मन्त्री पद भनेको एमालेका कार्यकर्ता वा कर्मचारीको मात्रै होइन । मन्त्री सबै जनताको र राष्ट्रको हुनु पर्छ ।
कर्मचारीहरुले भने कि, ‘तपाई कर्मचारीको मन्त्री, हाम्रो लागि तपाईले नगरे कसले गर्छ ? ’ मैले उनीहरुलाई जवाफ दिएँ, ‘म राष्ट्रको मन्त्री हो । नेपालको जनसंख्यामा निजामति कर्मचारीको संख्या जति प्रतिशत हुन्छ, त्यति प्रतिशत मात्रै म तपाईहरुको मन्त्री हो । यदि निजामति कर्मचारी पूरा जनसंख्याको १ प्रतिशत हो भने म तपाईहरुलाई १ प्रतिशत मात्रै महत्व दिन्छु, ९९ प्रतिशत चाहिँ जनतालाई महत्व दिन्छु ।’
यति भनेपछि कर्मचारी संगठनका नेताहरु मसँग अनावश्यक कुरामा विवाद गर्न छाडे । साउन महिनामा सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा लाग्ने मेला त मैले सुरुको वर्षमै अन्त्य गरिदिएँ ।
७. मन्त्रीहरुको धेरै समय सामान्य खुद्रा काममा खर्च हुन्छ । मूल कुरामा मन्त्रीहरुले ध्यान नै दिदैनन् । मन्त्री भएपछि मूल मुद्धामा ध्यान केन्द्रीत गर्नुपर्छ ।
मन्त्री भएर सफल हुन, जनताको सेवा गर्न, आफ्नो पार्टीको उचाई बढाउन धेरै गाह्रो छैन । अति सजिलो पनि हैन । इमान्दारीपूर्वक जनताको पक्षमा अडानका साथ काम गर्यो भने जनताले विश्वास गर्छन् । मन्त्री पदको गरिमा बढ्छ ।
यदि यस्ता कुराहरुलाई नयाँ मन्त्री रेखा शर्माले आत्मसात गर्नुभयो भने निश्चय पनि उहाँ सफल हुनुहुनेछ । उहाँलाई जनताले सम्मान गर्ने छन् ।
(पण्डितसँगको कुराकानीमा आधारित)

काठमाण्डौ टुडेबाट ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण