चौरीको रगत पिउने मेला शुरु
मुस्ताङ, २२ साउनरजिल्लाको जोमसोम गाविसस्थित नमखु लेकमा चौँरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ । स्थानीय किसानको आयोजनामा सुरु भएको मेलामा रगत पिउन मुस्ताङका विभिन्न गाविसबाट सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । उच्च हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, ग्याष्टिक, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने विश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसान भूपिन शेरचनले जानकारी दिए । उनका अनुसार, हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगतले शारीरिक स्फूर्तिसमेत बढ्छ । ‘हामीले चौँरीगाईको रगत प्रतिगिलास रु १५० मा बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ’–उनले भने । किसानहरूले पालेका करिब दुई सय चौँरीगाईबाट रगत निकालिने उनीहरूले जनाएका छन् । एउटा चौँरीगाईबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ । मेला यही साउन २२ गते सकिने छ ।