गृहपृष्ठ » मुख्य समाचार, राजनीतिविद्या भण्डारी : मानेभञ्ज्याङदेखि शीतलनिवाससम्म

विद्या भण्डारी : मानेभञ्ज्याङदेखि शीतलनिवाससम्म

October 28, 2015१५१ पटक

एमाले उपाध्यक्ष विद्या भण्डारी गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपतिमा चयन भएकी छन् ।

व्यवस्थापिका संसदको बैठकबाट सभामुख ओनसरी घर्तीले उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिन् । राष्ट्रपति निर्वाचनमा आजै गोप्य मतदान भएको थियो । निर्वाचनमा कूल ५४९ मत खसेकोमा उनले मत ३२७ प्राप्त गरिन् भने निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार कुलबहादुर गुरुङले २१४ मत प्राप्त गरे ।

विद्यादेवी भण्डारी राष्ट्रपति

भण्डारीको विसं २०१८ साल असार ५ गते भोजपुरको मानेभन्ज्याङ गुराँसेमा भण्डारीको जन्म भएको हो ।
बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारी नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुन् ।
२०३–३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले २०३७ सालदेखि तत्कालीन नेकपा मालेमा सङ्गठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आएकी छन् ।
२०३९ सालमा जननेता कमरेड मदन भण्डारीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी भण्डारी २०५० माघमा भएको उपनिर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतकासाथ विजयी बनेकी थिइन् ।
२०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेलेकी थिइन् ।

उनी पुनःस्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने सङ्कल्प प्रस्तावका प्रस्तावक थिइन् ।
रक्षा मन्त्रालय जस्तो चुनौतीपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने पहिलो महिला मन्त्रीका रूपमा स्थापित उनीसँग वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकोसमेत अनुभव छ ।
२०५४ सालदेखि अखिल नेपाल महिला सङ्घको अध्यक्षका रूपमा नेपाली महिला आन्दोलनको अगुवाइ गर्दै आएकी उनीसँग ट्रेड युनियन आन्दोलनको समेत अनुभव छ । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भएकी उनी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष ओहदामा निर्वाचित भएकी थिइन् ।

नेपालको संविधान निर्माणमा पार्टीका तर्फबाट उनले महत्वपूर्ण योगदान गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण