सवारीमा मनपरि भाडा असुल्नेमाथि कारवाहीको माग गर्दै प्रशासनमा उजुरी ।।
सवारीमा मनपरि भाडा असुल्ने माथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा उजुरी परेको छ । इन्धन अभावको कारण देखाएर लामो तथा छोटो दुरीमा सञ्चालन हुने सवारीमा मनपरि भाडा असुल्ने यातायात व्यवसायीहरु माथि कारवाही गर्न माग गर्दै स्थानियले प्रशासनमा उजुरी दर्ता गरेका हुन् । जिल्ला भित्र तथा जिल्ला बाहिर चल्ने सवारीले दोब्बर भाडा असुल्ने र नियमित रुपमा गाडी नचलाई रिर्जभमा मात्र जीप तथा बस चलाएपछि कारवाही गर्न माग गर्दै निवेदन दर्ता गरिएको हो । निसंखे, रभुवा, खानीभञ्ज्यांगका यात्रुले एक सय ८० रुपैयाँ भाडा भए पनि बसमा पाँच सयसम्म र जीपमा आठ सयसम्म भाडा लिएपछि ठूलाछापका दीपककुमार फुयाँल लगायतले लिखित उजुरी गर्नु भएको हो । स्थानीय प्रशासनले अनुगमन नगर्दा व्यवसायीले इन्धन अभाव भन्दै बढी पैसा दिए जुन ठाउँमा पनि गाडी चलाउने तथा रिर्जभ भनेर तेब्बरसम्म रकम असुल्ने गरेका छन् ।