गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारबोको हरामले बन्धक बनाएका ३३८ जना रिहा

बोको हरामले बन्धक बनाएका ३३८ जना रिहा

October 28, 2015२४९ पटक

कार्तिक ११ । नाइजेरियाली विद्रोही समूह बोको हरामद्वारा बन्धक बनाइएका ३३८ जनालाई नाइजेरियाको सेनाले उक्त समूहको नियन्त्रणबाट सकुशल मुक्त गराएको यहाँको सेनाले बुधबार जनाएको छ ।

सेनाले बोको हराम नियन्त्रित नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रोनोको सम्बिसा जङ्गल क्षेत्रलाई घेरा हाली मङ्गलबार सकुशल रिहा गराएको बताएको छ ।

बन्धकबाट रिहा भएकामध्ये १९२ केटाकेटी, १३८ महिला र आठ जना पुरुष रहेको सेनाद्वारा बुधबार प्रेषित एक वक्तव्यमा जनाइएको छ ।

घेरा हाली बन्धकलाई रिहा गराउने कारबाहीका क्रममा ३० जना बोको हराम लडाकूको समेत मृत्यु भएको वक्तव्यमा जनाइएको छ ।

रिहा गरिएका सबै बन्धकलाई अहिले सेनाले ब्रोनोको मुवी सहरमा राखिएको छ । निश्चित प्रक्रियापछि बन्धक मुक्त गरिएका नागरिक आफन्तजनलाई हस्तान्तण गरिने सेनाले बताएको छ ।

नाइजेरियामा बोको हरामका बढ्दो हिंसात्मक गतिविधि देखिएसँगै सन् २०१५ को डिसेम्बरभित्र बोको हराम समूहका गतिविधिलाई नियन्त्रणमा ल्याउन नाइजेरियाली राष्ट्रपति मुहमदु बुहारीले निर्देशन दिएका छन् ।

यसैअनुरुप सेनाले बोको हराम समूहविरुद्ध आफ्ना गतिविधिलाई तिब्रता दिएको हो । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण