गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार१२ अर्बको सामान बन्दरगाहमा अलपत्र

१२ अर्बको सामान बन्दरगाहमा अलपत्र

October 29, 2015२५१ पटक

वीरगन्ज: मधेश केन्द्रित दलको बन्दहडताल र भारतको नाकबन्दीका कारण वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहा (ड्राइपोर्ट) मा करिब १२ अर्ब मूल्य बराबरको मालसामान अलपत्र परेको छ।
नेपालका लागि तेस्रो मुलुक र भारतबाट रेल मार्गभएर आयात गरिएका सामान एक महिनादेखि अलपत्र छन्। ड्राइपोर्ट भन्सार कार्यालयका निमित्त प्रमुख हरिहरप्रसाद पौडेलले बन्दहडताल र नाकाबन्दीका कारण ड्राइपोर्टमा करिब १२ अर्ब रुपैयाँको सामान एक महिनादेखि थन्किएर बसेको जानकारी दिए।
उनका अनुसार ड्राइपोर्टमा झण्डै एक लाख १३ हजार मेट्रिक टन सामान थन्किएको छ। ड्राइपोर्टमा फलाम ८२ हजार मेट्रिक टन, रासायनिक मल ३० हजार मेट्रिक टन (६ लाख ५९ हजार ६ सय ४० बोरा) र मकै दुई हजार पाँच सय मेट्रिक टन एक महिनादेखि थन्किएको छ।
यस्तै विदेशी मदिरा, काठका फर्निचर, कपडाका कच्चा पदार्थ, भटमासको पिना र विद्युतीय सामग्री पनि ढुवानी हुन नसकेका कारण ड्राइपोर्टमै अलपत्र अवस्थामा छ।सिर्सिया ड्राइपोर्टमा मालसामान भण्डारणका लागि ठूला दुई र साना तीन गरी पाँचवटा गोदाम छन्।
बन्दहडतालका कारण ढुवानी गर्ने साधन नचलेकाले पाँचवटै गोदाम आयात भएका सामानले खचाखच भरिएका छन् । गोदाम भरिएका कारण फलाम, रासायनिक मल र मकैका बोरा खुल्ला स्थानमा चाङ लगाएर राखिएको छ।
ड्राइपोर्ट परिसरमा एक हजारभन्दा बढी कन्टेनर पनि थन्किएका छन्। बन्दहडतालका कारण ढुवानी ठप्प रहेकाले ड्राइपोर्ट परिसरमा तेस्रो मुलुक र भारतबाट आयात गरिएका सामान सहितका एक हजार ७३ वटा कन्टेनर थन्किएर बसेको निमित्त प्रमुख पौडेलले बताए।
भारतको कोलकत्ता बन्दरगाहामा पनि तेस्रो मुलुकबाट नेपालका लागि आयात गरिएका सामानका ६ सयवटा कन्टेनर एक महिनादेखि रोकिएको पौडेलले जानकारी दिए। उनका अनुसार बन्दहडतालले सवारीसाधन पूर्णरूपमा ठप्प रहेका कारण उद्योगी व्यपारीले नै ती कन्टेनर उतै रोकेर राखेका हुन्।
ड्राइपोर्टमा झण्डै एक लाख १३ हजार मेट्रिक टन सामान थन्किएको छ।
संविधान निर्माणप्रति असन्तुष्ट मधेसी दलले साउन ३० गतेदेखि अनिश्चितकालीन बन्दहडताल र असोज ७ गतेदेखि वीरगन्ज रक्सौल नाकाको दसगजा क्षेत्रमा दिनरात धर्ना दिएर नाकाबन्दी गर्दै आएका छन्।
बन्दहडतालको अवधिमा वीरगन्जबाट स्थानीय प्रशासनले प्रहरीको स्कर्टिङमा मालसामान विभिन्न गन्तव्यमा पठाउँदै आएको थियो। तर, मधेसी दलले नाकाबन्दी सुरु गरे यता भने वीरगन्जमा कुनै पनि मालवाहक गाडी चलेका छैनन्।
‘बन्दहडतालको अवधिमा प्रहरीको स्कर्टिङमा सामान पठाउने गकरिन्थ्यो’, उनले भने,‘तर नाकाबन्दी सुरु भएपछि गाडी नै ठप्प भएकाले ड्राइपोर्टमा आएका सबै कन्टेनर र सामान रोकिएका छन्। असुरक्षाका कारण ढुवानी व्यवसायीले गाडी चलाउन नमानेका कारण सामान थन्किएको उनले बताए।
नारायणी फुलट्रिप ढुवानी व्यवसायी संघका अध्यक्ष प्रमोद श्रेष्ठले सामान लोड गर्ने मजदुरको अभाव र असुरक्षाका कारण ड्राइपोर्टका सामान ढुवानी गर्न गाडी नपठाएको बताए। उनले भने, ‘न त स्कर्टिङको व्यवस्था छ, न त सामान लोड गर्ने मजदुर नै छन्।’
दुई साता पहिले मल ओसार्नका लागि ड्राइपोर्टमा पठाएका ट्रकहरू मजदुर नभएका कारण नौ दिन पछि रित्तै फर्काउनु परेको श्रेष्ठले बताए।वीरगन्ज नाकाबाट कारोबार गर्ने व्यापारीले मधेसी दलले गरेको आन्दोलनका कारण ट्रक र कन्टेनरको विलम्ब शुल्कको नाममा करिब दुई अर्ब रुपैयाँ विदेशी कम्पनीलाई तिर्नु परेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका वीरगन्जका उद्योगी विजय सरावगिले मधेस आन्दोलनका कारण उद्योगी व्यपारीले ट्रक र कन्टेनरको विलम्ब शुल्क बापत झण्डै दुई अर्ब रुपैयाँ विदेशी कम्पनीलाई तिर्नु परेको बताए।
सिर्सिया ड्राइपोर्टमा एक हजारभन्दा बढी र सीमावर्ती भारतीय सरहको बाटोमा रहेका दुई हजार कन्टेनरको विलम्ब शुल्क मात्र नेपाली उद्योगी व्यापारीले दुई अर्बभन्दा बढी तिर्नु पर्ने अवस्था छ।
नेपालका लागि मालसमान लिएर आउने कन्टेनरलाई भारतीय सिपिङ कम्पनीले १४ दिनको समय छुट दिने गरेको भए पनि आन्दोलनका कारण बढी समय लागेकाले विलम्ब शुल्क तिर्नु पर्ने बाध्यता रहेको सरावगीले जानकारी दिए।
साढे दुई महिनामा दुई अर्ब ५० करोडको घाटा मधेस आन्दोलनका कारण सिर्सिया ड्राइपोर्ट भन्सार कार्यालयलाई साढे दुई महिनामा करिब दुई अर्ब ५० करोड रुपैयाँ घाटा लागेको छ। बन्दहडताल र नाकाबन्दीका कारण ढुवानीका साधन सञ्चालनमा नआएकाले भारत तथा तेस्रो मुलुकबाट आयात गरिएको मालसामान ढुवानी हुन नसकी भन्सारमै थन्किएका कारण राजस्व असुलीमा पनि असर परेको छ।
पौडेलका अनुसार भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई भदौ महिनामा एक अर्ब ५२ करोड १३ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य दिएको छ । तर, भदौमा ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्यको ५२ प्रतिशत अर्थात ७९ करोड ५७ लाख ८० हजार रुपैयाँ मात्र संकलन गरेको छ।
असोजमा भन्सार कार्यालयले लक्ष्यको सात प्रतिशत अर्थात नौ करोड ४४ लाख २५ हजार संकलन गरेको छ। विभागले असोज महिनाका लागि एक अर्ब ३४ करोड २३ लाख ५२ हजार संकलन गर्न लक्ष्य दिएको थियो।
कात्तिक महिनामा विभागले एक अर्ब ४३ करोड १८ लाख ४३ हजार लक्ष्य दिएकोमा कातिक १० गते सम्ममा २७ लाख रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ।अन्नपुर्णमा खबर छ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण