गृहपृष्ठ » मुख्य समाचार, समचारयसरी बन्न सक्छ केरुङबाट बेत्रावतीसम्म तेलको पाइपलाइन

यसरी बन्न सक्छ केरुङबाट बेत्रावतीसम्म तेलको पाइपलाइन

October 30, 2015१२७ पटक

kerung-to-betrawati
१३ कात्तिक, काठमाडौं । चीनबाट नेपालले व्यवसायिक रुपमा इन्धन खरिद गर्ने समझदारी भइसकेको छ । भारतले अघोषितरुपमा लगाएको नाकाबन्दी एक महिनासम्म जारी रहेपछि बुधबार नेपालले चीनबाट इन्धन ल्याउने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसकेको छ ।

यो सहमतिले वषौंदेखिको भारतीय इन्धनको एकाधिकार तोडिएको छ । तर, चीनबाट इन्धन ल्याउने विषय भारतको भन्दा सजिलो छैन भन्नेहरु पनि धेरै छन् ।

भौगोलिकरुपमा सीमाक्षेत्रमा फैलिएको हिमश्रृङ्खला र उच्च पहाडी क्षेत्रका कारण चीनको इन्धन नेपाल ल्याउने विषयलाई महत्वाकांक्षा मान्ने पनि छन् ।

उनीहरु चीनका नाकाहरु जोड्ने भौगोलिक मार्गहरुको असहजतालाई चीनसंग इन्धन किन्ने योजनाको बाधक मान्छन् । उनीहरुको तर्कजस्तै चीनका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी नाका पुग्ने सडकहरु वषर्ाका समयमा प्रायः बन्द हुने गरेका छन् ।

बीच-बीचमा पर्ने ठूला-ठूला पहिरोले चीनसंगको ब्यापार प्रभावित हुने गरेको छ । सडकको समस्या घटाउन गर्न सकिने प्रयासहरु एकातर्फ होलान् तर, सडकबाहेक अन्य कुनै विकल्पटबाट चीनबाट तेल आउन सक्दैन ?

सडकको विकल्प के ?

कतिपय भूगर्भविद र विज्ञहरु चीनतर्फको भौगोलिक बनावटकै फाइदा उठाएर सजिलै चीनबाट तेल ल्याउन सकिने बताउँछन् । उनीहरु नेपाल र चीनबीच पेट्रोलियम पाइपलाइन बनाउने हो भने भारतबाट भन्दा कम लागतमै तेल ल्याउन सकिने रुसुवा उद्योग बाणिज्य संघका अध्यक्ष कैसाङ तामाङले बताए ।

भारतको रक्सौलबाट बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति भइसकेको छ । तर, पाइपलाइनमै तेल ल्याउने हो भने भारत भन्दा चीनबाट सहजै तेल र ग्यास ल्याउन सकिने देखिएको छ ।

अहिले चीनले अनुदानको तेल केरुङबाट दिँदैछ । तर, केरुङसम्म चीनको पेट्रोलियम पाइपलाइन छैन । चीनले ल्हासासम्मको पेट्रोलियम पाइपलाइन सिगात्सेसम्म ल्याउने योजना बनाएको छ । अहिले ल्हासासम्म पाइपलाइनमा आएको तेल रेल र ट्यांकर मार्फत ढुवानी गरी चिनियाँ क्षेत्रमा वितरण गर्ने गरिएको छ । यदि नेपालले चीनलाई निश्चित प्रतिशत तेल र ग्यासको बजार दिने ग्यारेन्टी गरेमा चीनले सिगात्सेसम्म पेट्रोलियम पाइपलाइन तीव्ररुपमा विकास गर्नैपर्छ ।

व्यवसायिक रुपमा तेल कारोबार भएमा सिगात्सेबाट चीनले कुनै रुपमा तेल केरुङसम्म ल्याएर बिक्री गर्ने योजना बनाउनेछ । यहीअनुरुप नेपालले केरुङबाट बेत्रावतीसम्म पाइपलाइन विकास गर्ने हो भने भौगोलिक कारण कुनै पनि किसिमको अप्ठेरो नपर्ने भुर्गभविद प्रमोद सिंखडा बताउँछन् ।

यसरी बन्न सक्छ केरुङबाट बेत्रावतीसम्म पाइपलाइन

चीनको केरुङ भौगोलिकरुपमा नेपाली भूगाग भन्दा उच्च स्थानमा छ । केरुङ समुन्द्री सतहबाट १८ सय २० मिटरको उचाइमा छ । यदि केरुङमा चीनले तेल डिपो खडा गरेर त्यहाँबाट पाइपलाइन बनाउने हो भने स्याफ्रुबेसी हुँदैै बेत्रावतीसम्म सहजै इन्धन आइपुग्नेछ । खोलाको किनारै किनार पाइपलाइन ल्याएमा गुरुत्वाकर्षणकै भरमा तेल बेत्रावतीसम्म आइपुग्ने अध्यक्ष तामाङले दाबी गरे ।

रसुवाको स्याफ्रुबेसी समुन्द्री सतहबाट १४ सय ९० मिटरको उचाइमा छ भने बेत्रावती ७ सय ६० मिटरमा छ । चीनको केरुङबाट बेत्रावतीसम्मको उचाइ निरन्तर घट्दो छ ।

केरुङबाट खोला/खोल्सा हुँदै बेत्रावतिसम्म पाइपलाई बिछ्याउने हो भने कुनै पम्पिङको आवश्यक्ता नहुने भूगर्भविद सिंखडाले पुष्टि गरे । केरुङबाट स्याफ्रुबेसी १४ किलोमिटरको दुरीमा छ भने स्याफ्रुबाट बेत्रावती २९ किलोटिरको दुरी छ ।

यसरी झण्डै ४५ किलोमिटर पाइपलाइन बनाउने हो भने चीनको तेल नेपाल सहजै आउन सक्छ । अहिले बनाउने भनिएको भारतसँगको पाइपलाइन पनि ४१ किलोमिटर लामो हुनेछ । रक्सौलबाट अमलेखगञ्जमा पाइपलाइन बिछ्याउँदा पम्पिङ सेट अनिवर्य हुन्छ ।

किनभने रक्सौल सुमुन्द्र सतहबाट ८० मिटरको उचाइमा छ भने अमलेखगञ्ज झण्डै १ सय ५० मिटरमा अवस्थित छ । यसरी पनि चीनसँगको पाइपलाइन भारतको भन्दा सस्तो र सहज हुने देखिएको छ । यदि बेत्रावतीमा डिपो बनेमा ८० किलोमिटरको सडकमार्गबाट काठमाडौंमा इन्धन भित्रिने छ । तर, पाइपलाइन बनाउने पाटोमा सरकारी पहलकदमी भने जरुरी पर्नेछ ।

अनलाईन खबर बाट । 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण