नेपालगन्जमा नाका अवरोध गर्नेलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाए
बाँके, १३ कात्तिक– नेपालगन्ज–रुपैडिहा नाकामा अवरोध गरिरहेका मधेसी मोर्चाका नेताहरूलाई सर्वसाधारणले दशगजामा घेरा गरी वारि ल्याएर प्रहरीको जिम्मा लगाएपछि सीमामा तनाव भएको छ ।
इन्धन र देनिक उपभोग्य वस्तु खरिद गर्न रुपैडिहा जान नपाएको आक्रोशित भीडले उनीहरूलाई घेरेर नियन्त्रणमा लिएको हो । आन्दोलनकारी अगुवाहरूलाई दशगजाबाट तानेर वारि ल्याउने क्रममा हातपातसमेत गरिएको मोर्चाको आरोप छ ।
भीडको नियन्त्रणबाट मोर्चाका नेताहरूलाई छुटाउन प्रहरीलाई हम्मे परेको थियो । मोर्चाका कार्यकर्ताले नाकामा धर्ना दिएर सवारी आउजाउ बन्द गराएका थिए । जमुनाहामा जम्मा भएका युवाहरूले सर्वसाधारणलाई दुःख नदिन मोर्चाका नेतालाई सुझाव दिइरहेका थिए । नेपालगन्जमा आन्दोलन गरे आफ्नो समर्थन रहने दाबी उनीहरूले गरिरहेका थिए । तर, मोर्चाका कार्यकर्ताहरूले अवरोध कायम राखेपछि आक्रोशित भीडले प्रतिकार गरेको सीमास्थित जमुनाहा प्रहरीले जनाएको छ ।
–कान्तिपुर दैनिकबाट