खुसी, सपना सबै कोमाभित्र
खुसी, सपना सबै कोमाभित्र
पारिपट्टि १० हजार फिट अग्लो गजधम्म उभिएको घुम्टे पहाडमा जसरी बादलका झुप्पा लुकामारी खेलिरहन्छन्, त्यसैगरी कृष्णकुमारी विकको मनभित्र पीडाहरू उकुसमुकुस मडारिरहन्छन् । प्रसिद्ध घुम्टेको शिखरमा सूक्ष्म देखिने सिद्ध भैरवको मन्दिरलाई उनी सोधिरहन्छिन्, ‘मेरो खुसी कहिले फर्किएला ?’ जवाफ कतैबाट नआएपछि उनको आँखा रसाउँछ । कसैले नदेख्ने गरी तप्प आँसु खसाल्छिन् । पछ्यौरीले पुछ्दै काम गर्न थाल्छिन् ।
गाउँघरमा हरियाली छाएको छ । घरअघि सयपत्री र मखमली फक्रँदैछन् । भर्खरै दसैं विदा भयो । तिहार आउँदैछ । चाडवाड, रमाइलो बाहिरी वातावरणसँग उनी रमाउन सकेकी छैनन् । उनको मन भने खडेरीजस्तै सुक्खा छ । कुनै पनि चाड नआइदिए हुन्थ्यो जस्तो लाग्छ, कृष्णकुमारीलाई ।
…
२०६८ मंसिर १६ शुक्रबार ।
बेलुका ८ बजे कृष्णमायाको मोबाइलमा रिङ बज्छ ।
‘घरमा सबै सन्चै छौ ?’
‘हामी सबै ठिक छौं । तपाईंलाई कस्तो छ ?’ उनको जवाफ ।
‘म ठिक छु । पूर्वतिरको साथी छुट्टीमा घर आउँदै छन् । म तिमीहरूलाई केही सामान पठाउन एयरपोर्ट जाँदै छु ।’ श्रीमान्–श्रीमतीको सुखदुःखका संवाद पाँच मिनेटसम्म चल्छ । बागलुङको हरिचौर भुजुङ्गेबाट पैसा कमाउन कतार गएका गिरीप्रसाद विकले घरमा कोसेली पठाउने जानकारी दिँदा श्रीमती कृष्णकुमारी मनमनै निकै हर्षित हुन्छिन् ।
श्रीमान्ले विदेशबाट पठाइदिने सामानको प्रतीक्षामा उनी खुसीले फुरुंग भइहालिन् । बाँकी मनका कुरा अर्को दिन सुनाउने वाचाका साथ उनी फोन राख्छिन्। सात समुद्रपारि रहेका श्रीमान्लाई जोड्ने माध्यम त्यही मोबाइल थियो । मनमा असंख्य कुरा थिए । एक छिन फोनमा कुरा गर्दैमा मनका सबै कुरा कहाँ सकिन्छ र ! पोख्न मन लागेका कुरा मन भित्रभित्रै लुकाएर राखिन् ।
२०६४ सालमा श्रीमान् कतार पुगेपछि घरमा छोरी जन्मिएकी थिइन् । श्रीमान्को अभावमा छोरीको आगमनले कृष्णकुमारीको घर उज्यालो भएको थियो । छोरीको अनुहार बाबुको जस्तै भएको फोनमा बताइरहन्थिन् । सम्भव भए दुई–तीन दिनको फरकमा कुराकानी हुन्थ्यो । कमाउन गएका श्रीमान् र छोराछोरीको भविष्य सम्झँदै भित्रभित्रै रमाउँथिन्, कृष्ण ।
त्यसपछि दुई दिनसम्म पनि उनको मोबाइलमा घन्टी बजेन । तीन दिन बित्यो अझै श्रीमान्को फोन आएन । कति प्रयास गर्दा पनि सम्पर्क नभएपछि उनी अत्तालिइन् । तीन दिनपछि सामान्य बिरामी भएको खबर आयो । कतारमै रहेका आफन्त चन्द्रबहादुर विकसँग सम्पर्क भएपछि एकै साधमा सोधिन्, ‘के भयो ?’
एयरपोर्टमा घर पठाउने सामान पु¥याएर डेरा फर्कंदै गर्दा दुर्घटनामा परेको सामान्य खबर त पाइन्, ‘पापीको मन परचित्त’ भनेझैं उनको मनले पत्याउनै दिएन । कतारमा रहेका चिनजानका सबैलाई फोन गर्न थालिन् । बल्लबल्ल सही समाचार प्राप्त भयो, ‘टाउकोमा चोट लागेकाले श्रीमान् गिरीप्रसाद आइसियुमा छन् ।’
तीन दिनअघि सामान पठाइदिने कुरा गरेका श्रीमान् अस्पतालमा रहेको कुरा सुन्दा कृष्णकुमारीलाई भाउन्न भयो । आँखैअगाडिको घुम्टे पहाड फनफनी घुम्न थाल्यो । चारैतिरका पहाड अँध्यारो देख्न थालिन्, उनले । मनमा सँगालेर राखेका आशाहरू छताछुल्ल भए । छोराछोरीको भविष्य अन्धकार दखिन् । होस हरायो उनमा, अन्ततः पिँडीमै गर्लम्म ढलिन् ।
त्यसयता न उनले आफ्नो मनका कुरा श्रीमान्लाई सुनाउन पाएकी छिन्, न त श्रीमान्को बोली नै । श्रीमान् कतारको अस्पतालमा ‘कोमा’मा छन्, उनी यता गाउँमा दुखजिलो गरेर छोराछोरी हुर्काउँदै छिन् । तर, श्रीमानकै सम्झनाले पिछा गर्न छाडेको छैन ।
साथीमार्फत घरमा केही सामान पठाएर एयरपोर्टबाट डेरा फर्कंदै गरेका गिरीप्रसाद बाटो काट्ने क्रममा दुर्घटनामा परे । उनलाई तत्काल अस्पताल पु¥याइयो। आइसियुमा राखी उपचार भयो। तीन महिनापछि आँखा त खोले । तर, उनी बोल्न–चल्न नसक्ने भए । उता उनको शरीरमात्रै कोमाभित्र छ, यता परिवारको भने सिंगो खुसी नै कोमाभित्र पुगेझैं भएको छ।
…
भदौ अन्तिम साता हरिचौर– १, भुजुङ्गे पुग्दा कृष्णकुमारी आँगनमा टोलाएर बसिरहेकी थिइन् । छोरी भने हजुरबुबाले बाटेको डोरी समाएर स्किपिङ खेल्दै थिइन् । गिरीप्रसादकी दिदी बोल्न सक्दिनन् । उनी गोठमा भैंसीलाई घाँस दिँदै थिइन् भने बुबा दलबहादुर चुरोटको धुँवा उडाउँदै पारि क्षितिजतिर नियालिरहेका थिए । सायद उनी असीम आशाको दृष्टि फ्याँकिरहेका थिए होला— छोरो अवश्य फर्किएर आउनेछ ।
कमाउन गएको छोरा दुर्घटनामा परेको सुनेपछि वृद्ध बुबा बेलाबेला झस्किरहन्छन् । ‘सानैमा आमा खसिन् । आमाबुबा दुवै बनेर हुर्काएको हुँ,’ उनका आँखा टिलपिलाए, ‘छोरो विरानो देशको अस्पतालमा छ । उसलाई कति पीडा भइरहेको होला । कस्तो दुःखी बा भएँ म ।’
चार वर्षअघि श्रीमान् दुर्घटनामा परेको खबर सुन्दा कृष्णकुमारीलाई बाँचूला भन्ने लागेकै थिएन । तै काखे छोरी र छोरालाई हेरेरै चित्त बुझाइन् । अहिले पनि उनी हाँस्ने कोसिस त गर्छिन्, तर भित्रैदेखि केले अँठ्याएर ल्याउँछ; सक्दिनन् । कसैले सोधिदिन्छ, ‘तिम्रो श्रीमान्लाई नेपाल कहिले ल्याउँछन् ? अहिले कस्तो छ ?’ उनीसँग यस्ता प्रश्नको उत्तर दिने साहस जुट्दैन ।
कृष्णकुमारीको १८ वर्षमै प्रेमविवाह भएको थियो । आठ वर्षदेखि श्रीमान्को अनुहार देख्न नपाएकी उनीसँग सुनाउनका लागि थुप्रै कुरा बाँकी छन् । ससाना छोराछोरीको अनुहारमा अलिकति खुसी देखेरै आफैं सम्हालिने कोसिस गर्छिन् ।
कतारमा रहेका गाउँकै प्रेम खत्रीलाई दुई वर्षअघि श्रीमान्ले सास फेरेको भए पनि सुनाइदिन अनुरोध गरिन् । खत्रीले मोबाइल गिरीप्रसादको कानैमा लगेर टाँसिदिए । ‘घरमा सबै जना तपाईंलाई नै कुरेर बसेका छौं,’ यत्ति भनिनसक्दै कृष्णकुमारीको भक्कानो छुट्यो । छोरीले मोबाइल च्यापेर भनिन्, ‘बाबा, छिट्टै घर आउनुस् है !’
कोमामा रहेका गिरीप्रसादले छिटोछिटो सास फेरेको आवाज आयो । किनकि उनी बोल्न सक्दैनन् । छोरो आठ कक्षामा पढ्दै छन् । कहिलेकाहीँ बुबाको फोटो छातीमा टाँसेर रोइरहन्छन् । ‘मेरो बाबा कतारमा दुर्घटनामा पर्नुभयो । अहिले कोमामा हुनुहुन्छ । हामीसँग बोल्न सक्नुहुन्न । उठ्न सक्नुहुन्न,’ कृष्णकुमारीले सुनाइन्, ‘कामीमा यस्तै मनोवाद लेखेर छोराले राखेको छ । म त त्यो पढ्न पनि सक्दिनँ ।’ उनमा एउटामात्रै आशा छ, ‘सरकारले उहाँलाई नेपाल ल्याउने व्यवस्था गरिदिए हुन्थ्यो ।’
कोमामा रहेका श्रीमान्को स्वास्थ्यलाभका लागि उनले यतैबाट आफूले सक्दो गरिन् । धामीले ‘ठूलो सातो’ गएको सुनाए । त्यही निहुँमा पूजापाठ लगाइन् । ज्योतिषीकहाँ धाइन् । ग्रहदशा कटाइन् । देवीदेवताका नाममा भाकल गरिन् । यस्तैमा लाखभन्दा बढी रकम खर्च गरिसकेको उनी बताउँछिन् । ‘धिक्कार रहेछ । भगवान्ले पनि मेरो वेदना देखेनन् । धर्मकर्म पनि धेरै गरेँ । तर, केही सिप लागेन,’ उनको आस्था खलबलिएको छ, ‘आजभोलि त भगवान नै छैनन् जस्तो लाग्न थालेको छ ।’
दुर्घटना हुनुअघि श्रीमान्सँग जति कुरा गरिन्, त्यत्ति नै हो अन्तिमपटक बोलेको । यतै भइदिए हेरेरै चित्त बुझाउने उनको आशा छ । ‘सरकारले यतै ल्याइदियोस्, म स्याहार्छु,’ आँसु पुछ्दै उनी भन्छिन्, ‘छोराछोरीले पनि बुबाको मुख देख्न पाउँथे ।’
कतारमा रहेका नरबहादुर बिक र प्रेम खत्रीसँग कृष्णकुमारीको फोन भइरहन्छ । बिरामीको स्वास्थ्यमा केही सुधार भएको छैन । बीमा रकम आएको छैन । साहुको ऋण कसरी तिर्ने, छोराछोरी कसरी पढाउने, घर खर्च कसरी धान्ने— कृष्णकुमारीको चिन्ता बढ्दो छ ।
दोस्रोपटक कतार पुग्दा उनले भनेका थिए, ‘तिमीलाई सुख दिन सकिनँ । नेपाल फर्केर आउँछु, त्यसपछि दुःख–सुख जे गरे पनि सँगै बसौंला । म विदेश नफर्कने गरी घर आउँछु ।’ श्रीमान्ले सुनाएका ती शब्दहरू उनी दोहो¥याइरहन्छिन् ।
दैलोमाथि सपरिवारको फोटो राखिएको छ । सँगै खिचिएको फोटो होइन, प्रविधिले जोडेर छोराछोरी सहित बाबुआमा पनि त्यहीँ छन् । आठ वर्षअघि कतार गएपछि जन्मिएकी छोरीले नै आठ वर्षकी भइसकिन् । स्कुल जान थालिसकेकी उनले बुबालाई फोटोमा मात्रै देखेकी हुन् । बोली सुन्न पाएकी छैनन् ।
बागलुङ सदरमुकामबाट चार घन्टाको गाडी यात्रा, दुई घन्टा उकालो पैदलपछि हरिचौर– १, भुजुङ्गे पुगिन्छ । भुजुङ्गे गाउँमै बस्छिन्, कृष्णकुमारी । मनभित्रको आशाको धिपधिपे दियो बालिरहेकी छिन्, उनी ।
…
गिरीप्रसादमात्र होइन बागलुङ नारायणस्थान–९, कैयाका ४० वर्षे विष्णुबहादुर सुवेदी पनि कतारमा कोमामै छन् । गतहप्ता विष्णुको घर कैया पुग्दा ८१ वर्षे बुबा लालबहादुर कोक्रोमा पनाति हल्लाउँदै थिए । उनको कानले उत्ति भर दिँदै । अलि चर्को स्वरमा छोराको कुरा गर्नासाथ उनी कोक्रो हल्लाउनै छाडेर भक्कानिए ।
कतारबाट आउने गाउँले छोराहरूसँग उनी खबर सोधिरहन्छन् । ‘कुनै सुधार नभएको’ जवाफ पाउँदा पाउँदा उनी थाकिसके। ‘छोरा यहीँ भइदिएको भए भोलि भेट्न आउँथ्यो,’ कुसेऔंसीको अघिल्लो दिन संवाददातासँग कुरा गर्दा आँखाभरि आँसु पार्दै उनले भनेका थिए, ‘सात वर्ष भयो । कतार जानुअघि बिदाबारी भएर गएको मान्छे अहिले त्यो अवस्थामा छ ।’
दुर्घटनामा परी घाइते भएका विष्णुबहादुरको फोटो गाउँलेले मोबाइलबाट फोटो खिचेर ल्याइदिएका थिए । ‘फोटो देखेको थिएँ । खुवाइदिए खान्छ रे । आफैं उठ्न नसक्ने अवस्थामा छ भन्छन्,’ उनले खुइय गरे, ‘अब तक्दैन भन्छन् ।’
बुहारी पार्वती रोजगारका लागि कतारमै पुगेकी छिन् । नेपाल ल्याउने भन्ने सुनेको एक वर्ष भइसक्यो । उनी भन्छन्, ‘अर्काले भनेको सुन्ने हो । खोइ कहिले, कसले ल्याइदिन्छन् मेरो छोरा । अहिलेसम्म थाहा पाएको छैन ।’
दुर्घटनामा परेपछि छोराको नाममा ग्रहदशा कटाए । सवालाख बत्ती बाले । ३५ जना पण्डित राखेर पूजापाठ पनि गरे । तर, छोरालाई अझै ठिक भएको छैन । लालबहादुर भन्छन्, ‘छोराको परान मात्र देख्न पाए हुन्थ्यो । छोरो दुब्लाएको छ भन्छन् । आजभोलि फोटोसम्म देख्न पाएको छैन । फोटो पठाइदिए पनि हेर्थें ।’ उनलाई छोराको फोटो हेर्ने रहर बाँकी नै छ ।
विष्णुबहादुर दुर्घटनामा पर्दा कतारमै रहेका कैयाकै यामबहादुर पौडेल अहिले घर फर्केका छन् । उनले भने, ‘कतारमा हुन्जेल भेट्न गइरहन्थेँ । एक पाटो शरीर चल्दैन । मुढो हेरेजस्तै हो ।’ काठमाडौंमा म्यानपावर कम्पनी खोलेर बसेका विष्णुबहादुर कामको सिलसिलामा कतार पुगेकै बेला दुर्घटनामा परेका हुन् । उनका दुई छोरा स्कुल पढ्दै छन् । ‘बाबु नै परदेशमा कोमामा रहेपछि यी छोराहरूको भविष्य के होला ?’ उनका भाइ नारायणको गुनासो छ ।
गिरीप्रसाद र विष्णुबहादुरजस्तै सुर्खेतका हरिबहादुर बस्नेत पनि यति बेला कोमामा कहालीलाग्दो जीवन बिताइरहेका छन् । दिनभरि काम गरेर डेरामा आएपछि बेहोस भएपछि उनी कोमा पुगेका हुन् । घरमा उनका तीन छोराछोरी छन् । छोराछोरीलाई मजदुरी गरेर पढाउन र हुर्काउन निकै गाह्रो भएको श्रीमती दीपा बताउँछिन् ।
‘दुःख गरेर पनि छोराछोरी पढाउन गाह्रो छ । कमाउने मान्छे नभएपछि ऋण दिन पनि मान्दैनन्,’ उनी सुनाउँछिन् । आफू बिरामी हुँदा औषधि उपचार पनि समयमा गर्न नसकेको फोनमा उनले बताइन् । कतारको उपचारपछि सन्चो भएर आउने आशा भने जीवितै छ । उनले भनिन्, ‘घरमा खान पु¥याउनै गाह्रो छ । कम्पनीले उचित क्षतिपूर्ति दिनुपर्छ ।’ बिरामीले पाउने क्षतिपूर्ति कतार सरकारले दिनुपर्ने माग परिवारको छ । आफ्ना बिरामीलाई उचित सेवा सुविधासहित देशमै ल्याएर उपचार गर्न सरकारलाई उनीहरू आग्रह गर्छन् ।
कतारमा ११ नेपाली कोमामा
रोजगारीको सिलसिलामा कतार पुगेका ११ जना युवा अहिले कोमामा जीवनको कठिन समय गुजारिरहेका छन् । बागलुङका दुई जना र अन्य जिल्लाका नौ जना कोमामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सडक दुर्घटनामा परेपछि उनीहरू कोमा पुगेका हुन् । उनीहरू सबैको कतारको हमद अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल सरकारलाई आफ्ना नागरिक तुरुन्त फिर्ता गर्ने व्यवस्था गर्न कतार सरकारले बारम्बार ताकेता गरिरहेको छ । नेपालमा रहेको कतार दूतावासले समेत पत्र पठाउने गरेको छ । नेपालमा बिरामीका लागि स्तरीय अस्पतालको अभाव भएकाले तुरुन्त ल्याउन नसकिएको परराष्ट्र मन्त्रालय मध्य एसिया–पश्चिम, एसिया तथा अफ्रिका महाशाखा अन्तर्गतको समितिका सदस्य–सचिव दुर्पदा सापकोटाले बताइन् ।
सरकारले एक महिनाअघि कोमामा रहेका नेपालीहरूको अध्ययनका लागि परराष्ट्र मन्त्रालयका सहसचिव रमेश खनालको नेतृत्वमा आठ सदस्यीय समिति गठन गरेको थियो । यदि नेपाल ल्याउन सकेमा कतार सरकारले बिरामी ल्याउने र सुरुको तीन महिना अस्पतालको उपचार खर्चसमेत बेहोर्ने अनौपचारिक जानकारी आएको सापकोटाले जानकारी दिइन् । अन्य देशमा भने कोमामा रहेको बारे कुनै जानकारी नआएको उनले बताइन् ।
नेपाल ल्याउने चुनौती
आफ्ना नागरिक देश फर्काउने दायित्व राज्यको हो । उनीहरूलाई नेपाल फर्काउन प्राविधिक समस्या देखिन्छ । कोमामा रहेका बिरामी अर्धचेत अवस्थामा रहन्छन् । उनीहरू चल्न, बोल्न सक्दैनन् । यता ल्याए पनि उनीहरूलाई उपचारका लागि अस्पतालमै राख्नुपर्ने भएकाले घरमै लगेर राख्ने अवस्था हुन्न । सुविधा सम्पन्न अस्पतालमा राखेर सघन उपचार हुन आवश्यक छ । तर, कोमामा रहेका नेपालीलाई नेपाल ल्याउने ठूलो चुनौती रहेको परराष्ट्र मन्त्रालय मध्य एसिया–पश्चिम, एसिया तथा अफ्रिका महाशाखा अन्तर्गतको समितिकी सदस्य–सचिव दुर्पदा सापकोटा बताउँछिन् । ‘कोमामा रहेका बिरामीको दीर्घकालीन हेरचाह गर्नुपर्ने भएकाले त्यसको खर्च कसरी जुटाउने भन्ने समस्या छ,’ उनी भन्छिन्, ‘सुविधासम्पन्न आइसियु बेडको अभाव यहाँ देखिएको छ ।’
अर्को चुनौती हो, कोमामा रहेका व्यक्तिका परिवारले नेपाल फर्काउन आधिकारिक रूपमा पहल नगर्नु । नेपाल फर्काउने विषयमा परिवारको धारणा बुझ्न पहल भइरहेको परराष्ट्र मन्त्रालयले बताएको छ । चार जना अकस्मात् बिरामी भई कोमामा पुगेकाले तिनले कानुनतः क्षतिपूर्ति नपाउने बताइएको छ । सकेसम्म ११ जनाको क्षतिपूर्तिका लागि पहल गर्ने सापकोटाले बताइन् । कतिपयको मुद्दा फैसला भइसकेको परिवारको मन्जुरी र बिरामी ल्याएपछि क्षतिपूर्ति रकम उपलब्ध गराउनेबारे कतारस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ ।
बिरामीका लागि भेन्टिलेटर सहितको आइसियु बेड चाहिने भएकाले त्यसको लागि छलफल भइरहेको स्वास्थ्य मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारी बताउँछन् । ‘अधिकांश सरकारी अस्पतालका बेडमा बिरामीको चाप हुन्छ,’ उनले भने, ‘आफ्नो देशका नागरिक यतै ल्याउनुपर्छ । तयारीका लागि आन्तरिक छलफलमा छौं ।’नागरीक दैनिक