गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारनाकाबन्‍दीले खाने तेलमा कालोबजारी

नाकाबन्‍दीले खाने तेलमा कालोबजारी

October 31, 2015१७८ पटक

विराटनगर: बन्द र नाकाबन्दीलाई बहाना बनाएर विराटनगरमा खाने तेलको कालोबजारी सुरु भएको छ।
खाने तेलको खपत बढ्ने पर्व तिहार नजिकिँदै गएकाले चर्को मूल्य तिरेर भए पनि उपभोक्ता खरिद गर्न बाध्य भएका छन्। विराटनगरमा प्रतिलिटर एक सय २५ रुपैयाँमा पाइने सूर्यमुखी तेल अहिले एक सय ९० रुपैयाँमा बेच्ने गरिएको छ।
त्यस्तै तोरी तेल प्रतिलिटर एक सय ७० बाट बढाएर दुई सय रुपैयाँ पुर्‍याइएको छ। विराटनगर-१२ की उपभोक्ता अनिशा खनालले भनिन्, ‘पन्ध्र दिनअघिसम्म एक सय २५ रुपैयाँमा पाइएको तेलको भाउ पचास रुपैयाँ बढाएछन्।’
विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार बन्दको यो अवधिमा पनि प्रशोधन गरेर बनाइने सूर्यमुखी तेल निकालिने क्रुड आयलको आयात भने घटेको छैन। सूर्यमुखी र भटमासको तेल निकाल्न प्रशोधन गरिने क्रुड आयल आयात गर्दा अढाइ प्रतिशत मात्र भन्सार राजस्व बुझाउनुपर्छ।
उद्योगीहरूले भने तेल उद्योग नै सञ्चालन गर्न नसकिएको दाबी गर्दै बजारमा पहिल्यै गएको तेल खुद्रा व्यापारीले मूल्य बढाएको हुनसक्ने भनेर आफ्नो बचाउन गरेका छन्। क्रुड आयललाई विभिन्न चरणमा उद्योगबाट प्रशोधन गरेपछि भटमासको तेल र सूर्यमुखीको तेल प्याक गरेर उद्योगले बिक्री गर्छन्।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुंगानाले भने, ‘भदौ र त्यसयताको आयातमा खासै उतारचढाव आएको देखिँदैन। यस हिसाबले एक्कासि मूल्यचाहिँ नबढ्नुपर्ने हो।’ तर बन्दयता ढुवानीमा आएको समस्याले थोरै मात्रामा मूल्यमा हेरफेर भएको हुनसक्ने उनले बताए।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बजारमा खानेतेलको कालोबजारी भएको विषयमा बजार अनुगमन हुने बताए। उनले भने, ‘गलत काम गर्ने जोकोहीलाई कारबाही हुनेछ।’
भन्सार कार्यालयका अनुसार असोजमा उद्योगीले १० करोड ६६ लाख मूल्य तिरेर एक हजार दुई सय ४० मेट्रिक टन क्रुड आयल आयात गरेका छन्। त्यस्तै कात्तिक लागेपछि ६ करोड २० लाख बराबरको सात सय ४० मेट्रिक टन क्रुड आयल आयात भएको छ।
भदौमा १८ करोड ३८ लाख मूल्य बराबरको दुई हजार दुई सय मेट्रिक टन क्रुड आयात भएको थियो।सेलो ब्रान्डको तेल उत्पादन गर्ने बागमती आयलका सञ्चालक देवकीनन्दन अग्रवालले भने, ‘हामीले मूल्यमा हेरफेर गरेका छैनौं। खुद्रा व्यापारीबाट फट्याइँ भएको हुनसक्छ।’
कतिपय व्यापारीले भने उद्योगबाट आउने तेलको मूल्य नै बढाइएकाले आफूहरूले पनि सोहीअनुसार खुद्रा मूल्य निर्धारण गरेको बताएका छन्।सुनसरी मोरङ औद्योगिक करिडोर र विराटनगरमा तेल उत्पादन गर्ने पशुपति खाद्य तेल उद्योग,श्रीराम रिफाइनरी, बाबा भेजिटेबल, स्वस्तिक आयल र बागमती आयल सञ्चालनमा छन्।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण