मुखले पेट्रोल तान्दा ज्यानै जान सक्छ !
१४ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीले यतिबेला बजारमा पेट्रोलको हाहाकार छ । मानिसहरु एक लिटर पेट्रोलको लागि घन्टौ लाइन लाग्न बाध्य छन् । कतिपयले सवारीसाधनमा हालिसकेको पेट्रोल पाइपबाट मुखले तानेर हाल्ने गरेका छन् । तर, यो स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको विज्ञहरुले बताएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेले पेट्रोलियम पदार्थमा हुने हानिकारक रसायन कार्सिनेजिन शरीरभित्र पस्दा त्यसले फोक्सो, रगत र पिसाबको क्यान्सर गराउन सक्ने बताए । उनले खाली हातले पेट्रोल छुँदा छालाको एलर्जी हुने र त्यसले क्यान्सर बनाउन सक्नेसमेत बताएको नयाँ पत्रिकामा खबर छ ।
पेट्रोलियम पदार्थमा हुने कार्बनजस्ता हानिकारक रसायनले सुर्तीजन्य पदार्थले जस्तै असर गर्ने भक्तपुर क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालको भनाइछ ।