नेपालमा आज चीनबाट यसरी आउँदैछ इन्धन
रसुवागढी–भारतीय नाकाबन्दीका कारण चीनसँग इन्धन आयात गर्ने सम्झौता भएलगत्तै चीनले यसअघि नै उपलब्ध गराउने घोषणा गरेको अनुदानको इन्धन आजै नेपाल आइपुग्दैछ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपालले पहिलो पटक छिमेकी राष्ट्र चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सहमति गरे बमोजिम हिजो आयल निगमका ट्यांकर चीन तर्फ पठाएको थियो ।
चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिका लागि व्यवसायिक सम्झौता भएको चार दिनपछि इन्धन आयातका लागि नेपाल आयल निगमले पठाएका ट्यांकरहरु नुवाकोट र रसुवा हुँदै नेपाल–चीनको सीमानाका केरुङ आइपुगेका छन् । इन्धन आपूर्तिमा अहिलेसम्म भारतमा निर्भर रहेको नेपालले पहिलो पटक छिमेकी चीनबाट तेल ल्याउन लागेको हो । पहिलो चरणमा शुक्रवार आइपुगेका १२ वटा ट्यांकर केरुङबाट इन्धन भरि आज नै राजधानी ल्याउने भएका हुन् ।
पहिलो खेपमा सय मेट्रिक टन तेल
चीनले अनुदानमा दिन लागेको एक हजार मेट्रिकटन अर्थात् १३ लाख लिटर मध्ये पहिलो खेपमा सय मट्रिक टन अर्थात १ लाख ३० हजार लिटर पेट्रोल ल्याइँदैछ । त्यसका लागि पठाइएका १२ हजार लिटर क्षमता भएका १२ वटा ट्यांकर काठमाण्डौं आउनासाथ अन्य ट्यांकर पठाइने आयल निगमले जनाएको छ । निगमका पदाधिकारीहरुले चीनबाट इन्धन ल्याउनका लागि पठाइएका ट्यांकरको पूजाआजा गरी चालकहरुलाई टीका लगाएर बिदा गरेका थिए । हिजो चीन गएका ट्यांकरले बाटोको अवस्था लगायतको रिपोर्टिङ गरेपछि थप ट्यांकर पठाउने निगमको तयारी छ । निगमले चीन पठाउन ४० वटा ट्यांकरलाई तयारी अवस्थामा यसअघि नै राखेको थियो ।
शुक्रवार नै ट्यांकरहरु सीमानाका केरुङ आएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार आज चीन सरकारले नेपाली ट्याङ्करमा तेल भर्ने कार्यक्रम छ । ‘निगमले भने अनुसार चीनको केरुङसम्म चिनियाँ ट्यांकरले नै तेल ल्याउनेछन्, उनले शुक्रवार साँझ भने, ‘नेपाली ट्यांकरहरु भोलि शनिबार पेट्रोल लोड गर्नेछन् र भोलि नै चीनले अनुदानमा दिएको तेल बोकेर ट्यांकरहरु काठमाडौं पुग्नेछन् ।’
चीनबाट १८७ किलोमिटर दूरीमै काठमाडौं
भूकम्पले बन्द रहँदै आएको यो नाका सञ्चालनमा आएपछि अब चीनले नेपाललाई उपलब्ध गराइने तेल ल्याउन केरुङ प्रवेशका लागि एकदिने पास लिएर जाने व्यवस्था समेत गरिसकिएको जनाईएको छ । यो नाकासम्म तेल आईपुग्न चीनको सिगात्सेसम्म पुग्नुपर्ने बाध्याता हटेर नेपालको सीमानाका रसुवागढीबाट २६ किलोमिटर दूरीमा रहेको चीनको केरुङबाट इन्धन ल्याउन नेपाललाई सहज भएको हुनेछ । काठमाडौबाट १ सय ८७ किलोमिटर टाढा रहेको केरुङबाट सिगात्से सहरसम्म पुग्न केरुङबाट ५ सय ४८ किलोमिटर दुरीमा पर्छ । काठमाडौं बाट रसुवागढी पुग्न पासाङ ल्हामु राजमार्ग हुँदै झण्डै १ सय ६० किलोमिटर भन्दा बढी दुरी तय गर्नुपर्छ । यसरी काठमाडौंमा तेल आपूर्ति गर्ने ट्याकंरले लगभग १ सय ८० किलोमिटरको दुरीबाट तेल ल्याउने छन् । जानकारहरुका अनुसार भारतबाट इन्धन आयात गर्दा हुने ढुवानी खर्चको तुलनामा चीनबाट निकै सस्तो पर्ने र कम समयमा आइपुग्नेछ ।
नेपाल ल्याइने प्रशोधित तेल टयाङ्करबाट केरुङसम्म ल्याएर बितरण गर्ने सम्झौता भइसकेको छ । चीनले सिगात्से आईपुगेको रेल सञ्जालले केरुङसम्म जोड्ने योजना ल्याएसँगै उक्त तेल आगामी दिनमा सजिलै ल्याउन सकिने अर्थविदहरुले आशा गरेका छन् । चीन र नेपालको व्यापारका लागि करिब आधा दर्जन नाकाहरु खुलेका भएपनि चीनबाट भारत लगायत अन्य सार्क मुलुकका लागि भने यो सबैभन्दा छोटो दुरिको नाका हो । राजधानी काठमाडौंबाट गल्छी देवीघाट, त्रिशूली, धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढी नाकासम्म १४४ किमी पर्ने र बिहान तेल भरेपछि अपराह्न केन्द्रीय भण्डारमा सहजरुपमा नै पुग्ने यातायात व्यवसायीले बताएका छन् ।
ट्याङ्रका लागि यथेस्ट सुरक्षा व्यवस्था
तेल हस्तान्तरण कार्यक्रममा चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका महावाणिज्यदूत हरि बस्याल र चिनियाँ राजदूतावास काठमाडौंका डिसिएम चेङ्जी र स्थानीय अधिकारीको सहभागिता हुनेछ ।
तेल हस्तान्तरण कार्यक्रम नेपाल चीन सीमा क्षेत्रको रसुवागढी नाकाबाट नेपाली समयअनुसार आज बिहान ११ः०० बजे हुने जानकारी पाएको प्रजिअ गेलालले बताए ।
यस्तै, चीन सरकारले दिने पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करका लागि यथेस्ट सुरक्षा व्यवस्था मिलाइसकिएको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए । यसअघि चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल शनिबार बिहानसम्म नेपाल–चीनको केरुङ नाकामा आइपुग्ने भएपछि पेट्रोल लिन १२ वटा ट्याङ्करसहित शुक्रबार बिहान निगमका प्रवक्ता दीपक बरालसहितको टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।
यसअघि नेपाल आयल निगमले आवश्यक प्रकृया पुरा गर्न समय लागेको बताउँदै अनुदानको नेपालको सिमानाका रसुवागढीसँगैको तिब्बतको केरुङसम्म पुगेर उक्त तेलसमेत ल्याउन सकेको थिएन । गत मंगलबार सम्ममा ईन्धन नेपाल पठाउने तयारी चीनियाँ पक्षको भएपनि नेपालको कारण तेल आउन सकेको थिएन ।
चीनको प्राथमिकतामा दक्षिण एशिया जोड्ने मुख्य नाका
भूकम्पले भन्सार कार्यालय पुरिएपछि रसुवागढी नाकाबाट तीन किलोमिटर वर भन्सार कार्यालय स्थापना गरिएको छ । भन्सारलाई व्यवस्थित बनाउनका लागि नेपालतर्फ नेपाल प्रहरी, नेपाली सेना नारायण दल गणको पोष्ट स्थापना गरिएको छ । भन्सारमा एक प्रमुख, तीन भन्सार अधिकृत र १६ जाँचकीसहितको कर्मचारी टिमुरे अस्थायी भन्सार कार्यालय स्थापना गरिएको छ ।
नाका सञ्चालनका लागि तीन साताअघि नै नेपालतर्फको बाटो फराकिलो बनाउनुका साथै पहिरोको सबै अबरोध हटाइएको थियो । यो नाका परम्परागत भए पनि एक वर्षअघि नै पूर्ण रुपमा सञ्चालनमा आएको थियो । सन् २०१२ मा केरुङ भन्सारलाई अन्तर्राष्ट्रिय भन्सारको रुपमा विकास गर्दै यस नाकाबाट चीनले भारतसहित दक्षिण एशियाली देशमा जोड्न खोजेकाले पनि यो नाकालाई चीनले पहिलो प्राथमिकतामा राखेको हो । नाका सञ्चालनसँगै रसुवागढी भन्सारमा जनशक्तिलगायत आवश्यक पूर्वाधारको विकास गर्दै लगिने भन्सार कार्यालयले जानकारी दिएको छ ।
-रातोपाटी बाट ।