गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदुर्गन्धित नालामा उँभिएर तारा हेर्ने साहस गरौं : बाबुराम

दुर्गन्धित नालामा उँभिएर तारा हेर्ने साहस गरौं : बाबुराम

November 1, 2015१४६ पटक

१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ संविधान जारी भएपछि बनेको सरकारमा पुरानै पात्र र प्रवृत्तिको पुनरावृत्ति हुनु विडम्बनापूर्ण रहेको बताएका छन् । यसले आगामी दिनमा पनि देशमा कमिसनतन्त्र, माफियागिरी, भ्रष्टाचार र कालोबजारी बिगबिगी कायम रहने उनको भनाइ छ ।

आइतबार काठमाडौं नागरिक अगुवाहरुको भेला गरी डा. भट्टराईले नयाँ सरकारबाट देश अल्पविकास, गरिबी र बेरोजगोरीको दुस्चक्रमा फरिरहने गम्भीर संकेत दिएको बताए ।

उनले भने, ‘जनताको चुल्होमा राजनीतिक परिवर्तनको कुनै सकारात्मक प्रतिविम्व देखा परेको छैन ।’

प्रत्येक नागरिकको जीबनसँग जाडिएको स्वास्थ्य र शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरण र विकृति यथावत् रहेसम्म देशमा कुनै सकारात्मक परिवर्तनको प्रत्याभूति नहुने डा. भट्टराईको भनाइ छ । ‘देश र समाजलाई नेतृत्व गर्ने राजनीति नै प्रदुषणमुक्त, स्वच्छ र पारदर्शी नभएसम्म देश अपेक्षित आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन मृगमरीचिका मात्र रहनेछ,’ पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले भनेका छन् ।

उनले देशका चुनौतिहरुको सामना गर्न अब देशमा नयाँ राजनीतिक विमर्शको खाँचोसमेत औंल्याए । त्यसनिम्ति गैर-राज्य र गैर-पार्टी आवद्ध नागरिकहरुको क्रियाशीलताको आवश्यकता उनले औंल्याए ।

‘नागरिक सक्रियता र अभियानको क्रममा वैकल्पिक राजनीति र नयाँ शक्तिको विकास हुनसक्छ, जसले देशलाई नयाँ युगको नयाँ दिशावोध गर्न सकोस्,’ उनले प्रसिद्ध साहित्यकार ओस्कर वाइल्डको भनाइ उद्धृत गर्दै भने, ‘हामी पनि दुर्गन्धित नालामा उँभिएर दूर क्षितिजको चम्किलो तारा हेर्ने साहस गरौं ।’

एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माणको अभियानमा रहेका डा. भट्टराईले आयोजना गरेको नागरिक अगुवाको भेलामा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल, पूर्वसभामुख दमननाथ ढुंगाना, नागरिक अगुवा पद्मरत्न तुलाधरलगायत छन् ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण