रसियाली विमान दुर्घटनाग्रस्त
कायरो, १४ कात्तिक-रसियाली एक विमान इजिप्टको सिनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त भएको खबर छ । सो विमानमा २१७ जना यात्रु सहित २२४ व्यक्ति रहेका थिए ।
इजिप्टको प्रधानमन्त्री कार्यालयले शनिबार सो जानकारी दिएको छ । सिनाई प्रान्त पछिल्लो समयमा द्वन्द्वग्रस्त प्रान्त हो ।
सो विमानमा चालक दलका सात सदस्यसहित २२४ जना रहेका र सिनाईमा खसेको प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै इजिप्टको समाचार समिति मेनाले जनाएको छ ।
इजिप्टको सराम अल सेख विमानस्थलबाट उडेको सो विमान रसिया जादै गरेको थियो । रसियाको सेन्ट पिटसबर्गका लागि सो विमान उडेको थियो ।
रसियाली विमान सेवा कोगालिमावियाको ए ३२१ नम्बरको सो एयर बस स्थानीय समयअनुसार शनिबार बिहान ५:५१ बजे उडेको थियो ।
प्रारम्भिक समाचारअनुसार विमानका धेरैजसो यात्रु रसियाली नागरिक रहेका छन् । उडेको २३ मिनेटपछि विमान राडारबाट नदेखिएको बताइएको छ ।
रसियाली विदेश मन्त्रालयले आकस्मिक उद्वारका साथै उक्त दुर्घटनाका बारेमा थप अनुसन्धान गर्नसुरक्षाकर्मी र विज्ञहरुको विशेष समूह गठन गर्न आदेश दिएको छ ।
विमानको थप जानकारी प्राप्त भएको छैन । इजिप्टको सरकारले अनुुसन्धान जारी रहेको जानकारी दिएको छ । रासस/सिन्ह्वा