गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार​विदेशमा कमाएको पैसा घरखर्चमै ठिक्क, स्वदेशमै लगानी गर्न इच्छुक छन् परदेशी

​विदेशमा कमाएको पैसा घरखर्चमै ठिक्क, स्वदेशमै लगानी गर्न इच्छुक छन् परदेशी

August 8, 2015३९६ पटक

भूमिराज पराजुली

मलेसिया, साउन २३ –  मलेसिमा काम गर्ने नेपाली कामदारको न्यूनतम तलब महिनाको ९ सय रिङ्गेट अर्थात झण्डै २६ हजार नेपाली रुपैयाँ हो । ओभरटाइम र अरु सुविधासमेत जोड्दा मलेसियामा कार्यरत नेपालीहरुले महिनामा कम्तीमा पनि ३५ हजार रुपैयाँ कमाउँछन् । थोरै मात्र खर्च कटाएर बाँकी रकम उनीहरुले नेपाल पठाउँछन् । तर मलेसियामा पसिना बगाएर कमाएको र खाई नखाई गरेर नेपाल पठाएको रकम घर खर्चमा नै सकिने गरेको छ । यसको एक उदाहरण हुनुहुन्छ, लमजुङका भरत रसाइली ।

७ वर्षदेखि मलेसियामा कार्यरत रसाईलीले अहिलेसम्म जोगाएको रकमले घडेरीसम्म जोड्न सक्नुभएको छ । “एउटा घडेरी जोडें, अनि छोराछोरीलाई शहरमा राखेर पढाई रहेकौ छु” रसाईलीले भन्नुभयो “मेरो सात वर्षको कमाई यति नै हो ।”

रसाईली जस्तै धेरै श्रमिकको आम्दानी घर खर्च चलाउँदैमा सकिने गरेको छ । खाडी तथा मलेशियामा काम गर्न जाने अधिकांश नेपालीको श्रमशक्ति देश बिदेश घुम्दै बित्ने गरेको छ । कहिले मलेशिया, कहिले कतार त कहिले अन्य देश । यसो हुनुको मुख्य कारण उनीहरु आफैले पनि कुनै एक देशमा कमाएको कमाई र त्यो कमाई जोगाएर त्यसलाई उत्पादनमुलक काममा लगाउन नसक्नु हो ।

नेपाली ब्यवसायी समाज मलेसियाका सहसचिब बिपिन राई  बिदेशिने नेपालीले पनि स्वदेश फर्केपछि अब स्वरोजगारको बाटो पहल्याउन सक्नुपर्ने  बताउनुहुन्छ । “नेपालीको श्रम र मेहनत अब फिरन्ते बनाउन हँुदैन, आफैं केही योजना बनाएर स्वाभिमानी नेपाली भएर नेपालमै केही गरेर बसौँ” राईले भन्नु भयो  ‘नेपाली युवाको पसिना मलेशिया र खाडीमा मात्र नबगाऔं ।’

विदेशमा काम गर्नेले आम्दानी जोगाएर त्यसलाई ब्यवसायमा प्रयोग नै गर्न नसकेका भने होइनन् । तर लगानी सानो हुने र त्यसलाई सही रुपमा प्रयोग गर्न नसक्दा पूँजी  डुब्ने र व्यवसायमा असफल हुने संभावना पनि हुन्छ । चितवनका विक्रम भुषालले तीन वर्ष मलेसियामा जोगाएको रकमले नेपालमा फूलको नर्सरी  सुरु गर्नुभएको थियो । तर उहाँको थोरै पूँजीको व्यवसाय उँभो लाग्न सकेन । फूलको नर्सरीले सोचेजस्तो कमाउन नसकेपछि उहाँ फेरि मलेसिया हानिनुभयो ।

सानो  ब्यवसायको राम्रो मूल्य र लक्षित बजारको अभावले गर्दा पनि गरिरहेको ब्यवसाय छाडेर विदेशिनुपर्ने बाध्यता  रहेको छ । झापा दमकका ज्ञानेन्द्र लिम्बुले पनि नेपालमा रहँदा बंगुर फारम खोल्नु भएको थियो । तर उचित बजार मूल्य पाउन नसकेपछि हातमा हरियो पासपोर्ट बोकेर मलाया छिर्नुको बिकल्प रहेन उहाँसँग । तर पनि उहाँमा आँट र हिम्मत भने हराएको छैन । मलेशियाबाट फर्किएर नेपालमै कुनै उत्पादनमुलक ब्यवसायमा लगानी गर्ने सोच उहाँको छ । “नेपाल फर्केर मेरो पुरानै व्यवसायलाई निरन्तरता दिने योजनामा छु” लिम्बुले भन्नुभयो, “बिदेश चाहिँ अन्तिम नै हो, अब नेपालमै केही गर्ने सोच बनाएको छु ।” लिम्बु हाल मलेशियामा सुरक्षा गार्डको काम गरिरहनु भएको छ ।

झापा दमकका लिम्बुजस्तै धेरै नेपालीले आफूले कमाएको रकमलाई उत्पादनमुलक काममा लगाउन चाहेका छन् । तर उनीहरुको चाहना विपरीत गैर उत्पादनमुलक काममा सबै पैसा खर्च भइरहेको छ । जसका कारण विदेशमा नेपालीले कमाएको रकमबाट देशले सोचे अनुसार आर्थिक रुपमा फाइदा लिन सकेको छैन । नेपाल आदिवासी जनजाति महासंघ मलेशियाका अध्यक्ष सुन्दर आले मगर  सरकारले विदेशमा बसेका नेपालीको पैसालाई एकीकृत गरेर राष्ट्रिय योजना सञ्चालन गर्नुपर्ने बाताउनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण