गृहपृष्ठ » मुख्य समाचार​विस्थापितलाई हटाएर सैनिक मञ्च खाली गर्ने तयारी

​विस्थापितलाई हटाएर सैनिक मञ्च खाली गर्ने तयारी

August 8, 2015१५५ पटक

काठमाडौं, साउन २३ – ‘हाम्रो योजना त दशैंसम्म यहीँ बसेर त्यसपछि आफ्नै व्यवस्था गर्ने हो, तर योजना भएर के गर्नु आजै जा भोलि नै जा भनेको छ आर्मीले, हामीजस्ता कहाँ जाने ? भूकम्पले बिचल्ली पार्यो । यहाँबाट नउठे पाल उठाएर लान्छौं भनेका छन् । आर्मीले हामीसँग केही नभए जस्तो व्यवहार गर्छन्’ वैशाख १२ गतेको भूकम्पले बसिरहेको ठाउँ काठमाडौंको नरदेवीमा घर चर्किएपछि टुँडिखेलमा बस्दै आउनुभएकी पार्वती बरालले गुनासो गर्नुभयो । उहाँलाई अब कहाँ जाने र के गर्ने भन्ने ठूलो चिन्ता छ । लामो समयदेखि बसिरहेको घर भूकम्पले चर्किएर बस्न नमिल्ने भएपछि चारजनाको परिवार सहित उहाँ टुँडिखेलमा बस्न आउनुभएको हो । बरालले भन्नुभयो ‘हाम्रा आँखै अगाडि कतिले ज्यान गुमाए, कति च्यापिएर घाइते भए, सबै देखियो त्रास त अझै पनि बाँकी नै छ । भूकम्प अगाडि त जसरी भएपनि बसेका थियौं कहिँ कतै माग्न जानु परेको थिएन । यसरी झरीमा रुज्नु परेको थिएन । दुःख त थियो नै अब झन् हाम्रा दुःखका दिन थपिएका छन् । हाम्रो मात्र होइन धेरैको बिचल्ली बनायो यो भूकम्पले ।’ टुँडिखेलमा बाँकी ३८ परिवार पार्वती बराल जस्तै १ सय ७ जना बिस्थापित बसिरहेको टुँडिखेल सेनाले खाली गर्न लागेको छ । भूकम्प लगत्तै झण्डै १५ हजार नागरिक बसेको टुँडिखेलमा अहिले १० टेन्टमा ३८ परिवार मात्र छन् । अहिले उनिहरु पनि डेराको खोजीमा छन् । तर अझै पनि दशैंसम्म टेन्टमै भएपनि बस्न पाए हुन्थ्यो भन्ने उनीहरुलाई छ । भनेजस्तो र सस्तो डेरा नपाउँदा समस्या भोग्नुपरेको उनीहरुे बताएका छन् । टुँडिखेलमै बस्नुभएकी रीता सञ्जेलले भन्नुभयो ‘निद्रा नपरेको धेरै दिन भयो, सेनाले कतिबेला पाल उठाउने हो थाहा छैन, निस्केर जानु भनेको छ, अब कहाँ जाने ठाउँ छैन ।’ टुँडिखेल सेनाले खाली गर्दै बिस्थापित नागरिक बस्दै आएको टुँडिखेल सेनाले खाली गर्दैछ । भूकम्प गएको सय दिन भन्दा बढि भैसक्दा पनि बिस्थापितले आफ्नो व्यवस्था नगरेको भन्दै सेनाले आफैं हटाउन लागेको हो । ‘सैनिक गतिविधि हुने मञ्च खाली गर्न आवश्यक छ’ सेनाका महासेनानी प्रयोग जबराले भन्नुभयो, ‘प्रशासनसँग कुराकानी भैरहेको छ अबको १/२ दिन भित्र ठाउँ खाली गर्ने तयारी छ ।’ टुँडिखेलमा बसेका धेरैले डेरा खोजेर बन्दोबस्त गरिसकेका छन् । अहिले बसिरहेका डेरा नपाउनेहरु र केही सुकुम्वासी मात्र छन् । ‘हामीले जाउ जाउ त भनेका छौं तर उर्दी नै जारी गरेर दिन भने तोकिएको छैन’ महासेनानी जबराले भन्नुभयो ‘उनीहरुलाई छिट्टै डेरा खोजेर सर्न भनिएको छ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण