गृहपृष्ठ » मुख्य समाचार, समचारचुल्हो निभेपछि तरकारीको माग आधा घट्यो, किसान मर्कामा

चुल्हो निभेपछि तरकारीको माग आधा घट्यो, किसान मर्कामा

November 6, 2015१५२ पटक

 

२० कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका कारण काठमाडौंमा तरकारीको खपत आधा घटेको छ । ग्यास र मट्टितेलको चरम अभावका कारण काठमाडौंमा तरकारीको माग आधा घटेको नेपाल तरकारी तथा फलफूल व्यवसायी संघले जनाएको छ ।

इन्धनको अभावमा धेरै उपभोक्ताको चुल्हो निभेपछि तरकारीको माग ५० प्रतिशत कम भएको संघले जनाएको छ । काठमाडौंमा दैनिक ८ सय मेट्रिक टन तरकारीको माग हुने गरेकोमा अहिले ५ सय मेट्रिक टनमात्र भित्रिरहेको  छ । त्यसमा पनि झण्डै एक तिहाई तरकारी बिक्री नभएर ब्यापारीहरु समस्यमा परेका छन् ।

‘नाकबन्दीपछि धेरै होटल तथा रेष्टुरेन्ट ठप्प छन् । चलिरहेकाले पनि मेनुमा कटौति गरेका छन्,’ तरकारी ब्यवसायी भगवानचन्द्र उप्रेतिले अनलाइनखबरसंग भने-‘होटलमा तरकारी खपत अहिले ७५ प्रतिशत घटेको छ ।’

यसैगरी ग्यास र मट्टितेलको अभाव चर्किएपछि धेरै उपभोक्ताको चुल्हो बलेको छैन । त्यसैकारण धेरै उपभोक्ता फाष्टफुडमा निर्भर हुनुपरेको छ ।

आफ्नो घर हुनेले दाउरामा बलेर खान पाएपनि डेरा लिएर बस्नेहरुलाई सबैभन्दा धेरै समस्या छ ।

‘काठमाडौंमा रहेका ३० लाख डेरावाललाई इन्धनको संकटले बढी सताएको छ । त्यसमध्ये धेरैले तरकारी किन्नै छाडिसके,’ उप्रेतिले भने- ‘काठमाडौंमा डेरामा बस्ने धेरैले चिउरा र दालमोठ खाएर जीवन धानेका छन् । त्यसैले तरकारीको खपत आधा घटेको हो ।’

कारण त्यतिमात्र छैन । ग्यास मौज्दात भएका उपभोक्ताले समेत पहिले जसरी धेरै तरकारीको परिकार बनाएर खान पनि छोडेका छन् । ४/५ थरीका तरकारी बनाएर खाने परिवार अहिले दाल र एक थरी तरकारीमा चित्त बुझाउन थालेको छ ।

बजारमा नाकाबन्दीका कारण तरकारीको अभाव नरहेको व्यवसायीले बताएका छन् । सबै बजारमा तरकारीको माग घटेपछि कृषकका उत्पादन त्यतिकै बारीमा सड्दैछन् । माग नभएपछि अहिले उत्पदान भएका सबै तरकारी बजारमा ल्याउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ ।

उपभोक्ताले राम्रो मूलय पाएका छैनन् । तेलको अभावले ढुवानी महंगो भएपछि तरकारीको मूल्य पनि असामन्य रुपमा बढेको छ ।
तरकारीको खपतमा नाकाबन्दीले असर गरेपनि फलफूलको खपत भने बढेको व्यवसायी उप्रेतिले बताए । ‘फलफूल पकाएर खाने चीज होइन् । त्यसैले फलफूलको माग त झनै बढेको छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण