गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपाल संवत् जनताको संवत् हो : प्रधानमन्त्री ओली

नेपाल संवत् जनताको संवत् हो : प्रधानमन्त्री ओली

November 12, 2015१९१ पटक

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११३६ को नयाँ वर्ष शुभारम्भका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै यो संवत् नेपाली जनताको संवत् भएको बताएका छन् ।

ऋणमा डुबेका नेपालीलाई शङ्खधर साख्वाले ऋणमोचन गराई सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक संवत् भएको जनाउँदै राष्ट्रिय विभूति साख्वाप्रति सम्मान व्यक्त गरेका छन् ।

साख्वाले नेपाल राष्ट्रका नाममा सुरु गरेको नेपाल संवत् कुनै शासनको नाममा नभएकाले पनि जनताको संवत् भन्ने स्पष्ट हुने ओलीले बताए ।

‘ऋणमा डुबेका नेपाली जनतालाई उहाँले ऋणमोचनका साथ दासत्वबाट मुक्त गराई सामाजिक सुधारको आरम्भ गर्नुभएको थियो, यसअर्थमा शङ्खधर साख्वाः एक प्रगतिशील समाज सुधारक र नेपाल संवत्का जन्मदाता हुनुहुन्थ्यो भने नेपाल संवत् नेपालीले सुरु गरेको आफ्नै संवत् थियो’ प्रधानमन्त्री ओलीले जारी गरेको सन्देशमा भनिएको छ-‘गरिबीले व्याप्त समाज र जनतालाई ऋणबाट मुक्त गर्न शङ्खधर साख्वाःले आफूसँग भएको धनसम्पत्ति सदुपयोग गर्नुभएको थियो ।’

ओलीले राष्ट्रिय एकता र समाजिक सद्भावलाई विकसित गर्नुपर्ने यो महत्वपूर्ण अवसरमा जनतालाई गरिबीबाट मुक्त गरी समृद्ध पार्नुपर्ने राष्ट्रिय दायित्व हामीसँग छ, लोकतन्त्र, शान्ति, स्थायित्व, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता सुदृढ बनाउने अभिभारा पूरा गर्न नेपाल संवत्को यो अवसरमा म सम्पूर्णमा आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण