एक महिनापछि आजदेखि विद्यालय खुले
काठमाडौं, कात्तिक २ – एक महिना लामो बिदा पछि आइतबारदेखि विद्यालय खुलेका छन् । गएका वर्षहरुमा दसैँ तिहारकोबिचमा खुल्ने गरेपनि यसवर्ष इन्धन अभावका कारण बन्द भएका विद्यालयमा आइतबारदेखि नियमित पढाइ हुनेछ ।
दसैँ तिहारकोबिचमा नेपाल आयल निगमले वितरण गरेको पेट्रोल, डिजेल जोहो गरेकाले अबको १०–१५ दिनलाई धान्न सक्ने भएपछि पढाइ संचालन गर्न लागिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका महासचिव डिके ढुंगानाले बताउनुभयो ।
राष्ट्र नै संकटमा परेकाले बसको संख्या घटाएरै भएपनि विद्यार्थी ओसार्ने तयारी भएको उहाँले बताउनुभयो । अहिले अरु माग राख्नु भन्दा पनि मितव्ययी तरिकाले अघि बढ्ने निर्णय भएको उहाँको भनाई छ ।
सरकारलाई निश्चित ठाउँ तोकेर इन्धन उपलब्ध गराउन माग गरिएको पनि महासचिव ढुंगानाले बताउनुभयो । विद्यालय संचालन गर्न राजनीतिक रुपमा पहल भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।