मधेसी मोर्चाका कार्यकर्ताले सिकिस्त बिरामी बोकेको एक्बुलेन्सका चालकको टाउको फुटाए
सुनसरी, मंसिर ५ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले विराटनगरबाट इटहरी जाँदै गरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् ।
तोडफोडबाट सिटी अस्पताल विराटनगरको एम्बुलेन्सका चालक आनन्द बिक गम्भीर घाइते हुनु भएको छ । टाउको र दाहिने आँखाको छेउमा चोथ लागेका उहाँको सिटी अस्पतालमा नै उपचार भइरहेको छ ।
अक्सिजन दिएर अस्पताल लैजाँदै गरेका विरामीलाई समेत एम्बुलेन्सबाट बाहिर निस्किन नदिई मोर्चाका कार्यकर्ताले अन्धाधुन्दा ढुंगामुढा गरेको बिकले बताउनुभयो । विराटनगरको गोल्डेन अस्पतालले रिफर गरेका विरामीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा एम्बुलेन्स तोडफोड भएको हो ।
सुनसरी, मोरङ, झापालाई टुक्रयाउन हुन्न भन्नेसँग मोर्चाको झडप
सुनसरीको दुहवीमा सुनसरी, मोरङ, झापालाई टुक्रयाउन नपाईने भन्दै भइरहेको विरोध र्यालीका सहभागी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएपछि आक्रोशित मोर्चाका कार्यकर्ताले एम्बुलेन्समा तोडफोड गरेका प्रहरीले जनाएको छ । दुवै पक्षबिच झडप भएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ ।
घटनापछि प्रहरीले झडपमा सहभागी भएको आरोपमा रन्जित गोश्वामी र मुन्ना साहलाई पक्राउ गरेको छ । झापा मोरङ सुनसरीलाई प्रदेश नम्बर २ मा मिसाउन षडयन्त्र गरेको भन्दै दुहवीमा शनिबार नागरिक समाजको नाममा बिरोध प्रर्दशन भएको थियो ।
बिरोध प्रदर्शनमा मोर्चाका कार्याकर्ताहरुले आक्रमण प्रयास गरेपछि स्थिति तनावपूर्ण भएको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिब पोखरेलले जानकारी दिनुभयो ।