मोर्चाको धर्ना सकिएपछि १३ ट्याँकर इन्धन भित्रिए
बाँके, मङ्सिर ५ – नेपालगञ्ज नाकाबाट शनिबार इन्धन बोकेका १३ ट्याङ्कर भित्रिएका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार शनिबार साँझसम्म डिजेलका १३ ट्याङ्कर नेपालगञ्ज भित्रिएको छ ।
नेपालगञ्ज नाकाबाट एकहप्ता यता भारतीय पक्षले बिना अवरोध इन्धन आउन दिइरहेको छ । शनिबार मधेसी मोर्चाको सीमा नाकामा धर्ना थियो । दिनभर मोर्चाका कार्यकर्ताहरुले नाकामा शान्तिपूर्ण रुपमा धना दिएका थिए । धर्नापछि इन्धन बोकेका र अन्य मालबाहक गाडी नेपालगञ्ज भित्रिएका हुन् ।
भारतीयपक्षले झण्डै दुई सातापछि नाकामा खुकुलो गरेपछि नेपालगञ्जको जमुनाह नाकाबाट अघिल्लो शनिबारयता मात्रै १६० ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रिसकेका छन् । कात्तिक १७ गतेदेखि भारतको भन्सार कष्टमले माथिको आदेश भन्दै विशेष गरी पेट्रोलियम पदार्थ नेपाल प्रवेश गर्न नदिंदा नेपालगञ्ज लगायत आसपासका क्षेत्रमा अवस्था असहज भएको थियो ।
यसैबीच बाँकेमा पेट्रोलपम्पहरुलाई इन्धन बितरण कार्य अपारदर्शी भईरहेको गुनासो बढेको छ ।