तेर्हथुमका पर्यटकीय क्षेत्र सुनसान
तेर्हथुम, मंसिर १० – भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव हुँदा तेर्हथुमका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने जिल्लाका पर्यटकीय क्षेत्रमा एक साता यता कुनै चहलपहल छैन । जिल्लाका पर्यटकीय क्षेत्र बसन्तपुर, पाथीभरा, लसुने चियाबगान, आरआर गार्डेन, मेन्छ्यायेम डाँडा, ह्यातुङ झरना, तीनजुरे क्षेत्र सुनसान छन् ।
इन्धन अभावका कारण पर्याप्त यातायातका साधन चल्न नसक्दा पर्यटक आउन छाडेको व्यवसायीहरु बताउँछन् । नाकाबन्दीका कारण इन्धन अभाव भएर जिल्लाका विभिन्न बजार तथा पर्यटकीय क्षेत्रका होटलसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।
एक साता यता बजारमा इन्धनको चरम अभाव भएपछि जिल्लाका बजार, पसल तथा होटलमा हुने चहलपहल पनि घटेको छ ।