नाकाबन्दीका बेला नेपाल बाट भारत जाने वस्तुको निकासी बढ्यो
१२ मंसिर, काठमाडौं – भारतीय नाकाबन्दीका कारण नेपाल आउने अत्यावश्यक वस्तु सीमा नाकामा रोकिए पनि यहाँबाट भारत जाने केही वस्तुको निकासी भने बढेको छ।
राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भारततर्फ निकासी बढेका वस्तुमा अलैंची, अदुवा, जीवित जनावर तथा तरकारी छन्।भारतीय नाकाबन्दीका कारण पछिल्लो तीन महिनामा नेपाल र भारतबीच हुने व्यापार ३५ प्रतिशतले घटेको अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ।
यो तथ्यांक नाकाबन्दी जति लम्बियो त्यति बढ्नेछ । तर नेपालबाट भारततर्फ जाने केही वस्तुबाट बढेको निकासीले भने सिमानामा कुनै अवरोध नभएजस्तो देखिन्छ।राष्ट्रबैंकको तथ्यांकअनुसार भारततर्फ पछिल्लो तीन महिनामा एक अर्ब रुपैयाँको अलैंची निकासी भएको छ।
अघिल्लो वर्ष तीन महिनामा जम्मा ३७ करोड रुपैयाँको अलैंची भारत निर्यात भएको थियो। यस्तै अदुवा अघिल्लो वर्ष १० करोड रुपैयाँको निकासी भएकोमा यस वर्ष असोज महिनामा १२ करोड रुपैयाँको निकासी भएको छ।
भारतले नाकाबन्दी लगाएपछि पहिलो तीन महिनामा भारतबाट आयात ३५.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष असोजसम्म ४४ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा यस वर्ष सोही अवधिमा आयात ३० अर्बमा झरेको छ।