गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यमध्यपहाडीको खाल्डा पुर्न शुरु

मध्यपहाडीको खाल्डा पुर्न शुरु

November 30, 2015५४६ पटक

बागलुङ, १४ असोज-मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा खाल्डा पुर्ने काम शुरु भएको छ । खाल्डाखुल्डीले सवारी साधन संचालनमा कठिनाइ भएपछि गत साता उपप्रधानमन्त्री चित्रबहादुर केसीले सार्वजनिक मञ्चबाट आयोजना प्रमुखलाई तत्काल काम सक्न निर्देशन दिएको तथा प्रशासनले पनि ताकेता गरेपछि काम थालिएको हो । बागलुङको गलकोट जान हिडेका मन्त्री केसीले तीन दिनको यात्रामा सदरमुकाम देखि अक्षेते सम्मको ७ किमी सडकले हैरानी बनाएको गुनासो गरे । ‘कसले हेर्ने हो, तत्काल काम गर्न के ले छेक्यो’ केसीले भने, ‘जिल्लाका प्रशासकले चासो राखेर काम सक्नुप¥यो ।’ उनको निर्देशन लगत्तै प्रजिअ बिष्णुप्रसाद पोखरेल, स्थानीय विकास अधिकारी भरत गौतम र प्रनाउ चक्रबहादुर सिंहले आयोजनाका इन्जिनियर र ठेकेदारका प्रतिनिधि खोज्ने काममा लागेका छन् । उनीहरुले आयोजनाका इन्जिनियर गोपीनाथ सिलवाल र राजु रानाभाटलाइ भेटेर तत्काल खाल्डा पुर्न निर्देशन दिएका छन् । ‘इनधन अभावले काम गर्न नसकेको भनेर अलपत्र छाडेका रहेछन्’ पोखरेलले भने, ‘प्रशासनले इन्धन उपलब्ध गराउने, उनीहरुले सडकमा सहज यात्रा गर्न सक्ने बनाउने कुरा भएको छ ।’ निर्देशन दिए लगत्तै प्रशासनले १ हजार लिटर डिजेल दिएर खाल्डा पुर्ने काम थालिएको उनले बताए । अघिल्लो आर्थिक बर्षमै काम थालेको एम के निर्माण सेवाले काम अलपत्र छाडेपछि यात्रीलाइ सास्ती खेप्नुपर्ने बाध्यता भएको हो । ‘खाल्डा र हिलोले साह्रै समस्या परेको छ’ बिहुूका कृष्णप्रसाद कंडेलले भने, ‘राम्रो सडक भत्काएर झन धराप थापेजस्तो भएको छ ।’ सदरमुकामदेखि मोटरसाइकलमा आउजाउ गर्न चाहनेले गत जेठ देखिनै नसक्ने भएका छन् भने जीप पनि पटक पटक विचैमा फस्ने गरेको उनले गुनासो गरे । गत बर्षको जेठ मसान्त भित्रै सक्ने योजना भएरपनि निर्माण कंपनीले आगामी पुस सम्म म्याद थपेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । ‘काम निकै ढीला र लापरवाही गरेको रहेछ’ भाटले भने, ‘पुससम्म म्याद थपेको रहेछ, त्यतिवेला सम्म पनि ग्राभेल गर्ने काम भ्याएन भने ठेक्का रद्द गरिनेछ ।’ कहिले मेसिन र कहिले तेलको बहाना बनाएर काम रोकेकोले यात्रीले सास्ती खेपेको सत्य भएको भाटले स्विकारे । निर्माण कंपनीले भने असोज लागेपछि तेल अभावमा काम गर्न नसकेको बताइरहेको छ । पैदल यात्रा गर्नेलाई पनि खाल्डा र हिलोले हैरान बनाएको छ । पाला, भिमापोखरा, रेश, लेखानी लगायतका गाउँ पुग्ने पैदलयात्रीले जुत्ताचप्पल खोलेर हिड्न बाध्य भएको गुनासो गरे । ‘बाटो बनाउने नाउँमा हामीलाइ हिड्न पनि सास्ती दिएका छन्’ भीमापोखराकी भूमिका थापाले भनिन्, ‘एक घण्टाको बाटोमा तीन घण्टा लगाएर हिडेका छौं ’ बर्षातको पानी तर्काउने नाली पनि पहिरो र माटोले पुरेपछि सडक हिलाम्मे र खाल्डामात्रै भएको हो । सदरमुकाम देखि ८ किमीको अक्षेते र १३ किमीको बिहुँसम्म यात्रीले बढी सास्ती खेपेका छन् । बिहुँ घोडाबाँधे खण्डमा भने दशै अघि कालोपत्रेका लागि टेन्डर खुलाइने भाटले बताए । आयोजनाले सदरमुकामदेखि २५ किमी पश्चिमको घोडाबाँधेदेखि ४५ किमीको हटियासम्म २० किमी खण्डमा कालोपत्रे गरिसकेको छ । चालु बर्षभित्र सदरमुकाम देखि बुर्तिवाङ खण्डलाई बर्षादमा पनि संचालन गर्ने योजना बनाएकोले ढिलाई गर्न नदिने भाटले बताए । गत बैसाखको भूकम्पले कामदार घर फकिएपछि केही समय भने काममा ढिलाई भएको उनले स्विकारे । अधिकांस कामदार दोलखा, सिन्धुपाल्चोक, धादिङ लगायत पूर्वि जिल्लाका थिए । बुर्तिवाङसम्म ९३ किमी २ बर्षभित्र कालोपत्रे गरिसक्ने लक्ष्यले आयोजनाले काम थालेको थियो । उक्त लक्ष जसरी पनि पुरा गर्ने गरी आयोजनाले काम गरिरहेको छ । बुर्तिवाङदेखि निसीको भलकोटहुँदै रुकुम तर्फको खण्डलाइ आयोजनाले दोश्रो चरणमा राखेको छ । जिल्ला भित्र लोकमार्गको १ सय ४२ किमी सडक खण्ड पर्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण