गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, विशेषनाकाबन्दीले पैसा थुप्रिँदा बैंक चिन्तित

नाकाबन्दीले पैसा थुप्रिँदा बैंक चिन्तित

December 11, 2015६२१ पटक
काठमाडौं २५ मंसिर : नाकाबन्दीका कारण कर्जा प्रवाह कम हुँदा बैंक तथा वित्तीय संस्थामा व्यवस्थापन गर्न गाह्रो हुने गरी लगानीयोग्य रकम थुप्रिएको छ।
अहिले वाणिज्य बैंकहरू एक खर्ब रुपैयाँ ऋण दिनसक्ने अवस्थामा छन्।राष्ट्रबैंकका अनुसार अहिले ३० वटा वाणिज्य बैंकसँग १५ खर्ब सात अर्ब रुपैयाँ निक्षेप छ। यो रकम विदेशी मुद्रामा भएको निक्षेपसहितको हो। अहिलेको निक्षेपका आधारमा बैंकहरूसँग १ खर्ब रकम कर्जा लाग्न नसकी थुप्रिएको छ।
‘अहिले कर्जा प्रवाह ठप्पप्रायः भएको छ’, नेपाल बैंकर संघका उपाध्यक्ष रत्नराज बज्राचार्य भन्छन्, ‘विगतमा पनि सरकारले लक्ष्य लिएअनुसारको आन्तरिक ऋण उठाएको थिएन। ऋणपत्र आउने सम्भावना पनि छैन। यसले गर्दा बैंकहरूलाई तरलता व्यवस्थापन गर्न समस्या भएको छ।’
तराईका जिल्लामा भल्टमा भएको पैसा पनि व्यवस्थापन गर्न समस्या हुने स्थिति उनले दर्साए। नाकाबन्दीका कारण नयाँ कर्जाको माग स्वात्तै घटेको छ भने विकास निर्माणको काम ठप्प हुँदा सरकारी खातामा करिब १ खर्ब रुपैयाँ निष्क्रिय भएर बसेको छ। यसले गर्दा सरकारले कुनै पनि ऋणपत्र सार्वजनिक गर्ने सम्भावना छैन।
बैंकहरूले ११ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमा ३० अर्ब रुपैयाँ मुद्रामा गएको कर्जा हो। बैंकहरूले निक्षेपमा आफ्नो कोर क्यापिटल जोडेर त्यसको ८० प्रतिशतसम्म कर्जा दिन पाउँछन्। बाँकी २० प्रतिशत रकम सरकारी ऋणपत्रमा लगानी गनुपर्छ।
यसमा विदेशी मुद्राको निक्षेप र कर्जा कटाउने हो भने बैंकहरूको कर्जा निक्षेप अनुपात ७१ प्रतिशत हुन आउँछ । यसै आधारले बैंकहरूले ८ प्रतिशत कर्जा अहिलेको निक्षेपका आधारमा बढाउँदा एक खर्ब रुपैयाँ कर्जा दिन सक्छन्।
नाकाबन्दी नहुँदासम्म बैंकहरूलाई कुल निक्षेपको २० प्रतिशत रकम व्यवस्थापन गर्न समस्या थियो। यसलाई राष्ट्रबैंकले विभिन्न उपकरणबाट व्यवस्थापन गरिरहेको थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल नाकाबन्दीपछि तरलता व्यवस्थापन गर्न झन् समस्या भएको बताउँछन्।
‘अहिले वाणिज्य बैंकहरूले मात्र एक खर्ब रुपैयाँ कर्जा दिनसक्ने अवस्था छ’, उनले भने, ‘तर कर्जाको माग छैन। यसले गर्दा रकम निष्क्रिय भएर बसेको छ।’
सरकारले चालू आर्थिक वर्षमा २ खर्ब रुपैयाँ विकास खर्चका लागि (पुँजीगत शीर्षकमा) विनियोजन गरेको छ।
अहिलेसम्म विनियोजित बजेटको ५ प्रतिशत रकममात्र खर्च भएको छ । सरकारले चालू वर्षमा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। अघिल्ला वर्षमा पनि पुँजीगत शीर्षकको खर्च सन्तोषजनक नभएका कारण तोकिएको आन्तरिक ऋण नउठ्ने गरेकोमा यसपटक विकास निर्माणको काम ठप्प भएको हुँदा यसको सम्भावना अझ कम छ।
राष्ट्रबैंकले पछिल्लो एक महिनामात्र एक खर्ब रुपैयाँ निक्षेप संकलन माध्यमबाट बजारबाट खिचेको छ। राष्ट्रबैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन, रिभर्स रिपो, आउट राइट सेल अक्सनजस्ता मौद्रिक उपकरण ल्याउँछ।
राष्ट्रबैंकले बिहीबार पाँच अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको छ। राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले तरलता व्यवस्थापन गर्न राष्ट्रबैंकले विभिन्न खालका उपकरण ल्याएको बताए। ‘हामीले निक्षेप संकलनको माध्यमबाट एक खर्बभन्दा बढी तरलता खिचिसकेको अवस्था छ’, उनले भने, ‘वित्तीय क्षेत्रमा देखिनसक्ने जोखिमका विषयमा भने हामी सजग छौं।’
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको वित्तीय विवरणले बैंकहरूको ब्याज आम्दानी घटेको देखिएको थियो। पुरानो ऋण उठाएका कारण बैंकहरूले मुनाफा बढाए पनि ब्याज आम्दानी तथा बैंकहरूको मुख्य आम्दानीमा रहने प्रतितपत्र (एलसी) खुल्ने क्रम घटेको छ।
‘लगानीकर्तामा कर्जा माग गर्न कन्फिडेन्स देखिएको छैन’, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, ‘लगानीकर्तामा देखिएको निराशाका कारण कर्जाको माग बढेको छैन।’
बुधबार आयोजित सार्वजनिक कार्यक्रममा राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकले कर्जामा सहुलियत गरेको भए पनि नाकाबन्दी लम्बिएमा स्थिति नियन्त्रण गर्न नसकिने तहमा पुग्ने बताएका थिए।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण