गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्ययसरी बन्दैछ नेपाल झन् झन् गरिब

यसरी बन्दैछ नेपाल झन् झन् गरिब

December 16, 2015४६६ पटक

काठमाडौं, पुस १ – भूकम्पका कारण लाखौं नागरिक घरबाट टहरा र पालमुनी पुगेका छन् । तराई मधेसको आन्दोलनले धेरैको ब्यापार व्यवसाय चौपट छ । बालबालिकाले विद्यालय जान पाएका छैनन् । यस्तोमा भारतले लगाएको नाकाबन्दीले झण्डै दुई हजार उद्योग बन्द हुँदा दुईलाख भन्दा धेरै श्रमिक बेरोजगार भएका छन् । आयात निर्यात र विकास निर्माणको काम ठप्प जस्तै छ । यसैपनि गरिबीमा रहेको देश भूकम्प, बन्द हडताल र नाकाबन्दीले झनै गरिबीको दलदलमा फस्दैछ ।
बर्षांैदेखि गरिबी भोगिरहेको देश नेपालका चारमध्ये एकजना नागरिक अति गरिब छन् । जसले दिनको औषतमा १ सय २५ रुपैयाँ मात्र कमाउन सक्छन् । दिनको २ सय हाराहारी मात्र कमाइ हुने नागरिकलाई गरिबमा गनिन्छ ।
विपदपछिको आवश्यकता आंकलन पीडीएनए प्रतिवेदनले भूकम्पका कारण झण्डै ६ लाख घर पूर्ण रुपमा क्षति भएको जनाएको छ । पूर्ण क्षति भएका घर ढिलो चाँडो पुनर्निर्माण नगरी धर छैन । मध्यमबर्गीय परिवारको पहुँच बैंक तथा वित्तीय संस्थामा नपुग्ने र साहु महाजनसँगै ऋण लिएर पुनर्निर्माण गर्नुपर्ने अवस्थाले गरिबी झन् बढाउने बताउनुहुन्छ, अर्थराजनीति विश्लेषक हरी रोका ।
भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई–मधेस आन्दोलनले ८ लाख धेरै नेपाली गरिबीको चक्रमा फस्ने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ । तर भूकम्प पीडितको व्यवस्थापनमा भएको ढिलाई, लम्बिंदो नाकाबन्दी र आन्दोलनले बेरोजगार दर बढ्दै गएकाले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्मा १४ देखि २० लाख गरिब थपिने आँंकलन गर्नुहुन्छ ।
भर्खरै सार्वजनिक भएको मानव विकास सूचकांकमा पनि नेपालको अवस्था अघिल्लो वर्षभन्दा खस्किएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनएनडीपी) ले जारी गरेको प्रतिवेदनले अघिल्लो वर्ष १ सय ४५ औं स्थानमा रहेको नेपाल, यसवर्ष १ सय ४६ औं स्थानमा पुगेको देखाएको छ । कुनैपनि देशको स्वास्थ्य, शिक्षा, आय जस्ता सूचकांकको विश्लेषण गरी मानव विकास सूचकांक निकालिन्छ । देश बन्द र नाकाबन्दीको बन्धक हुँदा आर्थिक गतिविधि ठप्प भएकाले देश झन गरिब हुँदै जाने सरकारको समेत ठम्याई छ ।
तराई मधेसको आन्दोलन र नाकाबन्दीको असर लामो समयसम्म रहने र गरिबी दर बढ्ने भएकाले सरकारले विकास निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने, आयमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र वैदेशिक लगानीको वातावरण बनाउनुपर्ने अर्थविदले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण