ट्राक्टरले च्यापिएर बालकको मृत्यु
दैलेख, पुस ८ – दैलेखको बाँसीमा ट्रयाक्टरले च्यापेर एक बालकको ज्यान गएको छ । भे १ त २२६३ नम्बरको ट्रयाक्टरले च्यापेर बुधबार दिउँसो बाँसी–९ का १० वर्षका इश्वर बिष्टको ज्यान गएको हो ।
दैलेख बजारबाट बाँसीमा सामान छोडेर फर्किदा सुवाकोट ओरालोमा गुडिरहेको ट्रयाक्टरमा चढ्न खोज्दा पछिल्तिरको ठूलो टायरले च्यापेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
विद्यालयबाट फर्किंदा गाडी चढ्न खोज्दा दुर्घटना भएको बताइएको छ । भर्खर–भर्खर मोटरबाटो खुलेको गाउँमा जुनसुकै यातायातका साधन जाँदा जवरजस्ती चढ्न खोज्ने प्रयत्न गर्दा बालबालिका घाइते हुने र ज्यान जानेसम्मका घटना भइरहेका छन् ।