गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्य१० वर्षको उमेरमै विवाह

१० वर्षको उमेरमै विवाह

December 25, 2015४२१ पटक
बाँके पुस १०-  मधेसी र मुस्लिम समुदायमा १० वर्षमुनिका बालबालिकाको पनि विवाह हुने गरेको छ । दाइजो, परम्परागत मान्यता र कानुनप्रतिको अनभिज्ञताका कारण बालविवाहले निरन्तरता पाएको हो । ती समुदायमा सानै उमेरमा विवाह परम्पराजस्तै बनेको छ ।

अभिभावकहरू जिम्मेवारीबाट उन्मुक्ति पाउन र सामाजिक प्रतिष्ठा जोगाउने संस्कारले सानै उमेरमा विवाह गरिदिने गरेका छन् । १० वर्षमुनिका करिब २ हजार बालबालिकाको एक वर्षमा विवाह भएको जिल्ला जनसंख्याको तथ्यांकले देखाएको छ ।

तीमध्ये १ हजार ६ सय बालिका छन् । त्यस्तै १० देखि १४ वर्षका ३२ हजार ७६ किशोरकिशोरीको उमेर नपुगेरै विवाह गरिएको छ । तीमध्ये २५ हजार ६ सय ६५ किशोरी रहेका छन् ।

१५ देखि १९ वर्षसम्मका १ लाख २९ हजार ५० किशोर किशोरीको विवाह भएको छ । तीमध्ये ८० हजार महिला रहेका छन् । ग्रामीण क्षेत्रमा विवाह दर्ता गराउने चलन नरहेका कारण यो तथ्यांक अझ अपूरै छ ।

‘तीन–चार वर्ष उमेरका बालिकाको नाकमा नथ्या देख्न सकिन्छ । यो विवाहिता भएको चिह्न हो,’ बालविवाहविरुद्व अभियानको रणनीतिक योजनापत्र प्रस्तुत गर्दै अधिवक्ता प्रमोद रिजालले भने, ‘बाँकेमा बालविवाह व्याप्त छ । नियन्त्रणका लागि सबै पक्ष एक भएर लाग्न आवश्यक छ ।’

मधेसी समुदायमा सानै उमेरमा विवाह गर्ने र त्यसको दुई–तीन वर्षपछि गौना, ठेउना (दुलाहाको घरमा पठाउने) गर्ने चलन छ । ठेउना गर्दासम्म किशोरीको उमेर पुगिसक्ने उक्त समुदायका अगुवाहरूको दाबी छ ।

तथ्यांकका अनुसार १४ वर्षमुनिका करिब १४ र १९ वर्षमुनिका करिब ५३ प्रतिशत किशोरकिशोरीको विवाह हुने गरेको छ । तर, नेपाल कानुनले भने अभिभावकको मञ्जुरीबिना २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ ।

बालविवाह अत्यधिक हुने गरे पनि हालसम्म बाँके जिल्ला अदालतमा ४ वटा मुद्दामात्रै परेका छन् । बाँकेको गंगापुर, मटेहिया, फत्तेपुर, इन्द्रपुर, परसपुर गाविसमा १० देखि १५ वर्षकै उमेरमा विवाह गर्ने चलन रहेको अधिवक्ता रिजालले बताए । उनले सानै उमेरमा बिहे गर्दाका बेफाइदा र कारबाही हुने कानुनी प्रावधानबारे चेतना फैलाउन सके केही हदसम्म कमी आउने सुझाव दिइएको छ ।

महिला बालबालिका कार्यालयकी फोकल पर्सन विन्दु कुँवरले बालविवाह रोक्न प्रयास भइरहेको बताइन् । उनले उमेर नपुगेर विवाह भइरहेको बारे जानकारी पाएलगत्तै रोक्ने गरेको बताइन् ।

मुलुकी ऐनमा भने १० वर्ष नपुगेकी बालिकाको विवाह गरे, गराएमा ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यस्तै १० वर्षदेखि १४ वर्ष नपुगेका बालिकाको विवाह गरे, गराएमा ३ महिनादेखि १ वर्षसम्म कैद र ५ हजार र १४ वर्षदेखि १८ वर्ष नपुगेका बालिकाको विवाह गरे, गराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

२० वर्ष उमेर नपुगेका महिला वा पुरुषको विवाह गरे, गराएको रहेछ भने ६ महिनासम्म कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुन्छ ।

विवाह गर्न गराउन नहुनेमा जानीजानी विवाहको काम गर्ने पुरोहित, लमी र अरू मुद्दतीहरूमध्ये उमेर पुगेकालाई एक महिनासम्म कैद वा १ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । बालविवाहको अपराध भइरहेको वा हुन लागेको कुरा थाहा पाएको मितिले तीन महिनाभित्र प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने कानुनी व्यवस्था छ ।

http://bit.ly/1NEYMTo

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण